फिलिपिन्समा कामुरी आँधीको त्रास, ठूलो संख्यामा सर्वसाधारणको भागाभाग

एजेन्सी । फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा स्थानीयबासीको भागाभाग भएको छ । कामुरी नामको सो आँधीबाट हजारौँ व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन् ।
यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बुझिएको छ । अधिकारीहरुले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन् ।
हाल सो शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै पुगेको छ । यसबाट पर्न सक्ने क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरुले पूर्व तयारी थालेका छन् ।
मौसम विज्ञान क्षेत्रका अधिकारीहरुले उक्त आँधीप्रति घन्टा कम्तीमा पनि १८५ किलोमिटरका दरले आउने अनुमान गरेका छन् । यसका कारण सोमबार अबेरतिर मनिलाको वरिपरी पहिरो पनि जान सक्ने उनीहरुले बताएका छन् ।
सोमबार राति अबेर र मङ्गलबार बिहानतिर आँधीको असर देखिन सक्ने अनुमान उनीहरुले गरेका छन् । मङ्गलबार बिहानतिर फिलिपिन्सको राजधानी मनिला तथा यस देशको पूर्वी क्षेत्र नै प्रभावित हुने अनुमान उनीहरुको छ ।
आँधी र यसका साथमा भारी वर्षा पनि हुने अनुमान गरिएको छ । वर्षात्सँगै हुनसक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरुले तयारी गरेका बताइएको छ ।
अहिले आँधी मनिलाको नजिक पुग्न लागेको बताइएको छ । यदि मनिलामा यो प्रवेश गर्यो भने यहाँको कम्तीमा पनि एक करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुनेछ ।
मनिलाबाट पूर्वी क्षेत्रमा रहेको बाइकुल भन्ने क्षेत्रबाट करिब ७० हजार व्यक्ति विस्थापित भइसकेका छन् । उक्त क्षेत्र छोड्न सरकारले सूचना जारी गरेको थियो । उक्त क्षेत्रमा आँधीसँगै भारी वर्षा र यसबाट पहिरो पनि जान सक्ने अनुमान मौसमविद्हरुले भविश्यवाणी गरेका थिए ।
फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ वर्षेनी साना ठूला गरी २० ओटा जति आउने गरेका छन् । त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन् ।
सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो । –एएफपी/Photo: gulfnews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन