शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपचुनावबारे काँग्रेसको समीक्षा: नेकपा सरकार सच्चिने कि सक्किने ?

‘काँग्रेस खोज्नेले ओली निवास र प्रचण्ड–पोखरेलको निर्वाचन क्षेत्र जानु’
सोमबार, १६ मङ्सिर २०७६, १८ : ५६
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन मतपरिणामले सत्तारुढ दल नेकपालाई सच्चिने वा सक्किने भन्ने सन्देश दिएको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपमा उपनिर्वाचनको समीक्षा विषयक पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई  ‘सच्चिने कि सक्किने’ भन्ने उपनिर्वाचनको सन्देश रहेको बताएका हुन् ।

यस्तै काँग्रेसका लागि उपनिर्वाचन परिणामले बाहिरी गति बढाउनु र पार्टीभित्र अन्तरविश्वास पनि बढाउनु भन्ने सन्देश दिएको उनले बताए । उपनिर्वाचनमा काँग्रेसले उत्साहजनक उपस्थिति देखाएको उनको तर्क थियो । प्रवक्ता शर्माले यसपटक काँग्रेसले मतान्तर घटाएको र हरेकजसो स्थानमा मतसंख्या पहिलेको तुलनामा मत बढाएको दाबी पनि गरे ।

उपनिर्वाचनबाट नेकपा (एमाले र माओवादीबीच) एकताको औचित्य रहेनछ भन्ने पुष्टि भएको पनि उनको दाबी छ । उनले भने, ‘उपनिर्वाचन केही ठाउँको परिणाम हेर्दा नेकपा एकताको औचित्य रहेनछ भन्ने पुष्टि हुन्छ । भक्ततपुरको प्रदेशसभा, धरान उपमहानगरपािलका, चितवनको भरतपुर–१६ र दाङको घोराही उपमहानगरपालिका–१६ को मतपरिणामले यसको पुष्टि गरेको छ ।’

उनले अगाडि थपे, ‘काँग्रेस कहाँ छ भन्नेहरुले नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन, प्रधानमन्त्री केपी ओलीको निवास रहेको भक्तपुर र मुख्यमन्त्रीको निर्वाचन क्षेत्र घोराही–१६ मा गएर खोजे हुन्छ ।’ शर्माले कास्की–२ प्रतिनिधिसभा र दाङको प्रदेशसभा राजनीति जगको आधारमा भन्दा पनि साहनुभूतिको मतमा टेकेर नेकपाले उपचुनाव जितेको दाबी गरे । दुईतिहाईको सरकार चलाइरहेको नेकपा चुनाव हार्ने डरले राजमो र साहनुभूति मतको जगमा उभिन पुगेको शर्माको तर्क थियो ।

यस्तै उनले काँग्रेस मंसिर १४ गतेको जगमा टेकेर ०७९ मा हुने आम चुनावको तयारी गर्ने अवस्थामा निर्माण भएको बताए । शर्माले भने, ‘०७४ को तुलनामा नेपाली काँग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ ।

यसले नेपाली काँग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप