केन्द्रीय संस्करण

एकीकृत जनक्रान्तिको अर्थराजनीतिक परिधि

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline0

-उदयबहादुर चलाउने ‘दीपक’

नेपाली जनताले प्रत्येक दिन सुन्ने र हेर्ने समाचारका अधिकांश हिस्सा भ्रष्टाचारका काण्डले भरिएका हुन्छन् । वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल काण्ड यी पछिल्ला केही चर्चित भ्रष्टाचार काण्डहरु हुन् । यस्ता ठूला सबै काण्डहरुमा प्रायः ठूलै पार्टी र ठूलै नेताहरुको नाम जोडिएको हुने गर्छ । न्यायालयका ‘न्यायमूर्ति’हरु, ‘राष्ट्रसेवक’ कर्मचारी, सुरक्षा क्षेत्रका ‘बफादार’ कमान्डरहरुको नामसमेत भ्रष्टाचारका यी र अरू अनेकौँ काण्डमा जोडिनु नेपाली जनताका लागि नौलो र अनौठो विषय नहुने भएको छ ।

पछिल्ला दशकहरुमा देशको आर्थिक अवस्था दिनप्रतिदिन खस्कँदो छ । खर्बाैंको व्यापार घाटा र विदेशी ऋण भार दैनानुदिन बढिरहेको छ । आर्थिक परनिर्भरताको यो टाट पल्टाइका बीच लाखौँको युवा श्रम शक्ति विदेश पलायन र तिनका जीवनसँग जोडिएका कारुणिक कथाव्यथा पनि समाचारका दैनिक विषय हुन् । 

दाइजो नल्याएका कारण श्रीमान् या सासूद्वारा बुहारीलाई जिउँदै जलाएका, पैतृक सम्पत्ति नपाएको भन्दै बाबुलाई छोरोले बन्चरो प्रहार गरेका घटना पनि समाचारका विषय बनिरहेका छन् । दलितले पानी छोएका कारण गैरदलितबाट भएको कुटपिट, श्रीमान्ले रक्सी खाएर श्रीमतीलाई गरेको कुटपिट त नेपाली समाजका ‘सनातनी’ परम्परा नै भैगए ।

देशका सीमा पिल्लरहरु रातदिन सरिरहेका छन् । नेपाली भूमि मिचिँदै गइरहेको छ । सिमानाका बस्तीहरुमा भएको लुटपाट, बलात्कार र गोलीकाण्ड पनि समाचारका नियमित विषयहरु हुन् । नेपाली समाजको यो निरन्तरको सामाजिक तथा आर्थिक क्षयीकरण एवम् सार्वभौमिकतामाथिको निरन्तरको हस्तक्षेपले डरलाग्दो भविश्यको सङ्केत गरिरहेको छ । यस्तो किन भइरहेको छ ? के यसको समाधान छैन ? छ भने कसरी गर्ने सम्भव छ ? यसको जवाफ कसले दिनुपर्ने हो ? नेपाल सरकारले ? नेपालका राजनीतिक पार्टीहरुले ? या नेपाली जनताले ? आजको नेपाली राजनीतिका यी केन्द्रीय विषयहरु हुन् । यसको सही र वस्तुनिष्ट जवाफ नै नेपाल र नेपालीको अस्तित्व एवम् भविष्य हो । यो नै आजको क्रान्ति हो । वास्तविक शान्ति हो । सही अर्थको समृद्धि हो । यी प्रश्नहरुको जवाफ बिना ‘शान्ति’, ‘समृद्धि’ र ‘क्रान्ति’को कुरा केवल हावादारी गफ मात्र हुनजान्छ ।

आफ्नो प्रसिद्ध कृति ड्युहरिङ मत खण्डनमा एङ्गेल्सले भनेका छन्, ‘आर्थिक विज्ञानको काम त यो प्रमाणित गर्नु हो कि वर्तमान कालमा जुन सामाजिक खराबीहरु बढ्न लागेका छन्, तिनीहरु उत्पादनको वर्तमान प्रणालीका अनिवार्य परिणाम हुन् ।’ नेपाली समाजले भुक्तमान गरिरहेका उपर्युक्त तमाम बेथितिहरु या भनौँ चुनौतीहरु हामीले अङ्गीकार गरेको उत्पादन प्रणालीका तिनै ‘अनिवार्य परिणामहरु’ हुन् । यसको मुख्य कारक तत्व राजनीतिक प्रणाली र राजनीतिक पार्टीहरु तथा तिनले अङ्गीकार गरेका अर्थराजनीतिक रणनीतिहरु हुन् ।

आज हामी ‘लोकतान्त्रिक गणतन्त्र’को शासन प्रणालीअन्तर्गत बाँचिरहेका छौँ । लोकतान्त्रिक गणतन्त्रको यो वर्तमानसम्म आइपुग्न नेपाली जनताले चानचुने लगानी अवश्य गरेका छैनन् । यो अवस्थासम्म आइपुग्न ठुलै नागबेली पार गर्नुपरेको जगजाहेर नै छ । तर यति लामो यात्राबाट प्राप्त गरेको लोकतन्त्रमा पनि नेपाली जनताको जीवन अकल्पनीय कष्टकर छ । अभाव र असमानता चरम व्याप्त छ । प्रत्येक पटकको आन्दोलनझैं लोकतान्त्रिक गणतन्त्रको आन्दोलनपश्चात् पनि सुख, शान्तिको जनअपेक्षा सम्बोधन हुन सकेन । यसो हुनुमा माथि भनिएझैँ उत्पादन प्रणाली मुख्य कारका तत्व हो । नेपालमा जति पनि राजनीतिक आन्दोलन र परिवर्तनहरु भए ती सबै केवल राजनीतिक परिवर्तनमा मात्रै सीमित रहे । राणा शासन अन्तको आन्दोलन (२००७) होओस् या पञ्चायतविरुद्धको आन्दोन (२०४६) कुर्सीको भागबण्डामै सीमित बने । यहाँसम्म कि दस वर्ष सञ्चालित जनयुद्ध (२०५२–०६२) समेत कुर्सी राजनीतिको खेलबाट मुक्त हुन सकेन । प्रत्येक पटकका आन्दोलनपश्चात् उत्पादन सम्बन्ध यथावत् रहिरह्यो । पुरानै र शोषणकारी रहिरह्यो ।

मानव समाजको इतिहासले हामीलाई सिकाएको सत्य के हो भने, प्रत्येक राजनीतिक सत्ता आफ्नो समयको एउटा निश्चित उत्पादन सम्बन्धको ठोस अभिव्यक्ति हुने गर्दछ । अतः हामीले भोगिरहेको ‘लोकतान्त्रिक गणतन्त्र’को उत्पादन सम्बन्धलाई परिभाषित गर्दा यो आधारभूतरूपले पुँजीवादी उत्पादन सम्बन्ध नै हो । आजभन्दा दुई–तीन दशक पहिला नेपालको उत्पादन सम्बन्ध मूलतः अर्धसामन्ती थियो । त्यतिबेलाको उत्पादन प्रणाली सामन्तवादले नेतृत्व गरेको पुँजीवाद मिश्रित उत्पादन सम्बन्धमा आधारित थियो । तर त्यो आज छैन । नेपालको वर्तमान उत्पादन सम्बन्ध न सामन्ती छ न औद्योगिक पुँजीवादी नै । व्यापारिक पुँजीवादले नेतृत्व गरेको यो उत्पादन सम्बन्धलाई अर्धपुँजीवादी अर्थात् दलाल पुँजीवादी उत्पादन सम्बन्ध भन्नु उपयुक्त हुन्छ ।

नेपाली उत्पादन सम्बन्धको स्वाभाविक बाटो थियो– सामन्ती तथा अर्धसामन्ती उत्पादन सम्बन्धलाई तोडेर औद्योगिक पुँजीवाद या समाजवाद (नयाँ जनवाद) स्थापना गर्नु । नेपालका राजनीतिक पार्टी र तिनले नेतृत्व गरेका आन्दोलनहरुले ती दुवै बाटो छोडेर बीचको बाटो लिए । त्यसको राजनीतिक अभिव्यक्ति भनेको पुरानो सत्तासिन वर्गसँग सत्ता साझेदारीको रणनीति अवलम्बन गर्नु थियो । काँग्रेस, एमाले या माओवादी पार्टी सबैले पुरानो सत्तासँग साझेदारी गरेर आन्दोलनलाई सम्झौतामा टुङ्ग्याए । काँग्रेस या कम्युनिस्ट भनिने ती पार्टीहरु न सच्चा पुँजीवादी हुन सके न सच्चा कम्युनिस्ट नै । त्यसकै परिणाम हो न त यहाँ औद्योगिक पुँजीवादको स्थापना हुन सक्यो न समाजवाद नै ।

विश्व अर्थप्रणालीमा सामन्तवादसँग निरन्तरको साम्राज्यवादी सहवरणले उत्पादन सम्बन्धको पछिल्लो विकासलाई विकृत बनाइदियो । यसको परिणाम सामन्तवाद पुँजीवाद या समाजवादमा विकसित हुनुको साटो यो अर्धसामन्ती स्वरूपमा विकसित भयो । यो विश्वव्यापि प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । यही सम्बन्ध आज अर्धसामन्ती हुँदै अर्धपुँजीवादमा विकसित बनेको छ । यसलाई अर्थराजनीतिको भाषामा दलाल तथा नोकरशाही उत्पादन सम्बन्ध भनिएको हो । अर्धसामन्ती स्वरूपमबाट आज अर्धपुँजीवादी स्वरूपमा विकसित हुनुमा फरक के भने हिजो अल्पविकसित देशहरुको अर्थतन्त्र मूलतः सामन्तवादद्वारा नेतृत्व गरिएको थियो भने आज दलाल पुँजीवादले त्यसको प्रमुख नेतृत्व गरेको छ । पुँजीवाद जब साम्राज्यवादमा विकसित भयो तब यसको प्रतिस्पर्धात्मक चरित्र समाप्त भयो । औद्योगिक पुँजीवादको ठाउँमा एकाधिकार पुँजीवाद स्थापित भयो ।

हाम्रो देशमा स्थापित ‘लोकतान्त्रिक गणतन्त्र’को उत्पादन सम्बन्ध पनि त्यही अर्धपुँजीवादी अर्थात् दलाल पुँजीवादी उत्पादन सम्बन्ध हो । यसखाले उत्पादन सम्बन्धको विशेषता भनेको देशमा औद्योगिक विकास हुन नदिनु हो । परम्परागत कृषि श्रमलाई उद्यममा ल्याउनुको साटो साम्राज्यवादी पुँजीको बजार विस्तार गर्नु हो । यहाँसम्म कि दैनिक उपभोगका वस्तुहरुसमेत विदेशबाट आयात गर्ने र आफ्नो देशको जनशक्तिलाई वैदेशिक रोजगारीको नाममा विकसित देशहरुमा पलायन गराउनु दलाल पुँजीवादी उत्पादन प्रणालीको अनिवार्य विशेषता हो ।

दलाल पुँजीवादी उत्पादन सम्बन्धमा कैयौँ सामन्ती अवशेषहरु रहनु स्वाभाविक हुन जान्छ । किनकि यो सामन्तवादलाई पराजित गरेर नभई सामन्तवादसँग गठजोड गरेर स्थापित प्रणाली भएकाले सामन्तवादका अवशेषहरु यसमा लामो समयसम्मै रहने गर्छन् । सामन्ती उत्पादन सम्बन्ध अब अर्धसामन्ती हुँदै अर्धपुँजीवादका रूपमा घिटिघिटी गरिरहेको छ । चरम बेरोजगारी, गरिबी, महँगी, भ्रष्टाचार, कमिसनखोरी, घुसखोरी यसखाले उत्पादन सम्बन्धका अनिवार्य परिणामहरु हुन् । दलाल उत्पादन सम्बन्ध भएका देशहरुमा राजनीतिक पार्टीहरु, कर्मचारी निकाय, सुरक्षा निकाय र यहाँसम्म कि न्यायलयसमेत भ्रष्टाचारले निर्लिप्त हुने गर्छ । राजनीतिको भ्रष्टीकरण र भ्रष्टाचारको राजनीतीकरण, अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण दलाल पुँजीवादी उत्पादन सम्बन्धको आधारभूत विशेषता हो । नीति, नैतिकता र कर्तव्य केवल पैसा र नाफाको वरिपरि मात्र फन्को मारिरहन्छ ।

दुई फरक बाटा
प्रत्येक पटकको राजनीतिक आन्दोलनपश्चात् नेपालमा गरिबी, भ्रष्टाचार, महँगी, राष्ट्रघात बढ्यो मात्रै, कहिल्यै घटेन । तमाम सरकारी आँकडाहरुले यो तीतो सत्यलाई पुष्टि गरिरहेका छन् । देशमा आज पनि दुईवटा कित्ताबन्दी प्रष्ट देखिएका छन् । एउटा विकल्प हो, यही उत्पादन प्रणालीभित्रैबाट सुधारको तरिकाले समाधान खोज्नुपर्छ भन्ने र अर्को हो, वर्तमान उत्पादन प्रणालीकै अन्त्य गरेर जानुपर्छ भन्ने । नेपाली काँग्रेस, डबल नेकपा, राजपा, समाजवादी पार्टी नेपाल र अरू कैयौँ पार्टीहरु छन् जसले अघिल्लो तर्कलाई आत्मसात गर्छन् । उनीहरु वर्तमान उत्पादन प्रणाली अर्थात् वर्तमान व्यवस्थाको विकल्प सुन्न पनि चाहँदैनन् । नेपाल कम्युनिस्ट पार्टी र अरू केही निकै थोरै पार्टीहरु भने फरक कित्तामा उभिएका छन् । उनीहरुको दृष्टिकोणले पछिल्लो तर्कसँग सहमती राख्छ । त्यो दृष्टिकोणका अनुसार यो सम्पूर्ण समस्याको जड भनेको संसदीय पुँजीवाद अर्थात् दलाल पुँजीवादी उत्पादन सम्बन्ध हो । त्यसको अन्त्य गर्नुपर्छ भन्ने रहेको छ ।

नेपाली समाजको आमूल परिवर्तनका लागि नेपाल कम्युनिस्ट पार्टीले यो दृष्टिकोणलाई गहिरोसँग आत्मसात गरेको छ । दलाल पुँजीवादको अन्त्य गरेर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नु उसको अर्थराजनीतिक लक्ष्य रहेको छ । आफ्नो दृष्टिकोणलाई व्यवहारमा कार्यान्वयन गर्न उसले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशासमेत परिभाषित गरेको छ । यहाँ एकीकृत जनक्रान्तिको अर्थराजनीतिक पाटोका बारे थप छलफल गराैँ।
वैज्ञानिक समाजवाद : आधारभूत कार्यक्रम
पुँजीवादी उत्पादन सम्बन्धको ठाउँमा समाजवादी उत्पादन सम्बन्ध स्थापना गर्नु मार्क्सवादी सिद्धान्तको आधारभूतरूप कार्यक्रम हो । चाहे त्यो दलाल पुँजीवादी उत्पादन सम्बन्ध होओस् या औद्योगिक पुँजीवादी सम्बन्ध । किनकि, पुँजीवाद श्रमजीवी वर्गको हितविपरीत छ । सर्वहारा–श्रमजीवी वर्गको रगत पसिना चुस्नु पुँजीवादको आम नियम हो । यो बिना पुँजीवाद बाँच्नै सक्दैन । वैज्ञानिक समाजवाद या विनाश पुँजीवादको अन्तिम विकल्प हो । सिङ्गो मानव हित र प्रकृतिको रक्षाका लागि मार्क्सवादले यो आवश्यकतालाई केवल एउटा अनिवार्य बाटोको रूपमा प्रस्तुत मात्र गरेको हो । वैज्ञानिक दिशानिर्देश गरेको हो ।

मार्क्सवाद र वैज्ञानिक समाजवादबीच निकै गहिरो सम्बन्ध रहेको छ । मार्क्सवाद बिनाको समाजवाद नक्कली समाजवाद हो भने समाजवाद (अन्तिम अर्थमा साम्यवाद) बिनाको मार्क्सवाद नक्कली मार्क्सवाद हो । समाजवाद सामाजिक युगको एक अनिवार्य चरण हो भन्ने कुरा मार्क्सवादको जिकिर मात्र होइन, उत्पादन सम्बन्धका नियमहरुको सफल उद्घाटन हो । यसर्थ, मार्क्सवादले समाजवादको भावनात्मक र काल्पनिक बर्को मात्र च्यातेको होइन, सुस्पष्ट र वैज्ञानिक दृष्टिकोण प्रदान गरिदियो र त्यसलाई वैज्ञानिक समाजवादका रूपमा स्थापित गरिदियो ।       

क) एकाधिकार पुँजीवादको विकल्प : वैज्ञानिक समाजवाद
आजको भूमण्डलीकृत एकाधिकार पुँजीवादी अर्थप्रणालीको शोषणकारी चरित्र र त्यसले पैदा गरिरहेका विश्वव्यापि चुनौतीका बारे स्वयम् पुँजीवादी खेमाभित्रबाट पनि बहस तीव्र भइरहेको छ । थुप्रै वैज्ञानिकहरु, समाजशास्त्रीहरु पुँजीवादको पतनशील, मानवता विरोधी र प्रकृति विरोधी चरित्रप्रति निकै चिन्तित भइरहेका छन् । त्यसको विकल्पका बारे बहस गरिरहेका छन् । उत्पादनको सामूहिकता र निजी स्वामित्वबीचको भीषण अन्तर्विरोध पुँजीवादी अर्थ प्रणालीको निरपवाद विशेषता हो । यो नै पुँजीवादी पतनको कारक तत्व पनि हो । आजको विश्वमा उत्पादनमा भाग लिने श्रमिक वर्गको जीवन दिनदिनै कष्टकर बन्दै गइरहेको छ । जबकि उत्पादनमा भागै नलिने शोषक वर्गको हातमा विश्व पँुजीको ठूलो हिस्सा केन्द्रित भइरहेको छ । उनीहरुको जीवन वैभवपूर्ण चलिरहेको छ । त्यसैले नै केही समयअघि १ का विरुद्ध ९९ को ‘वालस्ट्रिट’ आन्दोलनले संसारभरी ठूलो चर्चा पायो ।

अर्थसम्बन्धी काम र अनुसन्धान गर्ने निकायहरुले नै बताएअनुसार विश्वको आधा सम्पत्ति केवल एक प्रतिशत धनीको हातमा केन्द्रित छ । जबकि ९९ प्रतिशतको हातमा बाँकी आधा प्रतिशत सम्पत्ति रहेको छ । सामूहिक उत्पादन र निजी स्वामित्वबीचको यही अन्तर्विरोधले नै आजको विश्वमा मानव जातिले सामना गरिरहेका सम्पूर्ण समस्याको गुरुत्व समातेको छ । राज्यसत्ता, सामाजिक सङ्घसंस्थाहरु, सार्वजनिक क्षेत्रहरु सबैमा नाफाको प्रवृत्ति चरम हावी रहेको छ । शोषणको प्रवृत्ति हावी रहेको छ । त्यहाँ सेवा र उत्तरदायित्वको स्थान अति न्यून छ । 

पुँजीवादी उत्पादन प्रणालीमा नाफाको अगाडि सम्पूर्ण मानवीय र सामाजिक मूल्यहरु घुँडा टेक्न विवस हुन्छन् । नाफाकै होडबाजी तथा आफ्नो पँुजीको रक्षार्थ विश्वको पर्यावरणमाथि समेत पुँजीवादले निरन्तर धावा बोलिरहेको छ । प्राकृतिक सन्तुलनका विपरीत उद्योग कलकारखानाको सञ्चालन, पृथ्वीका खनिज तत्वहरुको दोहन, जङ्गलको विनास आदि विश्व पर्यावरणका पछिल्ला चुनौतीहरु हुन्, जो पुँजीवादी उत्पादन प्रणालीद्वारा झन्पछि झन् बल्झाइँदैछन् । यदि यही तरिकाले पुँजीवाद अघि बढेमा या बढ्न दिइएमा उसले पैदा गर्ने मानवीय चुनौतीहरु भयावह त हुने नै छन्, प्राकृतिक चुनौतीहरु समेत महाविनाशक बन्दै जाने निश्चित छ । यो अवस्थामा वैज्ञानिक समाजवाद पुँजीवादको एक मात्र र अन्तिम विकल्प हो । अन्यथा पुँजीवादी उत्पादन प्रणालीसँग यदि अर्को विकल्प बाँकी छ भने त्यो हो सर्वविनाश ! एकीकृत जनक्रान्तिले यो सत्यलाई गहिरो गरी आत्मसात गरेको छ ।   

ख) नौलो जनवादको विकल्प - वैज्ञानिक समाजवाद
नेपाली समाज जतिबेला अर्धसामन्ती उत्पादन सम्बन्धबाट गुज्रिरहेको थियो त्यतिबेला विश्वभरका कम्युनिस्ट पार्टीहरुले वैज्ञानिक समाजवादलाई अधिकतम कार्यक्रम र न्यूनतम कार्यक्रम नयाँ जनवाद बनाउने गरेका थिए । त्यो आवश्यक र वस्तुवादी निष्कर्ष नै थियो । त्यो बेला नयाँ जनवादको सोझो तर्क थियो कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादको पूर्व चरणको रूपमा राष्ट्रिय औद्योगिक पुँजीवादी क्रान्ति सम्पन्न गर्नु । त्यसको अर्थराजनीतिक आधार थियो, राष्ट्रिय पँुजीपति वर्गसँगको सहकार्य । त्यसको सन्दर्भ थियो विश्व युद्धहरु, राष्ट्रिय मुक्ति आन्दोलनको लहर तथा त्यहीबीचमा स्थापित समाजवादी सत्ताहरु । नेपालमा यो रणनीतिको सान्दर्भिकता वि.सं. २००७ साल वरिपरि निकै ऊर्वर थियो । वि.सं. २०४६ र वि.सं. २०६२ सम्म आइपुग्दा पनि आधारभूत रूपमा यसको सान्दर्भिकता कायमै थियो ।

पुँजीवादको तीव्र विश्वव्यापीकरण र चरम एकाधिकारको चुचुरोमा उभिएको दलाल पुँजीवादी उत्पादन सम्बन्धको विकासले नौलो जनवादको जमिन विस्तारै कमजोर बन्दै गइरहेको छ । पछिल्ला दशकहरुमा यो प्रक्रिया तीव्रतम अघि बढिरहेको छ । पँुजीको राष्ट्रिय चरित्र समाप्तीसँगै पँुजीपति वर्गको राष्ट्रवादी चरित्रसमेत समाप्त भइसकेको छ । त्यसकै परिणाम हो आज दुनियाँको कुनै पनि पुँजीवादी पार्टी ऊ सच्चा राष्ट्रवादी हुन असम्भव छ । यो अवस्थामा न त पँुजीपति वर्गको नेतृत्वमा औद्योगिक पुँजीवादी क्रान्ति सम्भव छ न कम्युनिस्ट पार्टी र राष्ट्रिय पँुजीपति वर्गसँगको सहकार्य नै ।

आजको विश्वमा प्रत्यक्ष उपनिवेशको युद्ध जति सम्भव छ, त्योभन्दा बढी अनावश्यक छ । विश्व पुँजीवाद विकसित विज्ञान र प्रविधिको बलमा मूलतः ब्यापार युद्ध लडिरहेको छ । सैनिक युद्ध होइन । हिजोका सैनिक र बन्दुकको विशाल क्षेत्र आज पँुजीले लिएको छ । यसलाई अर्थराजनीतिक भाषामा नवऔपनिवेशीकरण भन्ने गरिन्छ । जहाँ प्रत्यक्ष होइन अप्रत्यक्ष र सैनिक होइन गैरसैनिक युद्ध बढी लडिन्छ । विज्ञान र प्रविधिको विकासले असीमित सम्भावनाका ढोकाहरु खोलिदिएको छ । केही दशकसम्म पँुजीपति वर्गले प्रविधिमाथिको स्वामित्वलाई निजीकरण गरे पनि यसको गति केवल नाफाको चक्रव्यूहमा मात्र सीमित हुने देखिँदैन । आम जनता र सर्वहारा वर्गलाई समेत प्रविधिले नयाँ युगमा धकेलिदिएको छ । यसले विश्व साम्यवादलाई समेत निकट गरिरहेको छ । यो अवस्थामा वैज्ञानिक समाजवाद र नयाँ जनवादलाई अलगै चरणका रूपमा परिभाषित गर्नु अब आवश्यक देखिँदैन । अतः साम्यवादका लागि वैज्ञानिक समाजवाद विश्व सर्वहारा वर्गको न्यूनतम कार्यक्रम हुन आवश्यक छ । वैज्ञानिक समाजवादको स्थापनाद्वारा नयाँ जनवादको कार्यभार पूरा गर्नु कम्युनिस्ट पार्टीको नवीन दायित्व हुन गएको छ । यो वस्तुतथ्यलाई एकीकृत जनक्रान्तिले आत्मसात गरेको छ ।

ग) समाजवादको समाजवाद ः वैज्ञानिक समाजवाद
विश्व पुँजीवाद र त्यसको समरूप संशोधनवादले वैज्ञानिक समाजवादलाई रबरको टोपी बनाइदिएको छ । अनेकथरी नक्कली समाजवाद सिर्जना गरेर आम जनतालाई भ्रमित गरिरहेको छ । वास्तविक समाजवाद एउटा मात्र छ, त्यो हो वैज्ञानिक समाजवाद । वैज्ञानिक समाजवादको अन्तिम लक्ष्य हो– विश्व साम्यवाद । साम्यवादी लक्ष्यबिनाको समाजवाद खोक्रो समाजवाद हो । समाजवादको आधारभूत विशेषता हो– सामूहिक उत्पादन र सामूहिक उपभोग । अर्थात् उत्पादनका साधनहरु माथिको सामाजिक स्वामित्व । बच्चा, वृद्ध र असक्तहरुलाई राज्यद्वारा पूर्ण संरक्षण वैज्ञानिक समाजवादको सामाजिक विशेषता हो । आफूलाई समाजवादी नै बताउन चाहने निम्न पुँजीवादीहरु, संशोधनवादीहरुले यो आधारभूत तत्वलाई लुकाउन चाहन्छन् । समाजमा चरम बेरोजगारी सिर्जना गर्नु र ती बेरोजगारहरुलाई भत्ता दिएर समाजवादको ज्वालामुखी थाम्न खोज्नु उनीहरुको तत्कालीक रणनीति रहेको छ । यो कुराप्रति जनतालाई सजग गराउनु सच्चा समाजवादीहरुको दायित्व हो । एकीकृत जनक्रान्तिले यो दायित्वलाई शिरोपर गरेको छ ।
 

निष्कर्ष, 
१. नेपाली समाजको नैतिक, आर्थिक एवम् भौगोलिक क्षयीकरण दलाल पुँजीवादी उत्पादन सम्बन्धको परिणाम हो । अतः नेपाली समाजमा पैदा भएका विकृति र विसङ्गतिहरु ती केही एकाध व्यक्तिहरुका कमजोरी मात्र होइनन् । ती मूलतः हामीले अनुसरण गरेको उत्पादन प्रणाली र राज्य प्रणालीका परिणामहरु हुन् । यसको समाधान विकसित उत्पादन प्रणालीबाट मात्र सम्भव छ । त्यो उत्पादन सम्बन्ध केवल वैज्ञानिक समाजवाद मात्र हो ।

२. नेपाली राजनीतिक इतिहासमा भएगरेका परिवर्तनहरु कुर्सी राजनीतिमा मात्र केन्द्रित रहे । उत्पादन प्रणालीको रूपान्तरण गर्न ती असफल रहे । त्यसका पछाडिको मुख्य कारण राजनीतिक दल र तिनले लिएको गलत अर्थराजनीतिक दृष्टिकोण हो । त्यो दृष्टिकोणको सम्बन्ध विश्व पुँजीवादसँग अझ त भूमण्डलीकृत एकाधिकार पुँजीवादसँग पनि जोडिएको छ । अतः राजनीतिक परिवर्तनलाई अर्थराजनीतिक परिवर्तनमा केन्द्रित गर्नु तथा साम्राज्यवादी एकाधिकारलाई तोड्नु नेपाली क्रान्तिको न्यूनतम कार्यभार हो ।

३. वैज्ञानिक समाजवाद पुँजीवादको निर्विकल्प कार्यभार हो । भलै पुँजीवादले आफूलाई सम्भव भए जतिका कवच धारण गरेर टिक्ने कोसिस गरे पनि त्यसको मृत्यु अवश्यम्भावी छ । किनकि, सामूहिक उत्पादन र निजी स्वामित्वका बीचको अन्तर्विरोध नै त्यो तत्व हो जसले पुँजीवादलाई चिहानमा पुर्नु अनिवार्य छ । पुँजीवाद पतनशील मात्र होइन यो विनाशकारी समेत छ । नाफाको होडबाजीमा प्रकृतिको दोहन र प्रविधिको असीमित प्रयोगले पृथ्वी र मानव जातिकै भविष्यमाथि खतराको तरबार झुण्ड्याइदिएको छ । यसर्थ, प्रकृति र मानव जातिको रक्षाका लागि वैज्ञानिक समाजवाद अन्तिम र अनिवार्य आवश्यकता हो ।

४. विज्ञान र प्रविधिको विकासले पुँजीवादलाई रक्षकवच मात्र प्रदान गरेको छैन, विश्व साम्यवादलाई समेत निकट गरिदिएको छ । ढुङ्गे युगको ढुङ्गाको बन्चरोले आदिम साम्यवादको अन्त्य गरेझैं वर्तमानको प्रविधिले पुँजीवादको अन्त्य गर्ने सुनिश्चित छ । अतः विश्व साम्यवादका लागि समाजवाद सर्वहारा क्रान्तिको आधारभूत कार्यभार बन्न गएको छ ।
एकीकृत जनक्रान्ति आमूल परिवर्तको बाटो हो । यो केवल सुधारको बाटो मात्र किंचित होइन । यो आधारभूतरूपले उत्पादन प्रणालीमा परिवर्तनको बाटो हो । अतः एकीकृत जनक्रान्ति नेपाली समाजमा व्याप्त विकृति र विसङ्गतिका विरुद्ध रोदन र चित्कार मात्रै होइन । यो हालसम्मको क्रान्तिकारी प्रयासहरुको नयाँ उच्चता हो । जनताको समृद्धि र राष्ट्रिय स्वतन्त्रताको सुस्पष्ट कार्यक्रम हो । नेपालको परिवर्तनकारी इतिहासमा एक अर्को साहसिक यात्रा हो । नेपाली समाजको आमूल परिवर्तनका लागि विशिष्ट अर्थराजनीतिक कार्यभार हो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.