शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ: साझा पार्टी

सोमबार, १६ मङ्सिर २०७६, १५ : २२
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गरेका छन् । साथै उनले मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकूलता हुँदाहुँदै पनि पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको छ । आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ । 

साझा पार्टीले छिट्टै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनतासमक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप