बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नेकपाको हार : अन्तरघात कि काँग्रेसलाई राप्रपा (संयुक्त)को उपहार ?

आइतबार, १५ मङ्सिर २०७६, १६ : ३९
आइतबार, १५ मङ्सिर २०७६

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य उपनिर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई पराजित गर्दै काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएपछि भक्तपुरको चुनावी हारजीत, तालमेल र घात अन्र्तघातबारे चर्चा परिचर्चा सुरु भएको छ । धेरैको अनुमानविपरित सत्तारुढ दलका उम्मेद्वारलाई पराजित गर्दै काँग्रेस उम्मेदवार विजयी बनेपछि भक्तपुरको चुनावी परिणामलाई लिएर सत्तारुढ दलभित्र र बाहिर समेत बहस हुन थालेको छ ।

मंसिर १४ गते भएको उपनिर्वाचनको मतदान नतिजाअनुसार यो क्षेत्रमा काँग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदार डीपी ढकाल ११ हजार २ सय ६ मतमा सिमित बने । भँडेल र ढकालबीचको मतान्तर दुई हजार बढी छ ।

यस्तै तेस्रो स्थानमा नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत ल्याएर ओगटे । यो क्षेत्रमा २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले (हाल नेपाल कम्युनिष्ट पार्टी ) का हरिशरण लामिछाने विजयी भएका थिए । त्यसवेला लामिछाने १२ हजार ७ सय ८९ मत पाउँदै विजयी बनेका थिए भने काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत पाएर दोस्रो स्थान ओगटेका थिए ।

काँग्रेसलाई राप्रपा संयुक्तको उपहार ?

विगत २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  भक्तपुर १ (क) का १० वडामध्ये ४ वटामा तत्कालीन नेकपा एमाले (हाल नेकपा), ४ वडामा नेपाली काँग्रेस र २ वडामा नेपाल मजदुर किसान पार्टीका वडाअध्यक्षका उम्मेवार बिजयी बनेका थिए । त्यसवेला चाँगुनारायण नगरपालिकाको १, २, ५ र ७ नम्बर वडामा काँग्रेसका उम्मेदवार बिजयी भएका थिए । सो नगरपालिकामा वडानम्बर ३, ४, ६ र ८ मा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ९ र भक्तपुर नगरपालिकाको १० नम्बर वडामा नेमकिपाको उम्मेदवार विजयी बनेका थिए ।

२०७४ मा सम्पन्न स्थानीय र प्रदेश सभा सदस्य दुबै निर्वाचनमा नेकपा, काँग्रेस, नेमकिपासँगै अर्को दल राप्रपा पनि कतिपय वडामा निकटतम प्रतिद्वन्द्वीको रुपमा उदाएको थियो ।

स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर १, ६ र ८ नम्बर वडामा राप्रपाका उम्मेदवारले दोस्रो स्थान हासिल गरेका थिए ।

नगर प्रमुखमा जित हासिल गरेका हाल नेकपाका (तत्कालीन एमाले)का सोमप्रसाद मिश्रले ८ हजार ५ सय १२ ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत ल्याउदा तेस्रो स्थानमा राप्रपाका रविन्द्र प्रताप शाहले ५ हजार १ सय ९८ मत ल्याएका थिए । त्यस्तै, चौथो स्थानमा नेमकिपाका न्हुछेभक्त फोजुले ४ हजार ४ सय ४२ र एकीकृत नेकपा माओवादीका शिव प्रसाद अधिकारीले ७ सय ६ मत ल्याएका थिए ।

त्यसबेलाको स्थानीय तह निर्वाचनमा राप्रपा एकै पार्टी थियो । अहिले राप्रपा र राप्रया (संयुक्त) गरी दुई पार्टी छन् । यसको अर्थ हाल २०७४मा राप्रपाले ल्याएको ५ हजार १ सय ९८ मत विभाजित बनेको छ । विगतको निर्वाचनमा केन्द्रीय स्तरदेखिनै काँग्रेससँग गठबन्धन गरेको राप्रपाले भक्तपुरमा भने त्यसवेला राप्रपाले धोखा दिएको आरोप काँग्रेसका नेताहरुले लगाएका थिए ।

तर यो पटक राप्रपा संयुक्तले औपचारिक घोषणा गरेर नै काँग्रेसका उम्मेदवारलाई सघाउने घोषणा गरेको थियो । यो पटक संयुक्तको साथले नै काँग्रेसलाई निर्वाचन जित्न सजिलो भएको केहीको भनाइ छ । त्यतिमात्रै होइन, विगतमा आफ्नै पार्टीमै घातअन्तरघातको पीडा भोगेको काँग्रेस यो पटक भने एक भएकाले सत्तारुढ दल नेकपाका उम्मेदवारलाई चुनौती थपिएको थियो ।

किन हार्यो नेकपाले ?

भक्तपुर जिल्ला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको घर भएको जिल्ला हो । त्यतिमात्रै होइन नेकपाका अर्का नेता महेश बस्नेत पनि यहि जिल्लाका प्रभावशाली नेता हुन् । यद्यपी बस्नेत भक्तपुर निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित केन्द्रीय सांसद हुन् । हाल नेकपा भक्तपुर जिल्ला अध्यक्ष हुन् बचन देउजा । उनी यसपटकको भक्तपुर निर्वाचन परिचालन समितिका कमाण्डर समेत तोकिएका थिए । निर्वाचन कमाण्डरको हैसियतामा नेकपाले किन चुनाव हार्यो यसबारे नेकपाले पछि नै विश्लेषण गर्ला तर भक्तपुरका प्रभावशाली नेता समेत मानिएका केन्द्रीय सांसद् एवम् नेकपा केन्द्रीय सदस्य महेश बस्नेत पार्टीका उम्मेदवार पछि पर्नुमा मुख्य दुई कारण रहेको बताउँछन् ।

बीबीसँगको कुराकानीमा बस्नेतले भनेका छन्, ‘पार्टी एकता प्रक्रिया ढिलो भएको कारणले गर्दा तल्लो तहसम्म पूर्वएमाले र पूर्वमाओवादीबीचको एकताको प्रभाव देखिन नसक्नु पहिलो हो भने दोस्रो उम्मेदवारका विरुद्ध पनि व्यक्तिगत गुनासोहरू रहनु हो । त्यस्तै उनले माओवादी पृष्ठभूमिजस्ता कुराहरू उठाएकाले पनि हारको काम गरेको संकेत गरे । ‘कार्यकर्ता तहमा त्यो गुनासो साम्य भयो तर जनताको तहमा रहेको त्यो भावना भत्काउन नसक्दा  चुनावी परिणाम अनुकूल हुन सकेन’ बस्नेतको भनाई छ ।

त्यस्तै भक्तपुरमा पार्टी एकतापछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने भावना कायम रहेका कारण पनि चुनावी नतिजा प्रतिकुल बन्न पुगेको बस्नेतको भनाईबाट बुझ्न सकिन्छ । त्यसबाहेक नेकपाले भक्तपुरमा निर्वाचन हार्नुका अरु कारणहरु समेत रहेका छन् ।

उम्मेदवार चयनमा कमजोरी

जीवनको  झण्डै चार दशक भन्दा धेरै समय भक्तपुरको विकास र पार्टी संगठनमा बिताएका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई समेत नेकपाभित्रका केही असन्तुष्ट पक्षले पर्यटकको संज्ञा दिए । यसैलाई प्रमुख प्रतिपक्षले चुनावी मुद्दा बनाइरहेका बेला उपनिर्वाचनमा नेकपाले ढकाललाई टिकट दियो । ढकालले लामो समयदेखि भक्तपुरमा राजनीति गर्दै आएपनि नेकपाका केही पक्षले उनलाई रुचाएका थिएनन् । जुन टिकट वितरणका अवसरमा पार्टी कार्यालयमा तालावन्दी भएबाटै देखियो । २०७० सालको निर्वाचनमा उनी क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । तर निर्वाचनको समयमा प्रचार र माहोल बनाउन भने नेकपाका स्थानीय कार्यकर्ता र पार्टी नेताहरु सक्रिय भएकाले पनि संगाठानिक मत भने आएको देखिन्छ । ढकालले ११ हजार २ सय ६ मत ल्याएकाले नेकपा एक ढिक्का छ भन्ने त देखिन्छ तर स्वतन्त्र मतदाताको मत ढकालले तान्न सकेनन्, जुन उनको हारको प्रमुख कारण देखिन्छ ।

दुई तिहाईको सरकार कारण

नेपाल कम्युनिष्ट पार्टीं(नेकपा)को दुई तिहाईको सरकार भएपनि कतिपय राष्ट्रिय मुद्धामा कमजोर भएकाले राजनीति नरुचाउने सामान्य मानिसले कम्युनिष्ट विरुद्ध काँग्रेसलाई रुचाएको देखिन्छ । जनजीवनमा परिर्वतन हुने सडक, खानेपानी, कृषि, यातायातलगायतका क्षेत्रमा तुरुन्तै महशुस गर्न सक्ने विषयमा जनताले परिवर्तनको महशुस गर्ने काम हुन नसक्नु प्रदेशमा हारको अर्का कारण रहेको छ ।

अलपत्र नगरकोट सडक

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका घरभेटी शारदा प्रसाद अधिकारीको शैलुङ्ग निमार्ण सेवाले ठेक्का लिएर ६ वर्षदेखि अलपत्र बनाएको भक्तपुर नगरकोट सडकले समेत नेकपालाई गाली गर्ने जमात बढ्न पुगेको देखिन्छ । यो मुद्दालाई प्रतिपक्षले चुनावका बेला चर्को नारा बनाउदै जनमत आफ्नो पक्षमा पार्न सफल भएको छ ।  चुनावका बेला उनै ठेकेदार अधिकारीको फोटो टाँस्ने अभियान त्यसको एक उदाहरणलाई सत्तापक्षले गम्भीर रुपमा लिन नसक्नु हारको अर्को पक्षका रुपमा विश्लेषण हुन थालेको छ ।

जनतामा बढ्दो निराशा

४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा ३२ हजार ३७ मतदाताले मात्र मतदान गरेका छन् । १३ हजार ४ सय ४९ ल्याएका काँग्रेसका भँडेल र ११ हजार २ सय ६ मत ल्याएका नेकपाका ढकालको मतान्तर २ हजार २ सय ४३ देखिन्छ ।  १२ हजार ९ सय ७८ मतदाताले त यो उपनिर्वाचनमा सहभागिता नै जनाएनन् । सहभागीता नजाउने मतदातामध्ये केही संख्यामा नेकपामा मतदाता समेत रहेका थिए, जसले मतदान गरेको भए नेकपाका उम्मेदवार विजयी हुन सहयोग पुग्न सम्भव थियो । आफुलाई मत दिने मतदातालाई मतदान केन्द्रसम्म ल्याउने वातावरण नगरेकाले नेकपालाई अनपेक्षित परिणाम हात लाग्न पुग्यो ।

नेकपाले पाठ सिक्नु जरुरी

पहिला नेकपाले जित हासिल गरेको धेरै स्थानमा यो पटक काँग्रेसको पल्लाभारी भएकाले पनि नेकपाका नेता तथा कार्यकताले आफुलाई सुधार गर्नु पर्ने देखिन्छ । दुई तिहाईको सरकार भएपनि जनताका मुद्दाालाई समाधान गर्न असफल भएको आरोप लागिरहेको यो समयमा जनप्रिय कार्यक्रम ल्याउने र जनभावनाअनुसार काम गर्नु उसका लागि आगामी चुनौती समेत थपिएको छ ।स्थानीय तहमा बढ्दो अनियमियता, नाताबाद र कृपावादलाई हटाउन नसके आगामी दिनमा नेकपा वर्तमान नेपाली काँग्रेसको हालतमा नपुग्ला भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप