शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामजानकी महोत्सवमा सहभागी हुन आएका तिर्थालु सडकमै सुत्न बाध्य

आइतबार, १५ मङ्सिर २०७६, ११ : १०
आइतबार, १५ मङ्सिर २०७६

जनकपुरधाम । जनकपुरधामका होटलहरु एकसाता अगाडि नै बुक भएपछि रामजानकी महोत्सवमा सहभागी हुन आएका तिर्थालुहरु समस्यामा परेका छन् । धनुषा र महोत्तरीका सबै धर्मशाला, होटल तथा लज भरिभराउ भएपछि हजारौँको संख्यामा रहेका भक्तजनहरु सडकमै सुत्न बाध्य भएका छन् ।

स्वदेश तथा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने क्रम जारी छ । विवाह पञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ । तर उनीहरुका लागि उचित बासको व्यवस्था नहुँदा समस्या भएको हो ।

होटल व्यवसायी संघ धनुषाका पूर्वअध्यक्ष दशरथ साहले होटल खोज्न आउने व्यक्तिलाई अन्य जिल्लामा समेत पठाउने गरेको बताए । त्यस्तै होटल व्यवसायी जिवनाथ चौधरीले एक साता अघिदेखि नै होटल भरिभराउ भएकाले अन्य अतिथिहरुलाई बर्दिवास, रौतहट वा सिरहासम्मका होटलमा बासका लागि व्यवस्थापन गरिएको बताए ।

जनकपुरधाममा वर्षभरी नै विभिन्न मेला लाग्ने गर्दछ । मेलामा आउने सर्वसाधारणमध्ये अधिकांश धर्मशाला र मन्दिर प्राङ्गणमा बस्ने गरेकाले खासै समस्या हुने गरेको थिएन । तर यसपटक भिआइपी व्यक्तिहरु बढी आएकाले होटल नै खोज्न थालेपछि समस्या भइरहेको छ ।

प्रदेश सरकार, स्थानीय सरकारले पनि बास व्यवस्थापनमा गम्भीरता नदेखाएकाले यसपाली भिड व्यवस्थापनमा निकै गाह्रो हुने देखिएको छ । सबैभन्दा बढी शौचको व्यवस्थापनमा समस्या देखिएको छ ।

लाखौँको सङ्ख्यामा रहेका तिर्थालुहरु यत्रतत्र शौच गर्ने गरेका कारण जनकपुरमा दुर्गन्ध पनि फैलिन थालेको स्थानीयवासी किसन मण्डलले जनाए ।

जनकपुरधाममा ठूला होटलहरु सीताशरण, सीता प्यालेस, वेलकम, मानकी, रामा छ । यी होटलमा एकहजार भन्दा बढी व्यक्ति अटाउन सक्ने क्षमता छैन । लज र धर्मशालामा गरी दश हजार जनामात्रै सहज रुपले अटाउन सक्छन् । जनकपुरधाममा अब होटलको माग बढयो भन्ने संकेत यसपटकको दर्शनार्थीको चापले दिएको होटल व्यवसायी संघ जनकपुरधामका पूर्वअध्यक्ष दशरथ साहले बताए ।

प्रादेशिक अस्थायी राजधानीका अतिरिक्त पर्यटनको केन्द्र जनकपुरधाम बन्ने भएपछि यहाँ दैनिक आउने सर्वसाधारणका साथै पर्यटकको संख्यामा बृद्धि भएको छ । जनकपुरमा मात्रै धर्मशाला, लज, होटल गरि करिब १ सय छन् ।

ठगी गर्ने होटलवाला पक्राउ

भारतबाट आएका श्रद्धालुहरुलाई जनकपुरको रामानन्दचोकस्थित होटल सिटि प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टमा एक रातका लागि एउटा कोठाको ५ हजार ५ सय रुपैयाँसम्म लिएको पाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले सूचना पाएलगत्तै स्थलगत अनुगमन गर्दै होटल सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप