शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आकर्षक पर्यटकीय गन्तव्य सत्यवती (तस्बिरहरु)

शनिबार, १४ मङ्सिर २०७६, १३ : ५१
शनिबार, १४ मङ्सिर २०७६

बुटवल । समुन्द्री सतहदेखि २ हजार ६९० मिटरको उचाईमा रहेको गुल्मीको थाप्ले लेक साविक लुम्विनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो । थाप्ले लेककै छेउमा रहेको सत्यवती धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । यहाँबाट उच्च हिमशृङ्खला सहित चारैतिरका सुन्दर बस्ती देख्न सकिन्छ । 

जल, जंगल, जडिबुटी र जमिनजस्ता प्राकृतिक स्रोत तथा जैविक विविधताको धनी रहेको ठूलो लुम्पेक प्राकृतिक सौन्दर्यको स्वप्निल स्वर्गका रुपमा छ । त्यस्तै धार्मिक–साँस्कृतिक मूल्यमान्यता र विश्वासको केन्द्र बुढी सत्यवती, लुम्पेकीथानी बाजेबज्यै, हिले, सिद्धबाबा आदि छन् ।

प्रकृतिको अद्भूत कला र सौन्दर्यसहित धार्मिक, पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेका बुढीसत्यवती क्षेत्र, बराह क्षेत्र मसिनाताल, हिले सिद्धबाबा मन्दिर, लुम्पेकीथानी बाजेबजैको थान र भूरेटाकुरे राजाको समयमा बनेको राजदरवार तथा रानीपोखरीको भग्नावशेष रहेको हचिङ्कोट दरवार क्षेत्र यहाँका मुख्य आकर्षण हुन् ।

त्यस्तै हुक्रायो सेती नाग, लाम्थुडी झरना, गुर्दुङ आलमदेवी आदि ठूलो लुम्पेकलाई चिनाउने र घुम्न लायक महत्वपूर्ण ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरु हुन् । मगर संस्कृतिमा सोरठी, सालैजो, बारुलै, यानीमाया, झ्याउरे, लोकदोहोरी आदि लोकसाँस्कृतिक झाँकीहरु गहनाका रुपमा छन् । जसको व्यवस्थित प्रचार प्रसार गर्ने हो भने पर्यटनक आकर्षण गर्ने साधन बन्न सक्दछन् ।

नेपालको थप सयवटा पर्यटकीय गन्तव्य सूचीमा रहेको सत्यवती क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि गठित समितिले विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ । समितिका अध्यक्ष जितु तरामु मगरले भिजिट नेपाल २०२० लाई मध्यनजर राख्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षक गन्तब्य बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ ।

समितिको बैठक शुक्रबार ठूलो लुम्पेकमा सम्पन्न भएको छ । समितिका अध्यक्ष जीतु तरामु मगरको अध्यक्षता र पर्यटन व्यावसायी विशु सिंजाली मगरको विशेष आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।   

सो क्षेत्रको पर्यटन विकासमा त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल लगायतले पहल गर्दै आएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप