शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रश्नहरूको आयतन

शनिबार, १४ मङ्सिर २०७६, ११ : २०
शनिबार, १४ मङ्सिर २०७६

मनोज लम्साल 

प्रश्नहरू जटिल हुन्छन् कि 
उत्तरहरू ?
हमेसा उत्तरहरूको अज्ञानतामा 
सरल  प्रश्नहरू जटिल बन्छन्
किन, कसरी र कहिले जस्ता 
सामान्य प्रश्नहरू
कुनै भीमकाय जीवझैँ प्रतीत 
हुन्छन्
र मानिसहरू निरन्तर भागिरहन्छन् 
प्रश्नहरूबाट
घर, गल्लीदेखि स्कुलका 
कक्षाकोठामा 
अखबारका पानादेखि सिंहदरबारका  
बैङ्कहरूमा प्रश्नहरू गायब छन्
घरमुलीहरू प्रश्नहरूमा मर्यादाको
तगारो  हाल्छन्
बुद्धिजीवीहरू प्रश्नहरूलाई बौद्धिकताको 
 उपहास ठान्छन् र 
शासकहरू प्रश्नलाई कुनै विषालु सापझैँ 
कुल्चिन खोज्छन्
सदियौँदेखि लाठी, बन्दुक र सङ्गीनहरूले 
रोपिएका छन् प्रश्नहरू
कति प्रश्नहरू फ्याँकिएका छन्
रद्दीका खाल्डाहरूमा
र कति बगेका छन् 
अनन्त दुःखका भेलमा
यी इतिहासका गर्तमा हेलिएका प्रश्नहरू
 शासकका बुटले निर्मम कुल्चिएका 
 प्रश्नहरू हावाका कण बनेर घुमिरहेछन् 
यो  वायुमण्डलमा
भरेर यी प्रश्नहरूको प्राणवायु छातीमा
हुर्कदै छन् बालकहरू
प्रश्नको निर्मम चोटले रन्थनिएको 
विद्रोही मस्तिष्क लिएर
व्यवस्थाको हन्डर खपेर मजबुत 
भएका हातखुट्टा लिएर
यी मस्तिष्कहरूले खोद्नेछन् इतिहासमा 
दबिएका शोषण र उत्पीडनका सजिला 
प्रश्नहरूको निर्मम उत्तरहरू 
यी हातखुट्टाले प्रतिकार गर्ने छन् 
खुनी प्रहारहरू
हे ! शासकहरू हो 
तिम्रो बुट, लाठी र बन्दुकले 
नाप्न सक्ने छैन 
यी प्रश्नहरूको आयतन
किनकि यी प्रश्नहरू 
धर्ती र आकाशझँै 
अनन्त फैलिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप