शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : देउता आफ्नो बाबा

शनिबार, १४ मङ्सिर २०७६, ११ : १४
शनिबार, १४ मङ्सिर २०७६

–शीतल शर्मा

सबैभन्दा शक्तिशाली, देख्छु मेरो बाबा 
मुटुभित्र रगतले लेख्छु मेरो बाबा ।
धड्किएको मुटुसँग तिम्रै चाल बाबा 
देख्दाखेरि सबै भन्छन्, तिम्रै डाल बाबा ।।

लडिदिँदा पनि तिम्रो मुटु दौड्ने बाबा, 
सपनीमा डुब्दा पनि मन पौड्ने बाबा ।
प्रश्न धेरै गर्दा मैले हाँसिदिने बाबा 
तोते मेरो गीत सुन्दा, नाँचिदिने बाबा ।।

उचालिद्यौ तिम्ले माथि जुन छुन्छु बाबा 
इच्छा पूरा नभएमा म त रुन्छु बाबा ।
इन्द्रेणीको सातै रङ्ग, कस्तो राम्रो बाबा 
दौडिएर छिटो जाऊ, लिन हाम्रो बाबा ।।

अफिसबाट केके ल्यायौ, खोलिद्यौ न बाबा 
मेरो सामु दुःख कष्ट, भुलिद्यौ न बाबा ।
घोडा चढी डुल्छु म त, बनिद्यौ न बाबा 
आऊ प्यारी छोरी फेरि भनिद्यौ न बाबा ।।

मध्य राति पेट दुख्यो, फुकिद्यौ न बाबा 
लुकामारी खेल्छु अब लुकिद्यौ न बाबा ।
जाडो भयो छातीसँगै टाँसिद्यौ न बाबा 
रिसाएको सुहाउँदैन हाँसिद्यौ न बाबा ।।

जति टाढा गए पनि मन यहीँ छ बाबा 
मुटु टुक्रा सुन्थेँ तर सत्य रै’छ बाबा ।
अनेकौँको सङ्ख्या तर एउटा आफ्नो बाबा 
सन्तानको लागि सधैँ, देउता आफ्नो बाबा ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप