सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसका परिवर्तित रुप

आइतबार, ०४ असार २०७४, १३ : २६
आइतबार, ०४ असार २०७४

       त्यो काङ्ग्रेस अर्थात् जननायक बीपी कोइराला र लौहपुरुष गणेशमान सिंहको काङ्ग्रेसमा राष्ट्रवादी चिन्तन र व्यवहार  थियो ।  जननायक बी.पी. कोइराला पार्टी स्थापनाका सुरुका दिनमा भारतीय काङ्ग्रेस तथा त्यहाँका समाजवादी दलबाट पूरै प्रभावित र प्रेरित रहेको देखिन्छ । तर २००७ सालमा भारतमा  भएको भनिएको राजा, राणा र काङ्ग्रेसका बीच भएको भनिएको  दिल्ली सम्झौतामा काङ्ग्रेसलाई पूरै बेवास्ता गरिएपछि बीपी कोइराला जवाहरलाल नेहरुको रहस्यपूर्ण गतिविधिबाट  झस्किएको देखिन्छ । त्यति मात्र होइन बारबार भारतीय काङ्ग्रेस र समाजवादी दलका नेताबाट आफू नेपालको प्रधानमन्त्री हुँदादेखि  अन्तिम समयसम्म तिनले नेपालविरुद्ध रचिएका सारा षडयन्त्र कोइरालाले प्रत्यक्ष अनुभव गर्नुभयो  । त्यसबेला जानकारीमा नआएका थाहा नपाइएका कोइराला र काङ्ग्रेस बारेका अध्ययन सामग्री अहिले पर्याप्त रहेका छन् । तिनमा बीपीले लेखेका कृतिहरु र वरिष्ठ पत्रकार जगत नेपालका  फुटकर र पुस्तकाकार कृतिहरु अध्ययनका प्रामाणिक सामग्री रहेका छन् । यी कृतिहरु पढ्दा हिजोका दिनमा कम्युनिस्टहरुबाट  कटु आलोचित बीपी कोइराला वा त्यो काङ्ग्रेस राष्ट्रवादी दृष्टिकोणका आधारमा अनुकरणीय र  उदाहरणीय लाग्छ । 


  त्यसबेला पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई भारतीय नेता जबाहरलाल नेहरुले पहिले त चीनको मैत्रीपूर्ण भ्रमण नगर्न सल्लाह दिए तर  कोइरालाले नेपालको प्रधानमन्त्रीका नाताले आफूले  छिमेकी देशको मैत्रीपूर्ण भ्रमण गर्नै पर्ने आवश्यकता र औचित्य नेहरुलाई बताए मात्र होइन, यसमा कोइरालले अड्डी नै लिए । त्यपछि नेहरुले चीन  जानै नै भए यत्ति मात्र कुरा गर्नु भनेर वार्ताको विषयसम्ममा खटनपटन गरे । यस खालको नेहरुको व्यवहारले  कोइरालाको राष्ट्रवादी भावनामा ठूलो ठेस लाग्यो । तर त्यहाँ उनले नेहरुसित कुनै जवाफ दिएनन् र उनी चीनको भ्रमणमा गए । गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई चीनको भ्रमणमा नलैजान बी.पी. कोइरालाको किचेन क्याविनेटले सल्लाह दियो, कारण सूर्यप्रसाद जवाहरलाल नेहरुबाट सोझो परिचालित थिए । उनी मार्फत् गोप्यतम सूचना दिल्लीमा पुग्थ्यो । तर बीपी कोइरालाले यी सब कुरा राम्ररी थाहा पाएर पनि भ्रमण दलमा उनलाई समावेश गरे । तर सूर्यप्रसाद उपाध्यायलाई छक्याएर आफूले मात्र माओसित रातको १२.०० बजे  गोप्य भेट गरे । त्यस बेला त्यस्तो स्थिति थियो, अहिले त हालै चौथोपटक नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ  ग्रहण  नगर्दै भारतीय प्रमुख अखबारमा खुल्ला रुपमा हाम्रा अर्थात् भारतीय शासकका विश्वासिला व्यक्ति भनेर देउबालाई भनेको समाचार प्रकाशित भयो ।  


 बीपी कोइरालाले माओसित नै भेटेर आफूले ढिट गरेर सगरमाथासित सम्बन्धित सीमा विवादलाई राष्ट्रहितमा समाधान गर्नुभएको थियो । त्यसैगरी जबाहरलाल नेहरुले नेपालको  उत्तरी सीमा हिमालय पर्वत शृङ्खला भारतको उत्तरी सीमा रहेको बताउँदा बीपीले कूटनीतिक प्रतिवाद गर्नुभएको पाइन्छ । आखिर यस कुरालाई नेहरुले पनि कूटनीतिक तरिकाले परोक्ष रुपमा भारतीय संसदमा मौखिक रुपमा गल्ती महसुस गरेका थिए । भारतमा निर्वासित जीवन बिताउँदा बीपीलाई इन्दिरा गान्धीले ठूलो सुरक्षासहित खातिरदारी गरेकी थिइन् तर यो खातिरदारी  बीपीका लागि भन्दा बीपीसित को–को भेटघाट गर्न आउँछन् र बीपीको सारा राजनीतिक गतिविधि बुझ्न रहेछ भन्ने कोइरालाले बुझ्नुभएको पाइन्छ । भारतीय काङ्ग्रेसलगायत दलले बीपीलाई तिम्रो देशमा बहुदल ल्याइदिन्छौँ र तिमीलाई प्रधानमन्त्री पनि बनाइदिन्छौँ पनि भन्थे तर त्यसरी उनीहरुको दयाँबायाँबाट लोकतन्त्र ल्याउन र प्रधानमन्त्री बन्न कोइरालाले अस्वीकार गर्नुभएको अध्ययनबाट अवगत हुन्छ ।

जब इन्दिरा गान्धीले सिक्किम कब्जा गरिन् । यसबाट बीपी कोइराला नराम्ररी झस्केको बुझिन्छ । मृत्युलाई पर्वाह नगरी मेलमिलाप नीति लिएर नेपाल आउँदा आफू उपर जे पनि हुनसक्ने अनुमान कोइरालाले गर्नुभएको थियो । यस कुराले कोइराला परिवार बेचैन बनेको थियो । सुन्दरी जेलको कठोर कारावासमा हुँदा तत्कालीन राजा वीरेन्द्र शाहसित कोइरालाले एक्लै भेट्न खोज्नुभएको थियो । राजा र प्रजाका बीचमा अनेक खेल खेलेर देश र जनताका विरुद्ध षडयन्त्र गर्ने दरबारिया र पूर्वपञ्चहरु  बिचौलियाको भूमिकामा रहेको बीपीले देख्नुभएकै थियो । त्यसैले उहाँले राजा समक्ष सन्देश पुर्यादिन्छु भनेर आउने दरबारिया विश्वस्त व्यक्तिलाई पनि लिखित वा मौखिक सन्देश राजासमक्ष कहिल्यै पठाउनुभएन । बीपीले आखिर आफूले एक्लै राजासमक्ष भेट्ने अवसर पाएको बताइन्छ । यो कुरा ०३६ मा जनमत सङ्ग्रहको घोषणा गर्नुभन्दा अघिको कुरा रहेको पत्रकार जगत नेपालको २०७४ जेठमा कान्तिपुरमा प्रकाशित लेखबाट अवगत हुन्छ । त्यही लेखमा बीपी कोइरालालाई जयबागेश्वरी स्थित निवासमा गएर अमुक व्यक्तिले नेपालबाट राजतन्त्र हटाइदिन्छौँ, तपाईं पहिलो गणतान्त्रिक राष्ट्रपति बन्न तयार रहनुहोस्  भनिएको थियो । बीपीले यस प्रश्नको उत्तरमा यस्तो अति गम्भीर विषयमा मैले मेरा साथीहरुसित सरसल्लाह गर्नुपर्छ र यसका लागि ४८ घण्टा समय चाहिन्छ भन्नु भएको लेखमा बताइएको छ । यस बीचमा बीपी कोइरालाले राजा वीरेन्द्रसित सोझो सम्पर्क गरेपछिको ४८ घण्टाभित्र जनमत सङ्ग्रहको घोषणा भएको बताइन्छ ।

पञ्चायती व्यवस्थालाई यथावत् राख्ने कि सुधार गर्ने भन्ने विषयमा दरबारभित्रै पनि निक्कै ठूलो रसाकस्सी रहेको त्यति बेला नै खुलस्त भएको विषय हो । त्यो काङ्ग्रेस त्यस्तो थियो । मृत्यको अन्तिम घडीमा भेट गर्न गएका वरिष्ठ वकिल गणेशराज शर्माले बीपीकै सामुन्ने उभ्भिएर तपाईंजस्तो देशको भाग्य र भविष्यप्रति चिन्तित कूटनीतिक क्षमताको राष्ट्रवादी नेता बित्न लाग्नु भयो अब देशको के हालत होला भनी दुःखमनाउ गरेका थिए  । यस सबालमा बीपीले अब जे गर्छ भारतले गर्छ भनेर सासले बोलेको  बुझिन्छ । उहिल्यै पृथ्वी नारायण शाहले दक्षिणको महाचतुर बादशाह एक दिन नेपालमाथि आइलाग्छ भनेकै थिए । त्यस्ता असफल दिन धेरै पल्ट आए अहिले शेरबहादुर देउबा नेतृत्वको गठबन्धन सरकार यस दिशामा कन्दनी कसेर लागि परेको छ । देउवाले हालसम्म प्रधानमन्त्री भएर देश, जनता र जनजीविकाका सबलामा उल्लेखनीय काम गरेको देखिन्न  । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा त्यतिबेलादेखि पछिसम्म पनि भारतीय शासकका अति विश्वासिला पात्रमा गनिन्थे । एक प्रसङ्गमा एमाले नेता तथा वरिष्ठ पत्रकार लेखक कमल कोइरालाले भारतीय शासकले बीपीका तुलनामा मातृकाप्रसाद कोइरालालाई मन पराउँथे ।  बीपी आफ्नु विवेकले चल्ने हुँदा भारतले उहाँलाई भन्दा भारतले भनेको खुरुखुरु मान्ने  मातृकाप्रसाद कोइराला भारतेली शासकले काँध हाल्थे ।

यसैले गर्दा नेपाली काङ्ग्रेसको आन्तरिक फाटोका बेला भारतले तत्कालीन राजामार्फत् बीपीको  बदलामा मातृकाप्रसाद कोइरालालाई २००८ सालमा प्रधानमन्त्री बनाएको कमल कोइरालाले बताएका छन् । भारतेली शासकले उहिल्यैदेखि अहिलेसम्म पनि नेपालमा सकेसम्म प्रायः आफ्ना आदेश खुरुखुरु तामेल गर्ने प्रधानमन्त्री मात्रै होइन, राजकीय अन्य क्षेत्र, तह र दर्जामा नियुक्त गर्न गराउन जोड बल लगाउने गरेको देखिन्छ । ओली सरकार हटाएर नेका र माओवादी केन्द्रको नौनौ महिने पालोफेरोकोे सरकार भारतीय स्वार्थमा आधारित देखिन्छ । पृथ्वीनारायण शाहले कुनै एक दिन दक्षिणका महाचतुर बादशाह नेपालमाथि आइलाग्छ भनेको र बीपीले पनि जीवनको अन्तिम घडीमा वरिष्ठ वकिल गणेशराज शर्मालाई निराश भएर जे गर्छ अब भारतले गर्छ भनेझैँ हुने कुलक्षणको सम्भवना नेपालमा बढेको  देखिन्छ । वरिष्ठ लेखक तथा चिन्तक सौरभले पनि बारबार देशमा आउन सक्ने सम्भावित दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् तर तमाम नेपालीहरु एकताबद्ध भएर प्रतिवाद मात्र गर्ने हो समाधान निकाल्न सकिने विश्वास पनि सौरभले व्यक्त गरेको पाइन्छ । लोकतान्त्रिक धारका लेखक भनेर चिनिएका किशोर नेपाल, पुरुषोत्तम दाहाल, पुरञ्जन आचार्य आदिहरु नेपाली काङ्ग्रेस पार्टीको कुरुप पक्षलाई उच्छेद गरी समग्र पार्टीलाई सही र उचित दर्घा र दिशा दिनुभन्दा एमाले पार्टी र ओली नेतृत्वका सरकारले गरेका  दूरगामी महत्वका देश, जनता र जनजीविका सबालको मनोगत विरोध गर्नमै समय खेर फालेको देखिन्छ । ऋषिमन सरहका वय, व्यक्तित्व र कृतित्वका लेखकहरुको ढुसी मन देख्दा अचम्म लाग्छ ।  अहिलेको यो काङ्ग्रेस राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति नै अनुदार देखिन्छ ।

आफैँले अगुवाइ गरेर निर्माण गरेको सालनालसहितको शिशु संविधानलाई बीच बाटामै अलपत्र पारेर छाड्ने, न्यायमूर्ति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई व्यर्थमा महाभियोग लगाउने, सबै हिसाबले सक्षम नवराज सिलवाललाई प्रहरी महानिरीक्षकमा नियुक्त नगर्न अनेक कपटपूर्ण झेली खेल खेल्ने लगायत नकाममा मात्र काङ्ग्रेस  लागेको देखिन्छ । पञ्चायती व्यवस्थाका विरुद्ध र बहदलीय शासन पद्धतिका पक्षमा संयुक्त सङ्घर्षको अगुवाइ गर्ने सर्वोच्च नेता गणेशमान सिंहको काङ्ग्रेस अहिले संविधान लागु गरेर सङ्क्रमण समाप्त गर्ने कुरामा बेमतलव देखिन्छ । देश नै अस्थिर र अन्यौलपूर्ण अवस्थामा अपरिहार्य एमाले नेका सहकार्य विरुद्ध कसम खाएर प्रतिपक्षी भूमिकामा बस्यो ।  एमाले र नेकासहित भएर संविधान लागू गराउने अपरिहार्य सहमतीय भूमिकाको विरोधी नेपाली  काङ्ग्रेसलाई कसरी बीपी काङ्ग्रेस भन्न सकिन्छ र ? यिनै कुराहरुका कारण नेकालाई कसरी सङ्घीय लोकतन्त्रिक गणतन्त्रवादी भन्ने ? अनि कसरी काङ्ग्रेसलाई राष्ट्र, राष्ट्रियता र समाजवादी पार्टी भन्ने ? अहिले शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस पार्टी इतिहासमै गुमनाम मात्र बदनाम हुने अवस्थातिर उन्मुख देखिन्छ । भारतस्थित दलाइ लामा सरकारका निकटतम व्यक्तिसित भेटघाट गरेर छिमेकी मुलुक चीनलाई देउवाले बिच्क्याइ सकेका छन् । देउवा प्रधानमन्त्री नियुक्त नहुँदै तिब्बत विरोधी दलाइ लामाका गतिविधि काठमाडौँमा व्याप्त देखिए ।

मुलुकको जगेर्ना गर्ने तीन महत्वपूर्ण अङ्ग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई खेलौना बनाउने नेकाको यो नेतृत्वको कृत्यलाई कसरी अग्रगामी काम र कदम भन्ने ? मुलुकको नुनको साझो चिताउने भन्दा भारतीय शासकका स्वार्थ अनुसार लम्पसार पर्ने र चल्ने यो काङ्ग्रेस पहिलेको काङ्ग्रेस कुनै हालतमा होइन र हुन सक्तैन । यति हुँदा हुँदै पनि यस्तो काङ्ग्रेसलाई जनताले अरु पुलपुल्यार स्थानीय निकायको निर्वाचनमा लोकप्रिय मत दिनु भनेको काङ्ग्रेसलाई अरु बिगार्नु हो । बिग्रन लागेकोलाई उल्टै प्रोत्साहन गरियो भने अझ बिग्रने अवस्था अरु बढ्ने निश्चित  छ । सियो चोर्दा प्रोत्साहन भयो भने फाली चोर्छ, अनि फेरि पनि प्रोत्सहन गर्दा त्यसले घरै फोर्छ । यसो हुन गयो भने लोकतान्त्रिक  गौरवशाली इतिहास बोकेको  काङ्ग्रेसको आसन्न  अवसानबाट कसैले बचाउन सक्तैन । अरुहरु पार्टीको पनि गतिमति यस्तै हुने हो तिनको यही दिशा र दशा हुने निश्चित छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप