अभिशप्त सिमाना र अनागरिकहरु
-सुनीलबाबु श्रेष्ठ
सयौँ चोटि आफ्नो थातथलोलाई
पछाडि फर्कंदै हेर्दै
हजारौँ किलोमिटरको दूरी पार गरेर
शून्य आकाशलाई बोक्दै
एउटा सूर्यको खोजीमा
सिमानाका अभिसप्त पिलरहरुसँगै
भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौँ हामीहरु ।
देहातमा जन्मेर
देहातमै मृत्यु रुँगेर बस्ने हामीसँग
तिम्रो भावना कहिले पो पलायो र ?
हामीलाई चोट लाग्दा कहिले पो दुख्यो र ?
तर पनि हामीले दूधे बालकको कोक्रोलाई झैँ
क्रूर बुटहरुको पीडा छातीमा सहेर
फुलाई रहेका छौँ सिमानामा हाम्रा पहिचानका फूलहरु ।
नजाऊ भन्दा पनि अहं धरै दिएन मनले
एक चोटि भेटेरै पीर पोख्न मन लाग्यो तिमीसँग
टिठ लाग्दा प्राचीन हाम्रा अनुहारहरु हेरेर
कतै तिम्रो मन पग्ली पो हाल्छ कि ?
कुइराका कागहरू जस्तै
यो काठमाडौँ कता हो कता लाग्छ !
यता भडकिन्छौ उता भौतारिन्छौ
यसै पनि प्रकाशविहीन भएर हामी
आदिमकालदेखि बाँच्दै आइरहेका
सिमानाका ब्ल्याकहोल न हौ ।
तिमीलाई भेट्ने अधिकार पनि छ हाम्रो
किनकि हामीले हाम्रा बाजे बराजुको पालादेखि
तिमीलाई हुर्काउन बढाउन
बुझाएका छौ धान, घिऊ र आलुहरु
र, सगौरव बोकेका छौ हात हातमा
मुटु समान हाम्रा लालपुर्जाहरु
हेर त ! अझै जीवित छन् त्यहाँ तिम्रा राता हस्ताक्षरहरु !
योभन्दा गतिलो प्रमाण
तिमीलाई अरू के नै चाहियो र काठमाडौँ ?
सिमानामा गाडिएका यी पिल्लरहरु
फगत ढुङ्गाका साँधहरु मात्र हैनन्
यी त जिउँदा अस्थिपञ्जर र इतिहास हुन् पुर्खाहरुको ।
अझै पनि ती भूमिमा
अजीव तिखो गन्ध आउँछ हाम्रा पुर्खाका रगतहरुको
त्यसैले त ती भूमिहरुको चिम्टी चिम्टी माटोलाई चिन्छौ
माटोको कण कण बास्ना थाहा पाउँछौ
हो अझै आलै छन् त्यहाँ
धान रोप्दा छोडेका हाम्रा पैतालाका डोबहरू ।
ओ काठमाडौँ !
किन यति सारो लुरे बन्छौ ?
समयको सबैभन्दा ठूला र भरपर्दो जीवित साक्षी हौँ हामी ।
सिमानाका बिरामी स्तम्भहरुलाई अँगालेर
एक चोटि घोषणा गर्देऊ
कि रातारात हाम्रा कमजोर स्तम्भहरु
हाम्रो इतिहासलाई अवमूल्यन गर्न सारिएका हुन् ।
हामी ज्युँदै छौ काठमाडौँ !
अपहेलित र उपेक्षित भए पनि
आमा त सबैको आमै हुन्छिन् ।
ओ काठमाडौँ !
सुतेझैँ नगर्नू
कान नसुनेको झैँ गरेर नबस्नू
तिमीलाई उठाउन आएका छौँ हामी
तिमीलाई सुनाउन आएका छौँ हामी ।
ओ काठमाडौँ !
तिमी केवल काठमाडौँ भएर मात्र नबस
एकचोटि देश बनेर हेर
र आफ्नो फैलावटलाई हेर
कहाँसम्म पुगेको छ हाम्रा सिमानाका पखेटाहरु ।