शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ : केदारनाथ न्यौपानेको ९३ औं जन्मजयन्ती

मातृभाषाहरुको अधिकारका लागि लड्ने एउटा खस ब्राम्हण, जो बोल्ने मात्रै हैन, नेपाल भाषामा लेख्थे पनि !

न्यायको पक्षमा आजीवन आफूलाई हाेमेका एक राष्ट्रवादी शिक्षाविद्को जीवन–प्रस‌ंग
शनिबार, १४ मङ्सिर २०७६, ०१ : ३७
शनिबार, १४ मङ्सिर २०७६

के यस्तो हुनसक्छ कि एउटा यस्तो खस–ब्राम्हण होस् जो काठमाडौंको रैथाने नेवारले जस्तै नेपालभाषा बोल्ने होस् ? बोल्ने मात्र होइन, लेख्ने पनि होस् ? भाषालाई सम्मान गर्ने पनि होस् ? त्यति मात्र पनि होइन, मातृभाषाहरूको अधिकारको लागि लड्ने होस् ? अनि नेपाल सम्वत‍्को पक्षमा वकालत गर्ने होस् ? अझ नेवारको संगठनमा अगुवाइ गर्नेगरेको होस् ?

हो, त्यस्तो एउटा विचित्रको बौद्धिक व्यक्तित्व थियो — केदारनाथ न्यौपाने (१९८४—२०२८) । त्यो पनि अहिलेको समयमा होइन, पाँच–सात दशकअघि । उनै व्यक्तित्वको ९३ औं जन्मजयन्तीको अवसरमा (मंसीर १५ अर्थात् विवाह पञ्चमीको दिन) उनका दुई कृतिको विमोचन हुँदैछ — ‘झी फुक्कं स्वतन्त्र खः !’ (हामी सबै स्वतन्त्र छौं) र ‘केहेंयात पौ’ (बहिनीलाई पत्र) । यी दुवै कृति न्यौपानेले नेपालभाषामा लेखेका हुन् र त्यसबेलाका नेपालभाषाका प्रतिष्ठित पत्रिकाहरू ‘धर्मोदय’, ‘नेपाल’, ‘सितु’, ‘थौंकन्हे’, ‘पासा’मा प्रकाशित भएका हुन् । ‘केहेंयात पौ’ (बहिनीलाई पत्र)मा नेपाली अनुवाद पनि समेटिएको छ ।

केदारनाथ न्यौपानेले नेपालभाषामा निरन्तर लेख लेखे । नेपालभाषाका लेखकहरूको संस्था ‘च्वसापासा’का निर्वाचित सदस्य–सचिव (२०१३) समेत बने । नेपालभाषाका सबैजसो लेखक तथा विद्वानहरूसँग उनको घनिष्ट सम्बन्ध थियो । चित्तधर हृदय, प्रा. डा. कमलप्रकाश मल्ल, प्रेमबहादुर कंसाकार, सत्यमोहन जोशी आदि नेपालभाषाका थुप्रै दिग्गज लेखकहरूसित उनको हार्दिक सम्बन्ध रह्यो । कवि दुर्गालाल श्रेष्ठलाई त उनले आफ्नै भाइलाई जस्तो माया गर्थे । त्यति मात्र पनि होइन, उनले श्रेष्ठलाई कहिल्यै नबिर्सने गुण समेत लगाएका थिए । अत्यन्तै मार्मिक त्यो सन्दर्भ यस आलेखको अन्त्यतिर समेटिने प्रयास गरिएको छ ।

*******

न्यौपाने शैक्षिक व्यक्तित्व पनि थिए । उनले राणाकालमै नारी शिक्षाको आवश्यकता बोध गरेर कन्यामन्दिर माध्यमिक विद्यालय खडा गरिसकेका थिए, जुन काठमाडौंको क्षेत्रपाटीमा अवस्थित छ ।

*******

न्यौपाने शैक्षिक व्यक्तित्व पनि थिए । उनले राणाकालमै नारी शिक्षाको आवश्यकता बोध गरेर कन्यामन्दिर माध्यमिक विद्यालय खडा गरिसकेका थिए, जुन काठमाडौंको क्षेत्रपाटीमा अवस्थित छ । उनको जीवनको अधिकांश समय सोही विद्यालयको प्रधानाध्यापकको रूपमा बित्यो । उनले नेपालभाषाको साथै नेपाली र अँग्रेजीमा पनि वैचारिक रचना लेख्ने गरेका थिए । साथै उनी केही हदसम्म साहित्यिक पनि थिए । उनको कथा ‘पापीम्ह काय्’ (पापी छोरा) नेपालभाषाका प्रतिनिधि कथाहरूको संकलनमा समाविष्ट छ ।

राष्ट्रवादी चेतनाका वाहक

यति हुँदा हुँदै पनि आजको पुस्ताले उनलाई कमै चिन्छ । एक त उनको निधन भएकै पचास वर्ष भइसकेको छ । अर्को कुरा, उनले छोटो आयु लिएर आएका थिए — केवल चवालिस वर्षको !  तर त्यति छोटो जीवनभित्र पनि उनले जे–जति कार्य गरे ती अत्यन्तै उल्लेखनीय छन् । उनका लेखहरूमा प्रकट विचारहरू पढ्दा उनलाई साँच्चिकैको राष्ट्रवादी भन्नसकिन्छ । राष्ट्रलाई बलियो बनाउन परिवर्तनको आवश्यकता उनले महसूस गरेका थिए । अनि फेरि, परिवर्तनको लागि जनतामा चेतना प्रवाह गर्नुपर्ने आवश्यकता देखेका थिए । विद्यालय स्थापनाको कार्य होस् वा लेखन कार्य, त्यही चेतना फैलाउने प्रयासमै उनी केन्द्रित थिए । 

*******

बुद्ध नेपालमा जन्मेको तथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार–प्रसार गर्नुपर्ने विचार उनले आफ्नो लेखनीमार्फत् त्यति खेरै जोडतोडले उठाएका थिए । हामी त यो काम भरखर गर्दैछौं ।

*******

साठी वर्षअघि लिखित उनका कृतिहरूमा सम्प्रेषित चेतना आज झनै सान्दर्भिक देखिन्छन् । उनका लेख पढ्दा लाग्छ वैचारिक रूपमा उनी हामीभन्दा धेरै अगाडि थिए, हामी उनीभन्दा धेरै पछाडि । बुद्ध नेपालमा जन्मेको तथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार–प्रसार गर्नुपर्ने विचार उनले आफ्नो लेखनीमार्फत् त्यति खेरै जोडतोडले उठाएका थिए । हामी त यो काम भरखर गर्दैछौं । यस हिसाबले उनलाई भविष्यद्रष्टा थिए भन्नसकिन्छ ।

साथै उनले आफ्ना लेखहरूमा विदेशी सहायता लिँदा चनाखो हुनुपर्ने कुरा पनि औंल्याएका छन् । सहायतासित जोडिएर आउने शर्तप्रति सावधान गराएका छन् । विदेशी सहयोगमै मुलुक चलेको आजको अवस्थामा यो कुरा त झनै सान्दर्भिक भएको छ । अनि शिक्षाको कुरामा उनी लेख्छन्, “शिक्षा के हो ? यसतर्फ हामीले मनन् गरेका छैनौं जस्तो लाग्छ । हाम्रो धेरैजसो शिक्षा पाठ्यपुस्तकमै सीमित भइरहेको छ । पुस्तक त शिक्षाको लागि एउटा सहायक दृष्य वस्तुसम्म हो । वास्तविक शिक्षा त मानिसको सर्वतोमुखी विकास नै हो ।” यस कुरालाई सम्झाउन उनले सर्वपल्ली राधाकृष्णन्, स्वामी विवेकानन्द, टि. पि. नन् जस्ता विद्वानका भनाइहरू पनि प्रस्तुत गर्छन् । लेखमा राधाकृष्णन्को यो भनाइ उल्लेख गरिएको छ, “मानिसभित्र सर्वोच्च प्रकाशका किरणले प्रज्ज्वलित अन्तरभावना हुन्छ । त्यही अन्तरभावनालाई ठम्याउनसक्नु नै शिक्षाको साँचो अर्थ हो ।” यति बुझेको प्रधानाध्यापक हुनु भनेको निश्चय पनि ठूलो कुरा हो । आज त शिक्षा भनेको कमाउने साधन बनेको छ ।

अहिले हामी भरखरै समावेशिताको कुरा गर्नथालेका छौं, तर केदारनाथ न्यौपानेले ती कुरा आधा शताब्दीभन्दा अघि नै उठाइसकेका थिए । उनको विचार थियो — नेपालीभाषाको राष्ट्रभाषाको दर्जालाई यथावत् राख्दै पनि नेपालभाषा, मैथिली, भोजपुरी, तामांग, गुरुङ आदि देशका भाषाहरूलाई अधिकार दिन सकिन्छ, प्रवर्धन गर्नसकिन्छ । ती भाषाहरू विकसित भएर भोलि राष्ट्रभाषाको दर्जामा आए भने पनि त्यसले राष्ट्रियता अझ मजबूत नै हुने विचार पोख्छन् उनी । त्यसैले दुर्गालालले ‘केहेंयात पौ’ (बहिनीलाई पत्र)को भूमिकामा लेख्छन्, ‘प्रजातन्त्रका शिरोमणि गणेशमान नै हुन्, तापनि त्यो स्थानमा म केदारनाथ देख्नपुग्छु ।’

व्यवहारमै अधिकारवादी

यी कुरा उनले विचारमा मात्र होइन, व्यवहारमै उतारेका थिए । उनी प्राधानाध्यापक रहेको कन्यामन्दिर मा. वि.मा नेपालभाषाको पनि पढाइ हुन्थ्यो । विद्यालयको कुनै पनि कार्यक्रममा नेपालभाषाको गीत वा नाटक समावेश भएन भने उनी आफैं लागेर खोजेर भए पनि समावेश गर्नलगाउँथे ।

*******

केदारनाथले दुर्गालाललाई कार्यालयमा बोलाएर भने, ‘छिगु विदा स्वीकृत मजुल ।’ (तपाईंको विदा स्वीकृत भएन ।) उनलाई अचम्म लाग्यो । विदा स्वीकृत नहुनुपर्ने कुनै कारण थिएन । ‘अँ, नेवारले आफ्नो चाड मनाएको यो बाहुनले नसहेको होला’ भन्ने नकारात्मक विचार पनि उनको दिमागमा आइसकेको थियो ।

*******

विद्यालयमा नेपालभाषा विषय पढाउने शिक्षक थिए — कवि दुर्गालाल श्रेष्ठ । कवि दुर्गालाल एउटा घटना अझै याद गर्छन् । पाहाँचःह्रे थियो वा त्यस्तै कुनै नेवारको चाडको दिन थियो, दुर्गालालले विद्यालयमा विदाको निवेदन दिएर चाड मनाउन घर बसे । भोलिपल्ट विद्यालय पुग्दा केदारनाथले दुर्गालाललाई कार्यालयमा बोलाएर भने, ‘छिगु विदा स्वीकृत मजुल ।’ (तपाईंको विदा स्वीकृत भएन ।) उनलाई अचम्म लाग्यो । विदा स्वीकृत नहुनुपर्ने कुनै कारण थिएन । ‘अँ, नेवारले आफ्नो चाड मनाएको यो बाहुनले नसहेको होला’ भन्ने नकारात्मक विचार पनि उनको दिमागमा आइसकेको थियो । तैपनि उनले आफूलाई सम्हाल्दै भने, ‘द्वंगु दःसा क्षमा बियादिसँ ।’ (बिराम भए क्षमा पाउँ ।) केदारनाथले उनलाई सोधे, ‘थ्व क्षमा बी बहःगु गल्ती मखु ।’ (यो क्षमा गर्न लायक गल्ती होइन ।) विस्तारै केदारनाथले विदा स्वीकृत नगर्नुको कारण खोले, ‘छि ला नेपालभाषाया शिक्षक । थ्व पौ नेपालभाषां हे छाय् मच्वयागु ?’ (तपाईं नेपालभाषाका शिक्षक हैन र ? यो निवेदन किन नेपालभाषामै नलेख्नुभएको ?) दुर्गालाल झसंग भए । मातृभाषा भनेर उफ्रेर हिँड्ने उनलाई झल्यांस ब्युंझाइदियो ।

कविका उत्प्ररेक

कवि दुर्गालाल बालकविताका सशक्त सर्जक हुन् । त्यो सम्भव बनाउने श्रेय पनि केदारनाथलाई जान्छ । कन्यामन्दिर विद्यालयमा पढाउँदा उनी बालबालिकासित रमेर केही बालगीत कोरेका थिए, विद्यार्थीकै कापीमा । त्यो केदारनाथको नजरमा पर्‍यो । उनले दुर्गालाललाई बालकविताको पुस्तक नै निकाल्न अनुरोध गरे । कवि पनि के कम ! एक महीनामै किताब छाप्न मनग्य बालकविता उनको हातमा थमाइदिए । यसरी नेपालभाषामा अत्यन्तै लोकप्रिय बालककविताको सङ्ग्रह ‘चिनियाम्ह किसिचा’ (मिश्रीको हात्ती) प्रकाशनमा आयो । सो पुस्तक बालबालिकामाझ यति साह्रो लोकप्रिय भयो कि धेरै वर्षपछिसम्म पनि यसका थुप्रै संस्करणहरू निस्किरहे । दुइहजार प्रति निस्क्यो भने दुइ महीनामै बिक्री भएर सकिने अवस्था पनि आयो । त्यही लोकप्रियताबाट उत्साहित हुँदै उनले अर्को बालककविता सङ्ग्रह ‘ताइभाबा’ (चन्द्रमा) पनि रचे । त्यो पनि उत्तिकै लोकप्रिय रह्यो  ।

‘चिनियाम्ह किसिचा’मा केदारनाथले नेपाल भाषाामा लेखेकाे भूमिका

कविको होचो घरमा

ती बालकविताका दुवै पुस्तकमा केदारनाथ न्यौपानेको भूमिका देख्नसकिन्छ । ‘चिनियाम्ह किसिचा’ पुस्तकको भूमिकासित दुर्गालालको थँबहिल (ठमेल) स्थित गृह निर्माणको रोचक प्रसंग जोडिएको छ । सो घतलाग्दो प्रसंग यसप्रकार छ —

*******

दुर्गालालको जन्म गरीब परिवारमा भएको थियो । घरमा पस्दा त केदारनाथलाई दुर्गालालले निहुरिएर आउनको लागि सावधान गराएका थिए । तर फर्किंदा, कुरा गर्दागर्दै निस्केकोले होला, निहुरिन बिर्सेछन् र उनको टाउको ढोकामा बेस्कन ठोकिएछ, टुटुल्को उठ्ने गरी !

*******

केदारनाथ न्यौपानेले ‘चिनियाम्ह किसिचा’का बालकविताहरू पढिसकेर आफूले लेखेको भूमिका दिन भनेर दुर्गालालको असननजिकै न्हैकंतल्ला टोलस्थित घरमा गए । उनको त्यो घर साह्रै सानो र होचो थियो । वास्तवमा दुर्गालालको जन्म गरीब परिवारमा भएको थियो । घरमा पस्दा त केदारनाथलाई दुर्गालालले निहुरिएर आउनको लागि सावधान गराएका थिए । तर फर्किंदा, कुरा गर्दागर्दै निस्केकोले होला, निहुरिन बिर्सेछन् र उनको टाउको ढोकामा बेस्कन ठोकिएछ, टुटुल्को उठ्ने गरी ! चोट त टाउकोमा लागेको थियो, तर दुख्यो मनमा । उनलाई लाग्यो, ‘अहो, यति ठूलो कविको घर यस्तो सानो, होचो, अनि अँध्यारो ?’ उनले मनमनै केही गर्नुपर्ने सोचे ।

तिर्ननसकिने पैंचो

अर्को दिन दुर्गालाल सधैंझैं विद्यालय जाँदा केदारनाथले घर बनाउन केही रकमको लागि सञ्चालक समितिको नाममा एउटा निवेदन दिन भने । दुर्गालालले पत्याउन सकेनन् र आँट पनि गर्न सकेका थिएनन् ।  रिन लिएर तीर्न पो सकिने हो कि होइन ? उनले केदारनाथको कुरालाई गम्भीरतापूर्वक लिएनन् । धेरै दिन बितेपछि केदारनाथले फेरि सम्झाए, ‘तपाईंले निवेदन मात्र दिनुस् । बाँकी काम म गराइदिइहाल्छु’ ।

*******

दुर्गालाल उनको गुण सम्झँदै भन्छन्, “न्हैकंतल्ला टोलको मेरो जन्मघरमा सूर्यको किरणै पस्दैनथ्यो । आजको मेरो घरमा झुल्कनासाथको सूर्यलाई भेट्नसकिन्छ । तर सूर्यको त्यो गोलो रक्तिम अनुहारभित्र अक्सर म एउटा आकृति पाउँछु । लाग्छ, त्यो केदारनाथ हो । हेर्दै म एकतमासले पग्लिन्छु ।”

*******

हुन त ठमेल त्यसबेला स्याल कराउने ठाउँ थियो । कालान्तरमा त्यो ठाउँ पर्यटकीय केन्द्र भयो । जीवनको उत्तरार्द्धमा सोही घर उनको गरीबीको ओखती बन्यो । नभए शिक्षक भएर वा कविता लेखेर आर्थिक स्थिति उकास्ने कुरा अहिलेसम्म हाम्रो देशमा कल्पना पनि गर्नसकिंदैन । दुर्गालाल उनको गुण सम्झँदै भन्छन्, “न्हैकंतल्ला टोलको मेरो जन्मघरमा सूर्यको किरणै पस्दैनथ्यो । आजको मेरो घरमा झुल्कनासाथको सूर्यलाई भेट्नसकिन्छ । तर सूर्यको त्यो गोलो रक्तिम अनुहारभित्र अक्सर म एउटा आकृति पाउँछु । लाग्छ, त्यो केदारनाथ हो । हेर्दै म एकतमासले पग्लिन्छु ।”

२०२८ सालको दशैं बिदाको समय एकाएक दुर्गालालको कानमा एउटा दुःखद समाचार पर्छ— केदारनाथ न्यौपानेको निधनको समाचार । उनी हुत्तिंदै आर्यघाट पुग्छन् । त्यसबेला दुर्गालाल सम्झन्छन्, आफूले केदारनाथलाई दश रूपैँया तीर्न बाँकी थियो । उनलाई लाग्यो, गोजीबाट दश रूपैँया झिकेर चितामा बुझाइदिउँ कि ? तर त्यही बेला उनलाई चितामा पल्टेको केदारनाथले हाँस्दै भने झैं लाग्यो, “तिम्रो सिंगो जीवन नै मेरो पैंचो हो, नाहकमा दश रूपैँया तिरेर रिनमुक्त हुने दुष्प्रयास किन गर्दैछौ तिमी ?”

*******

उनी हुत्तिंदै आर्यघाट पुग्छन् । त्यसबेला दुर्गालाल सम्झन्छन्, आफूले केदारनाथलाई दश रूपैँया तीर्न बाँकी थियो । उनलाई लाग्यो, गोजीबाट दश रूपैँया झिकेर चितामा बुझाइदिउँ कि ? तर त्यही बेला उनलाई चितामा पल्टेको केदारनाथले हाँस्दै भने झैं लाग्यो, “तिम्रो सिंगो जीवन नै मेरो पैंचो हो, नाहकमा दश रूपैँया तिरेर रिनमुक्त हुने दुष्प्रयास किन गर्दैछौ तिमी ?”

*******

भोलिपल्ट गोरखापत्र दैनिकको प्रथम पृष्ठमै एंकर न्यूज थियो “शिक्षाविद् केदारनाथ न्यौपानेको निधन” । समाचारको अन्त्यतिर लेखिएको थियो,  “हिजो आर्यघाटमा फुकालिएको न्यौपानेका लुगा–कपडाको अवस्था हेर्दा उहाँको परिवारको आर्थिक अवस्था नाजुक थियो भन्ने प्रष्ट देखिन्थ्यो ।”

निधनपछि

केदारनाथ बितेको केही दिनपछि नै नेपालभाषा परिषदको आयोजनामा शोक–सभा भएको थियो । सोही शोक–सभामा बोल्दै गर्दा कवि केशरी चित्तधर हृदयको आँखामा आँसु रसायो र तत्कालै उनी अचेत भए । पछि उनी होशमा त आए तर जीवनभर पक्षाघातबाट पीडित भए ।

*******

केदारनाथ बितेको केही दिनपछि नै नेपालभाषा परिषदको आयोजनामा शोक–सभा भएको थियो । सोही शोक–सभामा बोल्दै गर्दा कवि केशरी चित्तधर हृदयको आँखामा आँसु रसायो र तत्कालै उनी अचेत भए । पछि उनी होशमा त आए तर जीवनभर पक्षाघातबाट पीडित भए ।

*******

सोही शोक–सभामा केदारनाथले लेखेका नेपालभाषाका रचनाहरू बटुली पुस्तक निकाल्ने निर्णय भएको थियो । तर त्यो बल्ल सम्भव भयो, ४६ वर्षपछि !

त्यस्तै २०४२ सालमा ‘श्रृंखला’ साहित्यिक पत्रिकाले केदारनाथ न्यौपानेको ५८ औं जन्मजयन्तीको आयोजना गर्दै विशेषाङ्क निकालेको थियो । सो पत्रिकामा नेपाली र नेपालभाषाका ३९ जना दिग्गज साहित्यिकहरूका केदारनाथसितको संस्मरण समेटिएका छन् । सोही पत्रिकाको अन्त्यमा दिइएको सूचिअनुसार उनले आफ्नो जीवनकालमा नेपाली भाषामा ३६ वटा रचनाहरू, नेपालभाषामा १३ र अँग्रेजीमा दुइ रचना प्रकाशित गर्न भ्याएको देखिन्छ ।

(आर. मानन्धर नेपालभाषाका लेखक हुनुका साथै दुर्गालाल श्रेष्ठको जीवनीकार र कृतित्वका शोधार्थी पनि हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप