शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा उपनिर्वाचन :  काभ्रे नाकासम्म सवारी प्रवेशमा रोक

शुक्रबार, १३ मङ्सिर २०७६, २२ : १८
शुक्रबार, १३ मङ्सिर २०७६

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेश (क)मा भोलि हुने उपनिर्वाचनको दिन पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज विज्ञप्तिमार्फत भोलि हुने उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी आज राति १२ देखि भोलि १४ गते राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको छ । 

एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक खण्डबाट उत्तरतर्फ जाने सम्पूर्ण सडकमा सवारी प्रवेश निषेध गरेको छ । 

त्यस्तै राधेराधे चोकबाट निकोसेरा चोकसम्मका सडक र उक्त सडक खण्डबाट पूर्वतर्फ जाने सम्पूर्ण सडक, पेप्सिकोला मनोहरादेखि निकोसेरा सडकबाट उत्तरतर्फ जाने सम्पूर्ण सडक, काठमाडौँबाट भक्तपुर आउने पेप्सिकोला मनोहरा तथा जडीबुटी मनोहरा नाका बाहेकका सम्पूर्ण नाका र काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पूर्ण नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएको उनले जानकारी दिए ।

केही घटना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने 
प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज उपनिर्वाचनको तयारीबारे जानकारी दिदै मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको बताए । आवश्यकता अनुसार सुरक्षाकर्मी थप गर्न सक्ने उनको भनाइ थियो । सादा पोशाकमासमेत सुरक्षाकर्मी परिचालन हुनेछन् ।  शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घटना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने बताए ।

उपनिर्वाचनका लागि ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी १९ जना चुनावी मैदानमा रहेका छन् । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा कूल २२ मतदान स्थल र ५४ मतदान केन्द्र छन् भने कूल ४५ हजार १५ मतदाता रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप