सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कास्कीका काँग्रेस उम्मेदवारले मतदान गर्न नपाउने, यी मन्त्रीले पनि गर्दैछन् उपनिर्वाचनमा मतदान

शुक्रबार, १३ मङ्सिर २०७६, १९ : ००
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । शनिवार हुने उपनिर्वाचनमा मतदानका लागि मतदाता उत्साहित भइरहेका बेला कास्की २ का काँग्रेस उम्मेदवार खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् ।

 उनको घर तथा मतदाता नामावली कास्की क्षेत्र नम्बर ३ मा पर्ने भएका कारण उनी आफैले भने मतदान गर्न नपाउने हुन् । तर उनका प्रतिस्पर्धी नेकपा उम्मेद्वार विद्या भट्टराईले भने मतदान गर्न पाउनेछिन् । 
३७ जिल्लाका ४८ स्थानीय तह, ३ प्रदेशसभा र १ प्रतिनिधिसभा क्षेत्रमा शनिवार हुने निर्वाचनमा केही मन्त्रीले पनि मतदान गर्दैछन् । यसरी मतदान गर्नेमा पाँचथर क्षेत्र नम्बर १ का सांसद एवम् भौतिक पूर्वाधारमन्त्री वसन्त कुमार नेम्वाङ छन् । 

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदान गर्नका लागि नेम्वाङ बिहीबार बेलुका घर पुगिसेका छन् ।

 अहिले उनी जिल्लाका नेता, कार्यकर्ता तथा आफन्त भेटघाटमा व्यस्त रहेका छन् । शनिवार बिहान मतदान गरेर काठमाडौं फर्किने उनको कार्यक्रम छ । गत साउन ७ गते नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित ७७ वर्षीय हर्क मोक्तानको मृत्यु भएपछि सो वडामा पुनः निर्वाचन हुन लागेको हो । 

यस्तै खानेपानी मन्त्री बिना मगरले पनि उपनिर्वाचनमा मतदान गर्नेछिन् । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा हुने उपनिर्वाचनमा मतदान गर्न उनी जिल्ला पुगिसकेकी छिन् । पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुखमा निर्वाचित भएपछि सो वडाको प्रमुख पद खाली हुँदा उपनिर्वाचन हुन लागेको हो । मतदान गरेर शनिबार नै काठमाडौं फर्कने मन्त्री मगरको योजना छ । 
यी हुन् उपनिर्वाचन हुने स्थान 
यो उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्पm कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्यतर्पm भक्तपुर क्षेत्र नं. १ को १, बागलुङ क्षेत्र नं. २ को २, दाङ जिल्लाको क्षेत्र नं. ३ को २ गरी प्रदेश सभा सदस्यतर्पm–३ जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१ जना, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ जना र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाअध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । 

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्पm ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ । आठसय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३३७ छन् भने आठसय भन्दा कम मतदाता रहेका केन्द्र दुई सय छन् । 

यो उपनिर्वाचनमा ३७ जिल्लाका महिला २,३३,४०२, पुरुष २,२०,७१० र अन्य २ जना गरी जम्मा ४,५४,११४ जना मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् । प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१,८७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५,०१५ जना, ३५,१८४ जना र ६८,७१९ जना गरी २,२०,७८९ मतदाता कायम भएका छन् । यसैगरी स्थानीय तहतर्पm २,३३,३२५ जना मतदाताहरू रहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४ पश्चात् उपनिर्वाचन हुने क्षेत्रमा १६,२१९ जना नयाँ मतदाता थप भएका छन् ।

यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११ वटा, प्रदेश सभा सदस्यतर्फ १५ वटा र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भएका छन् । उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा ३३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेकोमा २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् । प्रतिनिधि सभातर्पm राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेश सभा सदस्यतर्पm राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्पm राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्मा २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप