सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सागका लागि १८ हजार सुरक्षाकर्मी तैनाथ, ८९ वटा होटल बुकिङ

शुक्रबार, १३ मङ्सिर २०७६, १३ : २९
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार पारिएको छ ।

आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि साग खेलको लागि आउने विदेशी पाहुना र खेलाडीको बसोबासदेखि आवश्यक सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । 

खेल मैदानमा हुनसक्ने सम्भावित हुलदङ्गाका साथै होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ । पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ । 

प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् । 

राखेपका अनुसार साग खेल ३० ठाउँमा खेलाइनेछ । जसमध्ये काठमाडौंमा १२, ललितपुरमा ९, पोखरामा ८ र जनकपुरमा १ ठाउँमा गरेर ३० ठाउँमा सञ्चालन हुनेछ । 

साग खेलमा अफिसियल, प्रशिक्षक र निर्णायकहरु गरेर ५५ सयभन्दा बढी उपस्थित हुनेछन् । यस्तै विदेशी पाहुनाहरुको लागि मध्यनजर गर्दै काठमाडौँका ३१, ललितपुरका १२, जनकपुरका ३ र पोखराका ४३ होटल समेत बुकिङ गरिएको छ । 

शुक्रबार रातोपाटीसँग कुराकानी गर्दै प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । 

‘सागमा अवाञ्छनीय गतिविधि हुन दिने छैनौँ । सागलाई सुरक्षित रुपमा अवतरण गर्न भीभीआईपी, भीआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा रत्तिभर कमी हुने छैन’, उनले भने, ‘विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिनेछ ।’ 

१३औं सागको सम्पूर्ण तयारी पूरा राखेपले बिहीबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ । 

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने बताएका थिए । 

सागको सुरक्षाका लागि विमानस्थल देखिनै विशेष तयारी गरिएको पनि खनालको भनाइ छ ।  उनले खेलाडी र पाहुनाका लागि विमानस्थल, समारोह र खेल स्थल, आवास, सपिङ मल, सवारी मार्ग, पार्किङ स्थलमा समेत विशेष सुरक्षा गरिने बताए । भिभिआईपी पाहुनाका लागि आवश्यकताअनुसार कारगेटको ब्यवस्था गरिएको छ । विभिन्न कारणले सुरक्षाको मुख्य चुनौती रहेको पाकिस्तान र भारतीय खेलाडीलाई विशेष निगरानीका राखिने पनि बताइएको छ । 

सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरिएको छ । मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाली चलाउन आग्रह पनि ट्राफिक प्रहरीले गरेको छ ।

 सागको उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ । दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप