बालिका अपहरणको प्रयास गर्ने भारतीय नागरिक जेल चलान
सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् ।
मामाघरका परिवारका सदस्यहरु श्रद्धा पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयवासीले आरोपितहरुलाई नियन्त्रणमा लिएका हुन् ।
आरोपितहरुको साथबाट प्लाष्टिकको तीन बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताए । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरुसँग गएको बालिकाले बताए । बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?