शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको बेलगाम बोली : विश्वप्रकाशमाथि ‘ड्यामेज कन्ट्रोल’ को भार !

शुक्रबार, १३ मङ्सिर २०७६, ०९ : २४
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । कुनै बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘राष्ट्रिय एकताबारे सङ्कुचित र हलुका टिप्पणी गर्ने’ नेताको संज्ञा दिएका थिए । प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकाल सम्पन्न गरी बिदा हुँदै गर्दा ०७४ चैत ४ गते वाम गठबन्धनका तर्फबाट नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हाल्न लागेका ओलीप्रति देउवाले यस्तो टिप्पाणी गरेका थिए ।

‘लोकतन्त्रलाई आस्था नभइ साधनको रुपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे सङ्कुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्दछ,’ त्यतिबेला देउवाले भनेका थिए ।

ओलीलाई हलुका टिप्पणी गर्ने नेताका रुपमा चित्रित गर्ने देउवाको बोलीमा पनि आजभोलि कुनै ‘ओज’ भेटिँदैन । जसको उदाहरणका लागि देउवाका दुई वटा अभिव्यक्ति नै काफी छन् ।

गत आम निर्वाचनका क्रममा ज्योतिषिले आफू सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको देउवाले अभिव्यक्ति दिएका थिए । ओलीले ‘नेपाली काँग्रेसको तर्फबाट देउवा अन्तिम प्रधानमन्त्री’ भनेको विषयलाई कटाक्ष गर्दै देउवाले कैलालीको धनगढीमा भनेका थिए, ‘ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधामन्त्री बन्ने हो ।’

यस्तै, उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका सिलसिलामा मंसिर ७ गते कास्की–२ पोखराबाट देउवाले अर्को ‘हावादारी’ टिप्पणी गरे । नेपाल विद्यार्थी संघका नेताले गर्ने भाषण देउवाले गरेको भन्दै पार्टीभित्रबाट आलोचना खेप्नु पर्यो ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको आरोप लगाएका थिए । पोखरा महानगरपालिका–१६ मा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको सहमतिबेगर भारतले लिपुलेक र कालापानीमा दाबी गर्न नसक्ने जिकिर गरेका थिए । उनले प्रधानमन्त्री ओलीले लिपुलेक र कालापानी भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गर्दै लम्पसारवादमा परिणत भएको आरोपसमेत लगाए ।

देउवाको बोलीमा प्रवक्ताको प्रतिरक्षा !

काँग्रेसमा पछिल्लो समय सभापति देउवाले हलुका टिप्पणी गर्दै जाने र त्यसलाई प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिरक्षा गर्ने अवस्था बनेको छ । देउवाले बोलीमा लगाम लगाउन नसक्दा काँग्रेस विश्वासहीनताको स्थितिमा धकेलिँदै गएको देखिन्छ ।

सभापति देउवाले प्रधानमन्त्री ओलीमाथि कालापानी प्रकरणमा लगाएको आरोपको चौतर्फी आलोचना भएपछि प्रवक्ता विश्वप्रकाश शर्माले केही परिमार्जनसहित बचाउमा उत्रिनु प-यो ।

कालापानीको विषयमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग टेलिफोन कुराकानी गरेको विषयलाई देउवाले पार्टीको लेटरप्याड राखेर प्रवक्तामार्फत् विज्ञप्तिमा उल्लेख गर्न लगाएको विषयले पनि काँग्रेसभित्र तरङ्ग ल्याएको थियो ।

प्रधानमन्त्री भइसकेका नेताले भारतीय राजदूतसँग गरेको टेलिफोन कुराकानी गरेको विषय औपचारिक लेटरप्याडमा राखेर उल्लेख गर्नुमा देउवासँग शर्माको पनि अपरिपक्वता प्रकट भएको काँग्रेसभित्र आवाज उठ्यो ।

आलम प्रकरणमा पनि ब्याकफायर

देउवा काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सांसद महोहम्मद अफताब आलम पक्राउको विरोधमा उत्रिए ।

कात्तिक पहिलो साता भक्तपुरमा भएको पार्टीको प्रदेश ३ का महाधिवेशन प्रतिनिधिको प्रशिक्षण क्रममा देउवाले आलमको बचाउ गर्दै सरकारमाथि प्रश्न उठाए, ‘१२ वर्ष अघिको घटना ब्युँताएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यतिबेला के हेरेर बसेको?’

देउवाको उक्त अभिव्यक्तिको चौतर्फिक चर्को विरोध भयो । त्यसपछि पार्टी प्रवक्ता शर्माको सुझावमा देउवा स्वयम्ले विज्ञप्ति निकालेर बचाउ गर्दै भने, ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा वाधा पुग्छ । १२ वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ । नेपाली काँग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

विप्लव प्रकरणमा पनि चिप्लिए

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई देउवाले स्वागत गरे । विराटनगरमा देउवाले जनतामा त्रास सिर्जना गर्ने कार्यमा विप्लव नेतृत्वको नेकपा उद्दत रहेकाले प्रतिबन्ध लगाउनु उचित भएको टिप्पणी गरेका थिए । देउवाले एक साता नपुग्दै विप्लव नेतृत्वको नेकपामाथि सरकार लिएको निर्णयको विरोध गरे ।

देउवाको परस्पर विरोधी विचार आएपछि त्यसले पार्टीको आधिकारिक धारणामाथि प्रश्न उठेको थियो । पछि देउवाको बचाउ गरेर प्रवक्ता शर्माले ‘अस्पष्टता र भ्रम निवारणार्थ’ भन्दै प्रेस विज्ञप्ति निकालेका थिए । देउवाले दोस्रो अभिव्यक्तिलाई स्पष्ट पार्दै शर्माले विज्ञप्तिमार्फत ‘निषेधले होइन वार्ताले समाधान’ हुने धारणाअघि सारे ।

संविधान संशोधन प्रकरण

प्रधानमन्त्रीको चौथो कार्यकालमा भारत भ्रमणका क्रममा देउवाले लिखित भाषणमा नरहेको संविधान संशोधनको प्रसङ्गअघि सारेपछि दिल्लीदेखि काठमाडौँसम्म तरङ्ग पैदा भएको थियो । त्यतिबेला देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामू भनेका थिए, ‘यहाँले उल्लेख गरेजस्तै संविधान कार्यन्वयन गर्ने क्रममा केही मुद्दाहरू अझै अल्झिरहेका छन् । हामी चाहन्छौँ, हाम्रो संविधान स्वीकार्य र संशोधन होस्, जसले गर्दा सबै क्षेत्रका मानिस, दक्षिणमा बस्ने, राजपा र अन्य जातीय समुदाय चुनावमा सहभागी हुन सकून् । धन्यवाद भगवान, उहाँहरू चुनावमा जान सहमत भइसक्नु भएको छ । तर पनि हामी संविधान संशोधनमा प्रयासरत रहनेछौँ, जसले संविधान सर्वस्वीकार्य हुनेछ ।’

देउवा यतिमै रोकिएनन्, ‘हामीले संसदमा दुई तिहाई मत हासिल गर्न सकेनौँ र संविधान संशोधन गर्न सकेनौँ । मलाई लाग्छ, भविष्यमा हामीले दुई तिहाई मत ल्याउनेछौँ र संविधान संशोधन गर्न सक्नेछौँ, जसले उत्तरी र दक्षिणी भेगका, पूर्व–पश्चिम सबैतिरका नागरिकले संविधान स्वीकार गर्नेछन् ।’ देउवाको उक्त अभिव्यक्तिप्रति त्यो बेलाको सत्तासाझेदार माओवादी केन्द्रले समेत विमति प्रकट गरेका थियो ।

यता, पार्टी कार्यकर्तादेखि प्रश्नकर्तासँग देखाउने व्यवहारले पनि देउवाको बेलाबेला आलोचना भइरहेको हुन्छ । एक कार्यक्रममा दर्शकले प्रश्न सोधेकै कारण जङ्गिएका देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेपछि उनी ट्रोलको पात्र नै बनेका थिए ।

देउवाको हलुका र जिम्मेवारहीन अभिव्यक्तिले उनको व्यक्तित्वमाथि नै बेलाबेला प्रश्न उठ्ने गरेको छ । २०७४ पुस २६ गते शर्मा प्रवक्तामा मनोनित भएपछि भने देउवाको विवादित अभिव्यक्ति छोटो समयमा मथ्थर पार्ने प्रयास हुने गरेको छ । कुनै घटना र सन्दर्भमा देउवाको अभिव्यक्ति आम रुचिको विषयभन्दा बाहिर बन्न पुग्यो भने शर्माले तत्काल संशोधनसहित प्रतिक्रिया जनाउन जनाउने गरेका छन् ।

शर्मामाथि देउवाको भरोसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सैनिकको दलबलसहित नेपाल भ्रमणमा आउँदा शर्माले ट्विट गर्दै ‘भारतीय प्रधानमन्त्रीसँगै सैनिक पनि आउने यो ओलीको कस्तो राष्ट्रवाद’ भन्दै व्यङ्ग्य गरे । उनको यो ट्विटमा पनि पार्टीका केही नेताले असन्तुष्टि जनाए । तर, पछि ओली सरकार लम्पसारवादी हो भनेर सभापति देउवाले नै बोले । त्यसपछि जनकपुर–जयनगर रेलको उद्घाटन गर्न भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ल्याउने तयारी गरेपछि प्रवक्ता शर्माले पत्रकार सम्मेलन गर्दै विमति प्रकट गरेका थिए ।

प्रवक्ताले यसरी बोल्दा भारतसँग सम्बन्ध बिग्रने भन्दै सभापति निकटकै केही व्यक्तिले उनलाई हटाउनुपर्ने प्रस्तावसमेत देउवासम्म पुर्याएका थिए । तर, देउवाले शर्माको विषयमा कुनै कदम चालेनन् । सबैले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु पर्ने भन्दै शर्माले आफ्न क्षमता र विवेकले भ्याएसम्म राम्रो गर्ने कोशिस गरिरहेको बताए ।

काँग्रेसका एक केन्द्रीय सदस्यले देउवाले कुनै विषयमा टिप्पणी गर्दा ‘ढङ्ग’ नपुर्याउँदा विरोध हुने गरेको बताए । ती केन्द्रीय सदस्यले भने, ‘सभापतिजीले बोल्दा त्यति ढङ्ग पुर्याउनु हुँदैन । जसले विवाद सृजना गर्छ । समकालीन राजनीतिमा चलेको महत्त्वपूर्ण घटनाको हेक्का राख्न सकेको देखिँदैन ।’

पछिल्लो समयमा देउवाले पोखरामा दिएको अभिव्यक्तिप्रति ती नेताले पनि विमति प्रकट गरे । ‘नेपालमा अहिले लोकतन्त्रमाथि सङ्कटको कुरा छ । संघीयता अलपत्र परेको छ । त्यसको सञ्चालन पद्धति केन्द्रिकृत बन्न पुगेको छ । उपनिर्वाचनमा सरकारमाथि हमला गर्न यी विषय नै पूर्ण छन् । उहाँले बिना आधार राष्ट्रियताको विषयमा बोल्न नहुने कुरा बोल्नुभयो ।’

प्रतिपक्षी नेताका हैसियतले देशका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने प्रामाणिक क्षमता देखाउने भन्दा पनि देउवा प्रचारमुखी कुरामा लागेको ती नेता बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप