शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घाटा बेहोरेर भए पनि कर्णाली प्रदेशमा नियमित उडान

तत्कालिन तयारी भ्रमण वर्षको, लक्ष्य निरन्तरताको
शुक्रबार, १३ मङ्सिर २०७६, ०८ : ४७
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । आन्तरिक उडानतर्फ कर्णाली प्रदेशमा अब नियमित उडान हुने भएको छ । कर्णाली प्रदेशका १० जिल्लाका ५ विमानस्थलहरुमा कम्तिमा हप्ताको चार दिन उडान भर्ने गरी कर्णाली प्रदेश सरकार र नेपाल वायुसेवा निगम तथा तीन निजी वायुसेवा कम्पनीहरुबीच सहमति जुटेको हो ।

लो–अकुपेन्सी(कम यात्रु)को घाटा आफैले वेहोरेर भएपनि प्रदेशमा नियमित उडान भराइ छाड्ने प्रदेश सरकारको नीति छ । यसका लागि प्रदेश सरकारले निजी तथा सरकारी वायुसेवा कम्पनीहरुसँग गृहकार्य गरिरहेको छ ।

यसअघि आन्तरिक उडानतर्फ अधिकांश कम्पनीहरुले पश्चिम क्षेत्रका लागि नेपालगञ्जमा उडान भर्दै आइरहेका छन् । बुद्ध एयर, समिट एयर, सीता एयर तारा एयर लगाएतका निजी कम्पनीहरुले यस क्षेत्रमा उडान भर्दै आइरहेका छन् । लागतका हिसाबले र यात्रुका हिसाबले नेपालगञ्ज नै फाइदा भएकाले निजी कम्पनीहरु सुर्खेत भन्दा नेपालगञ्जतर्फ आकर्षित छन् । कर्णाली प्रदेशको सुर्खेतमा बुद्ध एयरले मात्र उडान भर्दै आइरहेको छ । तर अफसिजनमा भने प्रदेशको मुख्य केन्द्र राजधानी सुर्खेतमा फ्लाइटको चाप बढ्ने गरेको छ । 

अहिलेको सहमती राजधानी सुर्खेतदेखि प्रदेशका विभिन्न स्थानीय विमानस्थलहरुमा नियमित उडान भर्ने रहेको प्रदेश संस्कृती तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले रातोपाटीलाई जानकारी दिए ।

‘प्रदेशका सबै विमानस्थलहरुमा नियमित उडान हुनुपर्छ,’ मन्त्री बुढाले भने, ‘अब उडानको लो–अकुपेन्सी(यात्रु कम) घाटा पुर्ति प्रदेश सरकारले गर्छ ।’

मन्त्री बुढाका अनुसार सुर्खेतदेखि प्रदेशका विभिन्न क्षेत्रमा उडान भर्ने जहाजको सिट फुल नभए प्रदेश सरकारले खाली सिटको क्षतिभरण गर्नेछ । अहिले प्रदेशमा सिजनमा उडान नपाउने र अफ सिजनमा जहाजहरु प्रदेश राजधानीमा थुप्रिने गरेका छन् । मन्त्री बुढाकै अनुसार अहिले राजधानी सुर्खेतमा जहाज अटाइ नअटाई पाकिङ्ग हुने गरेका छन् । तर अन्य विमानस्थलहरु भने रित्तै रहन्छन् ।

के भन्छन् विमान कम्पनीहरु ?

यात्रुको चाप र लागतका हिसाबले सुर्खेतभन्दा नेपालगञ्ज बढी उपयोगी भएकाले कर्णाली प्रदेशको उडान कम भएको निजी वायुसेवा कम्पनीहरुको भनाइ छ ।

यात्रुनै नपाउने हुँदा लागत बढि भएकाले सुर्खेतमा कम उडान हुने गरेको समिट एयरलाइन्सका मार्केटिङ हेड मञ्जरी श्रेष्ठले बताइन् ।

‘सुर्खेतमा भन्दा नेपालगञ्जमा यात्रुको चाप छ । र, हवाइ भाडा पनि नेपालगञ्जकै सस्तो छ । यसले गर्दा सुर्खेतमा कमै कम्पनीले उडान भर्छन्,’ श्रेष्ठले भनिन्, ‘अहिले सुर्खेत बुद्ध एयरले मात्र उडान भरिरहेको अवस्था हो । त्यहाँको भाडा महङ्गो छ ।’

श्रेष्ठका अनुसार कर्णाली प्रदेशको अन्य विमानस्थलहरुमा पनि नेपालगञ्जबाटै उडान हुने गरेको छ । तर त्यो पनि यात्रुको चाप र माग अनुसार मात्रै उडान हुन्छ । तर अहिले प्रदेश सरकारले नियमित उडानका लागि लबिङ्ग गरिरहेकाले कसरी जान सकिन्छ भनेर अन्य निजी कम्पनीहरुसँग छलफल भइरहेको उनले बताइन् । अबको एक हप्तासम्ममा सहमति निर्णयमा पुग्ने उनको भनाइ छ ।

यता, तारा एयर लाइन्सले भने कर्णाली प्रदेशमा उडानमा समस्या नभएको बताएको छ । अहिले पनि ताराका उडानहरु कर्णालीका सबै जसो जिल्लामा उडान भइरहेका छन् । तर, प्रदेश राजधानी सुर्खेतबाट नभएर प्रदेश ५ को नेपालगञ्जबाट हुने गरेको यती एयर लाइन्सका प्रवक्ता भीमराज राईले बताए ।

‘आजको दिनसम्म कर्णाली प्रदेशमा धेरै सेवा दिने एयरलाइन्स् तारा एयर हो । कर्णालीको सबै एयरपोर्टहरुमा ताराले सेवा दिएको छ,’ प्रवक्ता राईले भने, ‘अहिलेको प्रदेशको माग भनेको राजधानी सुर्खेतबाट उडान हुनुपर्ने भन्ने हो । लोड भए हामी तयार छौँ ।’

राईका अनुसार नेपालगञ्जबाट यात्रुहरु पाउने र कार्गो(सामान) हरु पनि पाइने हुँदा उताबाट फ्लाइट धेरै हुने गरेको छ । आजको दिनमा नेपालगञ्जबाटै कर्णालीका जिल्लाहरुमा फ्लाइट हुँदै आएको छ । तर कर्णालीका लागि फाइदाका हिसाबले नेपालगञ्जबाट भन्दा सुर्खेतबाट १२–१३ मिनटनै छिटो हुने उनको भनाइ छ ।

अहिले सुर्खेतमा लो–अकुपेन्सीका कारण फ्लाइटमा समस्या छ । तर प्रदेश सरकारले सिट फुल नभए क्षतिभरण गर्ने प्रतिबद्धता जनाएको छ । यसमा गृहकार्य भइरहेको राईले बताए ।

‘केहि दिनका लागि सुर्खेतबाट फ्लाइट गर्छौँ । त्यसको अवस्था हेरेर रणनीति बनाउछौँ । राइले भने, ‘अबको एक हप्तामा के गर्ने हो सोको निर्णय दिइसक्छौँ ।’

तत्कालिन तयारी भ्रमण वर्षको, लक्ष्य निरन्तरताको

राजधानी सुर्खेतदेखि प्रदेशको विभिन्न जिल्लामा निरन्तर उडान नभइरहेको अवस्थामा प्रदेश सरकारले भ्रमण वर्ष २०२० लाई मुख्य लक्ष्य गरेको छ । भ्रमण वर्ष २०२० लाई निउ पारेर प्रदेशमा नियमित उडान गराउने दाउमा छ । त्यसो त भ्रमण वर्ष सफल पार्नकै लागि भने पनि कर्णाली प्रदेशमा नियमित उडान अनिवार्य छ ।

भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेशले न्यूनतम एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सडक पूर्वाधारको अवस्था अत्यन्त कमजोर रहेको प्रदेशमा एक मात्र विकल्प हवाई सेवा नै हो । त्यसैले पनि प्रदेश सरकार लो–अकुपेन्सीको घाटा वेहोरेर भएपनि प्रदेशमा नियमित उडान भराउने नीतिमा छ ।

अहिले प्रदेशवासीहरुकै लागि राजधानी आवतजवतमा समस्या छ । प्रशासनिक कामका लागि ३–४ दिन खर्च गर्नु पर्ने अवस्था छ । ‘यस्तो अवस्थामा बाहिरबाट कसरी पर्यटक भित्रिन्छन् ?,’ प्रदेश पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, ‘हामीले पर्यटकको सहताका लागि भने पनि प्रदेशमा नियमित उडान गराउनुपर्छ । यो हाम्रो मात्र नभएर केन्द्र सरकारको समेत चासोको विषय हो ।’

कर्णाली प्रदेशमा अपेक्षित एक लाख पर्यटक भित्र्याउन सहज उडान अनिवार्य भएको भ्रमण वर्ष २०२० का कर्णाली प्रदेशका संयोजक राजु कार्की बताउँछन् । प्रदेशले लगानी गरेर भएपनि प्रदेशका पर्यटकीय गन्तव्यहरुमा नियमित हवाई उडान गराउनु पर्ने उनको भनाइ छ ।

‘अहिलेकै अवस्थामा प्रदेशमा एक लाख पर्यटक भित्रिने अवस्था छैन । त्यसका लागि प्रदेशले पहिलो प्राथमिकता पर्यटकमैत्री वातावरण तयार गर्नेतर्फ दिनुपर्छ,’ संयोजक कार्कीले भने, त्यसको एउटै विकल्प हो प्रदेशको हवाई सेवा । प्रदेशमा नियमित उडान हुने हो र सहज वातावरण हुने हो भने एक लाख मात्र होइन त्योभन्दा बढी प्रदेशले पर्यटक पाउँछ ।’

पर्यटन प्रबद्र्धनकै लागि प्रदेशभित्रका पर्यटन व्यवसायीहरु समेत एकमत भएका छन् । अहिले प्रदेश भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान प्रबद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारदेखि स्थानीय तह र प्रदेश भित्रका व्यवसायीहरु लागि परेका छन् । अझ भ्रमण वर्षको प्रभावकारीताका लागि प्रदेशले विभिन्न समिति उपसमित बनाएर जिम्मेवारी बाडफाड गरेर अघि बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप