बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नारी स्वतन्त्रताको प्रश्न

बिहीबार, १२ मङ्सिर २०७६, २० : ५६
बिहीबार, १२ मङ्सिर २०७६

देवी काफ्ले

हाम्रो समाजमा नारीलाई पुरुषका सम्पत्ति ठान्ने सोच अद्यपि छ । नारी पुरुषका लागि मात्र हो, आफैमा ऊ अपूर्ण हुन्छे भन्ने सोचले ग्रस्त छ हाम्रो समाज । तसर्थ उनीहरुको स्वतन्त्रताको बहस कुइराको काग जस्तै भएको छ । 

जन्मेदेखि बाबुको अधिन, दाजुभाइको अधिन, युवावस्थामा प्रेमीको अधिन, बिहेपछि लोग्नेको अधिन, छोरा जन्मेपछि छोराको अधिनमा हुन्छन् । अर्थात नारीको जिन्दगीको दोस्रो नामै अधिन जस्तो भएको छ, त्यो पनि पुरुषको । अब नारी स्वतन्त्र कहिले त ? कहिलेसम्म ऊ पुरुष शासित समाजको, पुरुषको सम्पत्ति बनेर रहनुपर्ने हो ? जवाफ कसैसँग छैन । 

महिला पुरुषको खेलौनाझैँ ठानिएका छन् । उनीहरूलाई खुसी पार्नु उसको दायित्व हो । जुनसुकै रूपमा पनि महिलाले पुरुषलाई खुसी पार्नु या उनीहरूको मन बहलाउनुपर्छ नै भन्ने मान्यता सब्दियौँदेखि चलेको रीत हो । 

प्रत्यक्ष रूपमा नभए अप्रत्यक्ष रूपमा अथवा एक कामुक महिला हरेक पुरुषको इर्दगिर्द मडारिएको हुनुपर्ने मान्यता राखेर होला उन्नाइसौँ शताब्दीमा आजको जस्तो सुन्दरी प्रतियोगिता हुँदैनथ्यो । तर तैलिय चित्र बनाइन्थे, मूर्ति बनाइन्थे र त्यहाँ प्रष्ट कामुकता झल्काइन्थ्यो । ती मूर्ति हेर्यौं भने उनीहरूलाई कामुकताको प्रदर्शन गराए जसरी प्रस्तुत गरिन्थे । त्यस्ता चित्र, मूर्ति अहिले पनि प्रशस्त देख्न पाइन्छन् । 


नारी असाध्य सुन्दरी हुनुपर्ने, चटक्क मिलेको जिउडाल, घाँटी, छाती, नितम्ब, खुट्टा, आँखा, ओठ सबै मापदण्डअनुसार हुनुपर्ने नत्र पुरुषका लागि कुरूप ठहरिन्थ्यो । अनि छिःछिः र दूरदूरको व्यवहारबाट उन्मुक्ति पाउन र सबैले राम्री, सुन्दरी भनेको सुन्न लालायित छन् । त्यही लालसाले बजारका महँगा सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरताको बजारमा मोलिन महिला तँछाडमछाड गरिरहेका छन् । तिनै प्रसाधनका कारण कुनै घातक रोगको शिकार बन्नुपरे पनि पुरुषको अगाडि कृत्रिम सुन्दरी बनि नै दिनुपर्छ । तर पुरुषले उसका लागि जतिसुकै महिलाले त्याग गरेकी भए पनि उसैको मातहतमा रहनुपर्छ । पुरुषभन्दा एक कदम पनि अगाडि जान महिलाले छुट पाउनु हुन्न भन्ने सोच्छन् । 

आजको हाम्रो समाजमा बलात्कार जस्ता जघन्य अपराध विकराल परिस्थितिको रूप पनि कतै पुरुषवादी सोचको पराकाष्टा त होइन ? घटनाले त त्यस्तै प्रवृत्ति देखाउँछन् । जब एउटी नवयौवना या बालिका बलात्कृत हुन्छे उसले न्याय खोज्न परिवारबाटै सुरु गर्छे । परिवारले नै इज्जतको दुहाई दिएर रोक्न खोज्छ । किनकि बलात्कृत महिलालाई समाजले घृणा गर्छ, स्वीकार्दैन र दोस्रो पुरुषले बिहे गर्दैन ।

इज्जत नामको हत्कडीले बाँधेर चुप लगाउन खोजिन्छ । न्यायका लागि परिवारबाट घटना बाहिरियो भने समाजका सम्भ्रान्तहरूले पुरुषकै बचावट गर्छन् । स्वास्नी मानिस किन उत्ताउली भएर हिँडेको ? किन परपुरुषसँग बोलेको ? खुब मस्की होला ऊ बेला अहिले हुलहुज्जत गरेर हुन्छ ? इज्जत त आइमाईकै जान्छ, चुपचाप बस भन्ने आदेश दिन्छन् । बढी नै गरे भने महिलाको इज्जतको क्रयविक्रय हुन्छ अर्थात् पैसा दिएर चुप गराइन्छ ।

समाजको निर्णयमा चित्त नबुझेपछि पुलिसकहाँ गईभने अझ ठूलो बलात्कारमा पर्छे । त्यहाँ पनि न्याय गर्न तिनै समाजका ठेकेदार पुग्छन् र भन्छन् इज्जत जाने आइमाईको हो । केही न केही गडबडी ऊबाट नभई पुरुष जाइलाग्दैन । त्यसैले मिलापत्र गर भन्छन् । त्यहाँ पनि निर्णय पुरुषबाटै हुन्छ । अपराधीलाई पछ्यौरी ओढाएर ससम्मान लिएर हिँड्छन् । पीडितालाई तिनै न्यायमूर्ति बनेकाले गिद्दे नजर लगाउँछन् । 
यदि पीडिता न्यायका लागि अदालत गई भने त्यहाँ त झनै पुरुष वकिलहरूबाट चिराचिरा पारेर शाब्दिक चिर हरण गर्छन् ।

लाग्छ त्योबेला ती वकिलहरू एउटी बालिकाको शरीरमाथि स्वर्गीय आनन्द लुट्दै छन् । कठघरामा सोधिने प्रश्नहरूले जुनसुकै महिलाको चिर हरण हुन्छ । यस्ता घटना प्रायः भारतमा हुने गर्छ । पुरुषबाट हुने यस्ता घटनाले र बलात्कारका केसहरू ज्यादा पुरुष वकिलले हेर्ने हुनाले पनि होला महिलाले न्याय हैन आफ्नो अन्तरआत्मा मार्छे । अन्ततः केही महिला आत्महत्या गर्न बाध्य हुन्छन् । उनीहरूलाई समाजले व्यभिचारी र कुलङ्गार्नीको उपमा दिन्छ । एकपल्ट बलात्कृत भइसकेकी हो अब के फरक पर्छ र हामीलाई पनि चान्स दे भन्ने दुष्टात्माको कमी हुँदैन । 

बलात्कार किन हुन्छ ?

मानिसमा मानवीयता र उसको मतीभ्रष्ट भएका बेला यस्ता कृत्य गर्न अग्रसर हुने गर्छ । यसबेला उसको मानवीय संवेदना मरेको हुन्छ । त्यस्ताबेला आपराधिक मनोवृत्ति बढेको हुन्छ र उसले यस्ता कार्य गर्छ । सामान्य अवस्थामा त त्यस्ता दुव्र्यवहार सोचेको हुँदैन । जो भए पनि एउटी नारी उसले स्त्री मात्रै देख्छ र आफ्नो यौन प्यास मेटाउने प्रयत्न गर्छ । यसबेला उसले सामाजिक दायरा र नैतिकता बिर्सन्छ । फलतः स्त्री जाति माथि जाइलाग्छ । यस्तो हुँदा पनि इज्जत पीडित स्त्रीको नै जान्छ, जसको अस्मिता जबरजस्ती लुटिन्छ । त्यो अपराधी पुरुषको इज्जत त झन माथि पो उकासिन्छ । यस्तो व्यभिचारी पुरुषको इज्जत किनm जाँदैन ? किन मानिस महिलाको मात्रै थाप्लोमा इज्जतको भार बोकाउन चाहान्छ ?

अझै पनि पुरुषलाई नै सर्वैसर्वा गराउन लागिरहेका छौँ । किन ? बलात्कारको पाटो त छुट्टै भयो । अर्को यो पुरुष अधिनस्थ महिलाहरूको पनि पुरुषलाई पुरुष बनाउन कम हात छैन । ती महिलाले आफूलाई त्यतिबेला स्वतन्त्र ठान्छिन् जब उसको पतिले या प्रेमीले होटलमा खान लैजान्छ, घुमाउँछ, इच्छा अनुसारका सामान किनिदिन्छ । अनि उनलाई साथीसँग खुलेर हिँड्न दिन्छ । तर महिलाले यो सोचेकी हुँदैनन्, यस्ता कुराले आफैले कुनैबेला समस्यामा पार्छ । आफूमा भएको क्षमता र शक्ति र सामथ्र्य एउटा राम्री शब्दैमा विलय गराइदिन्छन् । हुन त जन्मैदेखि नारीहरू कोमल हृदयका हुन्छन् । 


नारी स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहन्छे । तर वास्तविक अर्थमा ऊ कहिल्यै पुरुषबाट स्वतन्त्र हुन सक्दिन । कुनै न कुनै रूपमा उसमाथि दबाब रहिरहन्छ । नारी स्वतन्त्र हुने हो भने पुरुषले गरेका अत्याचार र कुदृष्टिको खुलेर विरोध गर्थी । पुरुषले गरेका गल्तीको सजाय नारीले मात्रै भोग्नु पर्ने थिएन । गल्ती दुवैबाट हुन्छ भने सजाय पनि दुवैले भोग्नु पर्ने हो । पुरुषका क्रियाकलापका कारण नारीले अनेक लाञ्छना सहनुपर्ने थिएन । 

जुनसुकै पदीय दायित्व भएका भए पनि पुरुषले नारीलाई हेर्ने दृष्टिकोण तुच्छ छ । नातागोता, हाकिम, कारिन्दा, मन्त्री कार्यकर्ता जो भए पनि पुरुषको चाहना नारीबाट यौन सन्तुष्टि लिनै नै ठान्छ । 
उच्च तहका व्यक्तिहरूका पनि यौनकाण्डका घटना धमाधम बाहिर आइरहेका छन् । तर सबैको दृष्टिकोण नारीमै समाहित छ । सम्बन्धित महिला नै चरित्रहीन हो भन्ने ठान्छन् । महिला मात्र दोषी हो भने त्यहाँ सहभागी पुरुष किन चोखिन जान्छ ? के महिला एक्लै बेस्या हुन्छे ? पुरुषको सहभागिता बिना नै महिला कसरी बेस्या हुन्छे ?

नारी स्वतन्त्रता र हक अधिकारका विषयमा सबै छलफल गर्नुपर्छ । हरेक क्षेत्रमा उपहारका रूपमा या दान स्वरूप दिइएका आरक्षणले नारी स्वतन्त्र हुन सक्दिन । उनीहरूलाई साथ र सहयोग र हौसलाको जरुरत छ । ताकि उनीहरु आफ्नो क्षमताअनुसार अघि बढ्न सकून् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप