केन्द्रीय संस्करण
विश्व

विश्वमा वार्षिक ५० अर्ब टन बालुवाको माग, कहिलेसम्म धान्न सक्ला ?

person explore access_timeमंसिर १२, २०७६ chat_bubble_outline0

काठमाडौं । गत सेप्टेम्बरमा दक्षिण अफ्रिकामा एक व्यवसायीको गोली हानेर हत्या भयो । त्यसको एक महिना अघि भारतमा एक संघर्षमा दुई जनाको हत्या भयो । मेक्सिकोमा पर्यावरणका लागि काम गर्ने एक जनाको हत्या भयो । 

हजारौँ माइल टाढा अलग अलग स्थानमा भएका यी सबै घटनामा एउटा कुरा साझा थियो– २१ औं शताब्दीको सबैभन्दा उपयोगी वस्तुका लागि भएको संघर्षमा उनीहरु मारिएका थिए ।

२१ औं शताब्दीको सबैभन्दा उपयोगी वस्तु अर्थात् बालुवा । यसको महत्व दिन प्रतिदिन बढ्दो छ । यसको महत्वलाई जति गम्भीरतापूर्वक मानिसले बुझ्नु पर्ने हो, त्यो अझै बुझ्न नसकेको देखिन्छ । आजको परिवेशमा बालुवा निकै अहम् वस्तु भएको छ ।

आधुनिक सहर निर्माणको यो एक आधारभूत वस्तु हो । सपिङ मल, ठूला व्यापारिक भवनहरु, सडक, अस्पताल, विद्यालयजस्ता भवनमात्र होइन, झ्यालमा लगाइने सिसा, स्मार्टफोनको स्क्रिन निर्माणमा समेत बालुवा प्रयोग हुन्छ । कम्प्युटरको सिलिकन चिप वा इलेक्ट्रोनिक उपकरण निर्माणमा धेरथोर बालुवाको प्रयोग हुन्छ ।

झट्ट हेर्दा धर्तीमा प्रशस्त बालुवा देखिन्छ । विशाल मरुभूमि होस् या खोला, नदीनालामा बालुवा मौजुद हुन्छ । निर्माण सामग्री आपूर्तिकर्ताले घरमै बालुवा ल्याइदिने जिम्मेवारी लिएका हुन्छन् । त्यसैले उचित मूल्य तिरेर बालुवा सजिलै उपलब्ध भएको अनुभूति धेरैलाई हुने गर्दछ ।

वास्तवमा विश्वमा बालुवाको कमी महसुस गर्न थालिएको छ । विश्वमा प्रत्येक वर्ष ५० अर्ब टन बालुवा प्रयोग हुने गर्दछ । विश्वमा एक वर्षमा प्रयोग हुने गिट्टी र बालुवाले ब्रिटेनको सम्पूर्ण भूभागलाई एउटा तहमा ढाक्न सक्छ ।

मरुभूमिलाई बालुवाको भण्डार मानिए पनि मरुभूमिको बालुवाले हाम्रो आवश्यकता पूर्ति गर्न सक्दैन । मरुभूमिमा पाइने बालुवाको कण मजबुत कंक्रिट बन्न लायक हुँदैन । हामीलाई आवश्यक पर्ने बालुवा नदीको धार, किनारमा पाइन्छ । समुद्र र तालको तटमा पाइने बालुवा पनि हाम्रालागि उपयोगी हुन्छ ।

समुद्र तहमा बालुवा उत्खनन् तीव्र भइरहेको छ । भारतसहित विश्वका विभिन्न मुलुकका माफियाहरु बालुवा उत्खननको धन्दामा अवैध कब्जा जमाएर बसेका छन् । यसैको परिणामस्वरुप हिंसा र हत्याका घटनासमेत हुन थालेको छ ।

संयुक्त राष्ट्रसंघका पर्यावरण कार्यक्रमसँग जोडिएका अनुसन्धानकर्ता पेस्कल पेडुज्जीका अनुसार प्रत्येक वर्ष ५० अर्ब टन बालुवा निकालिन्छ भने पर्यावरण र आम मानिसको जीवनमा यसको असर नपर्ने कुरै छैन ।

बढ्दो सहरीकरण
बालुवाको बढ्दो मागका पछाडि तीव्र गतिमा बढिरहेको सहरीकरण र गाउँबाट सहरतिर बढ्दो बसाईसराई नै मुख्य कारण हो । एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा अभूतपूर्व रफ्तारले बढिरहेको छ । 

सन् १९५० देखि लिएर हालसम्म शहरमा बस्ने जनसंख्या चार गुणा बढिसकेको छ । हाल विश्वका सहरमा ४.२ अर्ब मानिस बसोबास गर्दछन् । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार आगामी तीन दशकमा २.५ अर्ब मानिस सहरमा थपिने छन् ।

यसको अर्थ प्रत्येक वर्ष विश्वमा न्यूयोर्कजत्रो आठ सहर बढ्दै गएको छ । यी सबैका लागि बस्ने घर, आवतजावत गर्न सडक निर्माणका लागि ठूलो परिमाणमा बालुवा आवश्यक पर्दछ ।

भारतमा सन् २००० पछि निर्माण कार्यमा बालुवाको प्रयोग तीन गुणा बढेको छ । चीनले पछिल्लो एक दशकमा प्रयोग गरेको बालुवा अमेरिकाले एक शताब्दीमा प्रयोग गरेभन्दा बढी हो । अहिलेको युगमा बालुवाको माग यति बढिरहेको छ कि समुद्र किनारमा रहेको दुबईले समेत अस्ट्रेलियाबाट बालुवा मगाउने गरेको छ । 

समुद्रमा कब्जा

निर्माण कार्यका लागि मात्र नभएर बालुवाको मद्दतबाट नयाँ जमिनसमेत निर्माण गर्न थालिएको छ । क्यालिफोर्नियादेखि हङकङसम्म विशाल जहाजहरुले समुद्रबाट बालुवा निकालेर समुद्र तटको दायरा बढाइरहेका छन् ।

दुबईको पाम–ट्री द्वीप विश्वमै बनावटी ढाँचाका लागि प्रख्यात छ । तर मानिसले समुद्र कब्जा गरेर सहर बनाएको कयौं उदाहरण छन् ।

अफ्रिकी मुलुक नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा प्रत्येक वर्ष ९.७ वर्गकिलोमिटर जमिन एटलान्टिक महासागरबाट खोसिदैछ । बढ्दो जनसंख्यालाई बस्ने स्थानको कमी हुन नदिन यस्तो गरिएको हो । चीनले सयौं माइल नयाँ समुद्री तट बनाएको छ । यहाँसम्म कि चीनले नयाँ नयाँ द्वीप निर्माण गरेर त्यसमा लक्जरी रिसोर्ट निर्माण गरेको छ ।

बालुवा निर्यातमा रोक
बालुवा उत्खनन् नै परिणामस्वरुप मलेसिया र कम्बोडियामा माछा मार्ने समुदायको रोजीरोटी खोसिएको छ । चीनमा समुद्रमा नयाँ जमिन निर्माण गर्ने क्रममा समुद्री तटका दलदल हराइसकेका छन् । परिणामस्वरुप चराचुरुङ्गी, माछा तथा अन्य जीव लोप हुन थालेका छन् ।

सिंगापुरले आफ्नो ६० लाखभन्दा बढी जनसंख्याका लागि पछिल्लो ४० वर्षमा करिब ५० वर्गमाइल क्षेत्रफल समुद्रबाट खोसेको छ । तर पर्यावरणमा यसको भीषण मूल्य चुकाउनु परिरहेको छ । इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडियाजस्ता मुलुकले सिंगापुरलाई बालुवा निर्यातमा रोक लगाएका छन् ।

जमिन यसरी बढाइँदै
नेदरल्याण्डको एक अनुसन्धान समूहका अनुसार १९८५ देखि लिएर अहिलेसम्म मानिसले ५ हजार २३७ वर्गमाइल जमिन विस्तार गरेका छन् । यो क्षेत्र जमैकाजस्तो देशको बराबर हो । यसमा धेरैजसो निर्माण बालुवाको प्रयोगबाट भएको हो ।

बालुवालाई कंक्रिट र अन्य औद्योगिक प्रयोगमा उपभोग गर्नु बर्बादीको ठूलो कारण बनेको छ । नदीबाट निर्माण कार्यका लागि प्रयोग हुने बालुवा निकाल्न त्यति कठिन हुँदैन । नदीमा पसेर बाल्टिनमा बालुवा भर्ने र डुङ्गामा राखेर किनारसम्म ल्याउने परम्परागत चलन छ । तर यसरी बालुवा निकाल्दा पानी धमिलो हुँदै जलचर निसासिन्छन् ।

बालुवाको विकल्प
बालुवाका कारण ८१ वर्षका अध्यापकदेखि लिएर २२ वर्षका कार्यकर्तासम्मको हत्या भइसकेको छ । एक पत्रकारलाई जिउँदै जलाइएको थियो भने तीन प्रहरीमाथि बालुवा भरिएको ट्रक चढाएर उनीहरुको हत्या भएको थियो ।

बालुवाको अनियन्त्रित उत्खननदेखि लिएर यसबाट भइरहेको नोक्सानका बारेमा विस्तारै जागरुकता बढ्दैछ । केही वैज्ञानिक बालुवाको विकल्प खोज्न थालेका छन् ।

जस्तो कि, कोइलाबाट चल्ने विद्युत गृहबाट निस्कने खरानी, प्लास्टिकका टुक्रा, धानको भुसलगायतलाई यसको विकल्पमा प्रयोग गर्न सकिन्छ कि भनेर वैज्ञानिकहरु जुटेका छन् । यस्तै वैज्ञानिकहरु बालुवाको खपत कम हुने कंक्रिट विकसित गर्न पनि प्रयासरत छन् ।  

नयाँ सोच आवश्यक
सहर निर्माणका लागि नयाँ सोच ल्याउन जरुरी भइसकेको छ । धेरैजसो वैज्ञानिक बालुवा उत्खनन्बाट हुने नोक्सान रोक्नका लागि हस्तक्षेप गर्न विश्व व्यापार संगठन र संयुक्त राष्ट्रसंघ समक्ष माग गरिरहेका छन् ।

अमेरिकाको कोलोराडो विश्वविद्यालयका वैज्ञानिक मेट बेनडिक्सेनका अनुसार बालुवाको उत्खनन्मा विश्वभर नजर राख्न सक्ने गरी निगरानीको योजना बनाउन आवश्यक भइसकेको छ ।

विश्वमा नदीबाट कति बालुवा निकालिँदै छ भन्ने कसैलाई पत्तो छैन । यो काम कस्तो अवस्थामा भइरहेको छ भन्ने पनि लेखाजोखा छैन । बालुवा उत्खननको काम भइरहेको छ भन्ने सबैलाई थाहा छ । आवश्यकताअनुसार नदीबाट बालुवा निकाल्ने काम भइरहेको छ । मानिसको चासो यतिमा मात्र सीमित छ ।–बीबीसी
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.