शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इराकी प्रदर्शनकारीद्वारा इरानी वाणिज्य दूतावासमा आगजनी

बिहीबार, १२ मङ्सिर २०७६, १३ : २३
बिहीबार, १२ मङ्सिर २०७६

बग्दाद । इराकमा प्रदर्शनकारीहरुले नजफ सहरस्थित इरानी वाणिज्य दूतावासमा आगजनी गरेका छन् । इराकमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानविरुद्ध ‘इराकबाट फिर्ता जा’ लगायतका नारा लगाउँदै वाणिज्य दूतावासमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरुले इराकको आन्तरिक मामिलामा इरानले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् । इरानले इराकको वर्तमान सरकारलाई समर्थन जनाएका कारण प्रदर्शनकारीहरु इरानप्रति रुष्ट भएका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार प्रदर्शन सुरु हुनुअघि नै इरानी वाणिज्य दूतावासका कर्मचारीहरु सुरक्षित रुपमा बाहिर गइसकेका थिए । इराकमा इरानी कुटनीतिक नियागविरुद्ध यसै महिना भएको यो दोस्रो हमला थियो । यसअघि करबलामा यस्तै प्रकारको घटना भएको थियो ।

दुई महिना यता इराकमा भइरहेको प्रदर्शन र हिंसाका क्रममा कम्तीमा ३४४ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरु भ्रष्टाचार अन्त्य, रोजगारीको व्यवस्था र आधारभूत सुविधाको माग गर्दै आएका छन् ।
आन्दोलनबाट दक्षिणी इराक र राजधानी बग्दाद बढी प्रभावित भएको छ ।

नजफमा प्रहरीले प्रदर्शनकारीलाई रोक्न हरसम्भव प्रयास गरे पनि सफल हुन सकेन । आखिर प्रदर्शनकारीहरु इरानी वाणिज्य दूतावासमा प्रवेश गर्दै आगजनी गर्न थाले ।

इरानले प्रदर्शनकारीहरुलाई कानुनी दायरामा रहेर परिवर्तनको माग गर्न आग्रह गरेको थियो । इरानले पश्चिमा राष्ट्रमाथि इराकमा अस्थिरता सिर्जना गरेको आरोप समेत लगाएको थियो ।

इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले एक वर्षअघि सत्ता सम्हालेका हुन् । उनले देशमा सुधारको प्रतिवद्धता जनाए पनि पूरा गर्न नसकेको प्रदर्शनकारीहरुको आरोप छ । बढ्दो बेरोजगारी, भ्रष्टाचार, सरकारी सेवा–सुविधा अस्तव्यस्त भएकोे भन्दै १ अक्टोबरदेखि युवाहरु बगदादको सडकमा उत्रिन थालेका थिए ।

सरकारविरोधी प्रदर्शन विस्तारै देशमा अन्य भागमा समेत विस्तार हुन थाल्यो । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न थालेपछि प्रदर्शन झन् उग्र बन्दै गयो । सुरुवाती ६ दिनमै १४९ जनाको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप