शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली पोर्चुगलको सडकमा सुत्ने गरेको समाचारले नेपाली समुदायमै बाझाबाझ

बिहीबार, १२ मङ्सिर २०७६, १२ : ०१
बिहीबार, १२ मङ्सिर २०७६

राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि प्रवासी नेपाली समुदायमै बाझाबाझ भएको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् भने पोर्चुगलमै केन्द्रित रहेर पत्रकारिता गरिरहेका ७ जनाले गैरेको भनाइकै खण्डन गरेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ‘लेटर हेड’मा छाप र मिति विना नै ध्यानाकर्षण नोट जारी गर्दै गैरेले राष्ट्रिय समाचार समितिको उक्त समाचारप्रति एनआरएनए पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘दुईचार जना दुव्र्यसनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको हाम्रो ठहर छ,’ गैरेले भनेका छन् ।

गैरेको भनाइमा असहमत हुँदै बुधबार संचारकर्मीहरु योगेन्द्र मिलन छन्त्याल, राजकुमार थापा, सुरेश जोशी, हरिकृष्ण पन्थी, कलश खरेल, भगवान गिरी र पेम्बागेलु शेर्पाले संयुक्त विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ समन्वय परिषद पोर्चुगलका अध्यक्ष तिलक गैरेले हतारोमा विज्ञप्ति निकालेकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । ‘एनआरएनएका कुनै पनि पदाधिकारीसँग परामर्श र छलफल नै नगरी गैरेले निकालेको विज्ञप्तिमा सडकमा नेपाली बास बस्ने गरेको कुरा पनि स्वीकार गरेका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पोर्चुगलमा केही नेपाली आजभोलि पनि सडकमा बास बसिरहेका र उनीहरुको अवस्था नाजुक रहेको समाचारका सम्बन्धमा गैरेले विज्ञप्ति जारी गर्न उपयुक्त थिएन ।’

पोर्चुगलमा केही समयदेखि बढ्दै गएको कुलत, कुसंगतले युवाहरुमा यसका नकारात्मक भाव परेको यथार्थ रहेको भन्दै उनीहरुले भनेका छन्, ‘कतिपय यस्तै कुलत र डिप्रेसन समेतले घरपरिवार र जिम्मेवारीबाट विचलित भइ सडकमै बस्ने, सडकमै खाने गरेको सत्यता सबैले देखेकै कुरा हो ।’

राससको समाचार पश्चात यस्ता समस्यालगायत सबै खालका विकृति र विसंगतिविरुद्ध निरन्तर कलम चलाउनु पर्ने आवश्यकता झनै बढेको उनीहरुको भनाइ छ । ‘एनआरएनए पोर्चुगल बेलैमा नसच्चिए पत्रकार र एनआरएनएबीच द्वन्द्व बढ्ने देखिन्छ,’ चेतावनीशैलीमा उनीहरुले भनेका छन्, ‘एनआरएनए सबैको संस्था हो भन्ने कुराको ख्यालै नगरी संस्थाको लेटरप्याडको दुरुपयोग गर्दै सत्य समाचारप्रति गरिएको हचुवा खण्डन र प्रहार महँगो साबित हुने निश्चित छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप