शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुनः निर्माणः यस्तो हुनेछ अब बन्ने अत्याधुनिक र सुविधासम्पन्न धरहरा

बिहीबार, १२ मङ्सिर २०७६, ०९ : ०५
बिहीबार, १२ मङ्सिर २०७६

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ । भने ३० प्रतिशत काम सम्पन्न भएको छ । 
    
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो एतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

सो अवसरमा उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताएका थिए । हाल सोही अनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । 
    
निर्माणको काम अन्र्तगत अहिले दोस्रो तलाको ढलान गर्ने तयारी भइरहेको छ भने टावरमुनिको काम सम्पन्न भइसकेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमै काम सक्नेमा कुनै आशङ्का नगरी ढुक्क हुन आग्रह गरे । 

निर्धारण गरेको समयमै काम सक्नका लागि आगामी पुससम्मा ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप काम अघि बढेको प्राधिकरणको दाबी छ ।
      
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । 

४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तलाको र उचाइ  ७२ मिटर र ४८ फिटको बेस रहनेछ  । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।
 
धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको  सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

धरहराको १८ औँ तलामा अवलोकलनकक्ष हुनुका साथै धरहरा परिसरमा  म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ ।  जहाँ  ३५० गाडी र  छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । 
  
तत्कालका लागि गोश्वारा हुलाक कार्यालय रहेको भवन अन्यत्र सार्र्ने काम भइरहेको र तीन महिनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको पनि पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अहिले गोश्वारा हुलाक कार्यालय रहेको भवन भत्काउने कार्य भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप