बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की–२ को चुनावी अभियान : एक अर्कामाथि संगीन आरोप–प्रत्यारोप

बुधबार, ११ मङ्सिर २०७६, १८ : ३८
बुधबार, ११ मङ्सिर २०७६

पोखरा । मंसिर ७ गते पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको युवा नेता गगन थापाले भनेका थिए, ‘गणतन्त्र ल्याउन रवीन्द्र अधिकारीको योगदान महत्त्वपूर्ण छ । तर अहिले रवीन्द्रको त्यही योगदान मिसिएको गणतन्त्रमाथि प्रहार भइरहेको छ ।’ नेता थापाले राजाको छोरा राजा हुने व्यवस्था देशबाट हटिसकेको समेत स्मरण गर्दै नेकपा उम्मेदवार विद्या भट्टराईको आलोचना गरे । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रेस युनियन कास्कीले पोखरामा राखेको पत्रकार भेटघाट कार्यक्रममा रवीन्द्र अधिकारी इमान्दार गणतन्त्रवादी भएको स्वीकार्दै एउटा मान्छे एकसाथ गणतन्त्रवादी र वंशवादी हुन नसक्ने तर्क गरेका थिए । 

चुनावी सभामा सहभागी हुँदै कांग्रेस सभापति देउवाले त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सहमतिमा नक्सा छापेको संगीन आरोप लगाए । हिन्दु धर्मअनुसार रवीन्द्रको काजकिरिया नगरेकोदेखि वंशवादतर्फ लम्केकोसम्को आरोप काँग्रेस नेताहरुले नेकपा उम्मेद्वार विद्या भट्टराईमाथि लगाएका छन् । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्रको पालामा बाहिरिएको ६ अर्ब वाइडबडी घोटाला प्रकरणदेखि रवीन्द्रका भाइ देवेन्द्र अधिकारीलाई विद्याले झोला बोकाएको प्रसंग पनि सामाजिक सञ्जालमा भाइरल नै बन्यो । आरोप प्रत्यारोपका चुनावी राजनीतिका क्रममा नेकपा उम्मेद्वार विद्या भट्टाई र कांग्रेस उम्मेदवार खेमराज पौडेलको घरको फोटो जाडेर समेत काँग्रेस कार्यकर्ताले गर्नुसम्म प्रचार गरे । खेमराजको जीवनशैली सामान्य रहेको तर विद्याको परिवारको भव्य जीवनशैली रहेको काँग्रेस कार्यकर्ताका दावी थियो । 

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराइले पनि विद्यालाई देशमा गणतन्त्र आएको स्मरण गर्न आग्रह गरेका थिए । 

जिल्लातहका नेताहरु आफ्नो उम्मेदवारको बचाउमा उत्रिए पनि केन्द्रियस्तरका नेताहरु भने खासै सुनिएका थिएनन् । बुधबार, पोखरामा आयोजित नेकपाको चुनावी सभामा भने पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमाथि लगाइएका आरोपको खण्डन गरे । नेकपा अध्यक्ष दाहालले कांग्रेस नसच्चिए किवंदन्दी बन्ने र इतिहासाका पानामा खोज्नुपर्नेसम्म भन्न भ्याए ।

दाहालले कांग्रेस उम्मेदवार पौडेल देवघाट जाने उमेरका भएको समेत भन्न भ्याए । 

चुनावका क्रममा जस्तोसुकै शैलीमा आरोपप्रत्यारोपको दोहोरी चलेपनि यहाँका स्थानीयले भने नेकपाले वशंवादी राजनीतिलाई बढवा दिएको र कांग्रेसले नयाँ पुस्तालाई अवसर दिन नचाहेको रुपमा बुझेका छन् ।

यद्यपि, नेकपा उम्मेदवार भट्टराई र कांग्रेस उम्मेदवार पौडेलले आफूमाथि लागेका आरोपहरुको बचाउमा उत्रेको खासै सुनिँदैन । नेकपा उम्मेदवार विद्या भट्टराईले स्व. रवीन्द्र अधिकारीले कास्की २ को समृद्धिका लागि देखेका सपना पुरा गर्ने अवसरको रुपमा लिएकी छिन् भने कांग्रेसका उम्मेदवार खेमराज पौडेल सरकारको गलत रवैयामाथि आवाज उठाउन भन्दैे तम्सिएका छन् । सरकारको गलत प्रवृत्ति विरुद्धको लडाईँ नै उनको मुख्य चुनावी एजेण्डा रहेको छ । 

देशव्यापी रुपमा हुन लागेको उपचुनाव यसअर्थमा पनि महत्वपूर्ण छ । किनकी प्रतिनिधी सभा सदस्यको लागि हुुन लागेको उपनिर्वाचनमध्ये एकमात्र निर्वाचन क्षेत्र कास्की २ हो । उम्मेदवारी दिएका २१ उम्मेदवारमध्ये प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तारुढ नेकपाबीच नै घम्साघम्सी पर्ने आँकलन गरिएको छ । आफूलाई वैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापना गर्न खोजिरहेका साझा र समाजवादी पनि अब्बल नै मानिन्छन् । यद्यपि, नेकपा र कांग्रेसबीचको प्रतिस्पर्धाका रुपमा राजनीतिक विश्लेषकहरु अथ्र्याउछन् । 

पोखरामा रहेर प्राज्ञिक पेशामा संलग्न राजनीतिक विश्लेषक विश्व कल्याण पराजुलीका अनुसार राजनीतिक पार्टीहरुले उपचुनावमा सक्षम उम्मेदवारलाई प्रतिनिधीको रुपमा अघि सारेका छन् । स्वतन्त्र १० उम्मेदवारमध्ये पनि सक्षम राजनीतिक चेत भएका उम्मेद्वारहरु रहेको उनले बताए । 

‘उपचुनावमा एकदमै राम्रा मान्छेहरु उठ्नुभएको छ । तर, मान्छे राम्रो भएर मात्र पनि हुँदैन चुनाव जहिले पनि एउटा ट्रेण्डमा चल्छ,’ उनले भने, ‘यो उपचुनावमा पहिलो चुनावको तुलनामा निकै कम मतदान हुन्छ ।’ अघिल्लो चुनावमा करिब ५० हजार मत खसेकोमा यो उपचुनावमा ४० हजार मत खस्ने उनको आँकलन छ । 

‘अघिल्लो चुनावमा जस्तो यो चुनावको लागि मतदाताहरुमा क्रेज छैन’ उनले भने, ‘प्रतिनिधी सभा सदस्यको लागि कास्की २ मा मात्रै उपचुनाव हुँदैछ । त्यसमाथि मतदाताहरुमा चुनावको खासै चासो छैन ।’

चुनावी प्रतिस्पर्धा भने नेकपा र कांग्रेसबीच नै हुने उनको दाबी छ । २१ उम्मेदवारबाट नेकपा र कांग्रेस नै पहिलो र दोस्रो विजेता बन्ने उनले दावी गरे । 

पार्टीहरु चुनावको छेकोमा एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिरहँदा राजनीतिक संस्कार कस्तो बन्ने हो ? भन्ने खालका प्रश्न चिह्न पनि खडा भएका छन् । यस विषयमा विश्लेषक पराजुली पार्टीहरु राजनीतिक संस्कार बसाउनभन्दा पनि गालीगलौज गरेर चुनाव जित्ने संस्कार बसाउन लागि परेको टिप्पणी गर्छन् । 

०७४ को निर्वाचनको तुलनामा आसन्न उपनिर्वाचनमा पार्टीहरु सक्रिय रुपमा नलागेको उनको बुझाई छ । दुई ठुला पार्टीका शीर्ष नेताहरु चुनावी प्रचारमा लागिरहँदा अरु साना पार्टीहरुको भने त्यति आक्रामक प्रचार नदेखिएको उनले बताए । 

कास्की २ भित्र पोखरा महानगरका ११ वडा समावेश छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र रहेको छ । अघिल्लो चुनावमा स्व. रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । चालिसे यो उपचुनावमा पनि कांग्रेसका आकांक्षी उम्मेदवार थिए । तर, अन्तिम समयमा केन्द्रले खेमराज पौडेललाई उम्मेद्वारको रुपमा अघि सारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप