शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैङ्क कर्मचारीकै मिलेमतोमा यसरी चोरियो व्यक्तिको पैसा !

यी व्यक्तिको खताबाट झिकिँदै थियो रकम, कतै तपाईंकै खाताबाट पनि पैसा चोरियो कि ?
बुधबार, ११ मङ्सिर २०७६, १७ : २५
बुधबार, ११ मङ्सिर २०७६

२१ वर्षको एउटा ठिटो । साथमा ६ लाख पर्ने मोटरसाइकल छ । स्टाइलिस ती ठिटोको साथमा पैसा पनि झण्डै २० लाखको हाराहारी ।

ती हुन् काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ३ का अञ्जन बराल ।

त्यो मोटरसाइकल र पैसा अञ्जनको परिवारले गाउँबाट पठाएका भने होइनन्, न त अन्जनले यो पैसा कोहीबाट सापट मागेर नै ल्याएका हुन् ।

बरु अञ्जनले किर्ते हस्ताक्षर गरी बैङ्कबाट अर्कै व्यक्तिको नाममा रहेको बैङ्क खाताको किर्ते चेकबुक बनाइ पैसा निकालेर जोडेका हुन् ।

सोमबार अञ्जन पक्राउ परेपछि उनको साथबाट प्रहरीले ११ लाख ५० हजार रुपैयाँ बरामद गर्यो ।

अन्जनसहित ६ जनाको समूहले विभिन्न बैङ्कमा खाता रहेका विभिन्न व्यक्तिको व्यक्तिगत जानकारी र हस्ताक्षरको नमुना लिई चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउने र त्यसैबाट पैसा निकाल्ने गरेको पाइएपछि प्रहरीले पक्राउ गरेपछि खुलेको रहस्य हो यो ।

यस्तो थियो व्यक्तिको पैसा हत्याउने गिरोहको योजना

१८ देखि २१ वर्ष उमेर समूहका ४ जना युवा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । उनीहरु काठमाडौंमा डेरा गरी बस्छन् । उनीहरुमध्ये अधिकांश स्नातक पढ्दै गरेका युवाहरु हुन् ।

काभ्रे पाँचखालका २१ वर्षीय अञ्जन बराल, १९ वर्षीय मनिष घिमिरे, १९ वर्षीय कुमार तामाङ र १८ वर्षीय सुभाष श्रेष्ठ साथीहरु हुन् । उनीहरुको साथमा छन् बागलुङ जिल्ला गलकोट नगरपालिका ३ का २५ वर्षीय सुमन पौडेल । र, उनीहरु सबैलाई सल्लाह सुझाव दिने र काम लगाउने अर्का युवाचाहिँ सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे ९ का ३० वर्षीय गोविन्द घिमिरे ।

यी ६ जना युवाको समूहले कागजी प्रक्रिया पूरा गरेर नेपालमै खाता रहेका व्यक्तिहरुको खाताबाट पैसा चोर्ने योजना बनाए ।

त्यसका लागि उनीहरुले विभिन्न व्यक्तिका नाममा बैङ्कमा खाता खोल्ने योजना बनाए । अनि शेयर भर्ने प्रयोजनका लागि खाता खोल्न भन्दै विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी लिए, फोटो खिचाए र बैङ्कमा खाता खोलाए ।

अहिले खाता खोल्न आक्रामकरुपमा निस्किएको एनआइसी एशिया बैङ्क लगायतका केही बैङ्कमा विभिन्न व्यक्तिका नाममा उनीहरुले खाता खोलाए ।

शेयरको लागि काम गर्ने योजनामै रहेका उनीहरुलाई सुरुमा गोविन्द घिमिरे भन्ने व्यक्तिले एउटा जुक्ति निकालिदिए ।

विभिन्न व्यक्तिको नाममा रहेको खाताबाट पैसा निकाल्ने । तर व्यक्तिको हस्ताक्षरसहितको चेक पाउन उनीहरुलाई सजिलो छैन ।

त्यसका लागि उनीहरुले आफ्नो श्रोत परिचालन गरे र कुन बैङ्कमा कुन कुन व्यक्तिको खाता छ, उनीहरुको खातामा कति रकम छ र उनीहरुको हस्ताक्षरको नमुना कस्तो छ लिने ।

त्यसपछि उनीहरुले केही सोझा व्यक्तिहरुको खाता नम्बर लिए, चेकमा प्रयोग गरिने हस्ताक्षरको नमुना लिन्छन् र पुरानो चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन बैङ्कमा निवेदन दिन्छन् ।

निवेदन दिँदा उनीहरुले चेक लिन आउने व्यक्तिको हस्ताक्षरको नमुना पनि पठाउँछन् । चेक हराएकाले नयाँ बनाइदिनु भनेर एउटा चेक र चेक लिन आउने व्यक्तिको हस्ताक्षरको नमुनामा आफ्नै नाम हस्ताक्षर राखेर उनीहरुले निवेदन दिन्छन् ।

बैङ्कले खातावालाको हस्ताक्षरको नमुना ‘म्याचिङ’ भएपछि नयाँ चेक जारी गरिदिन्छ । र, त्यही नयाँ चेक लिएर खातावालाको किर्ते हस्ताक्षर गरी उनीहरु पैसा लिन बैङ्कमा पुग्छन् ।

यो समूहले विभिन्न व्यक्तिका नाममा रहेको खाताबाट पैसा निकाल्ने योजना बनाएको लगत खाता पनि प्रहरीले बरामद गरेको छ र उनीहरु यतिबेला प्रहरीको हिरासतमा छन् ।

यसरी परे प्रहरीको कब्जामा

२०७६ साल मंसिर ८ गते आइतबार राती ८ः३० को समयमा जनता बैङ्कमा खाता रहेका गोपालमान राजवाहकले महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलाई फोन गरी आफ्नो खाताबाट १९ लाख ९९ हजार रुपैयाँ झिकिएको म्यासेज आएको बताए । गोपालमानले न कसैलाई चेक दिएका थिए न त आफैले उक्त रकम निकालेका थिए । तर अकस्मात खाताबाट पैसा झिकिएको म्यासेज आएपछि उनले उक्त कुरा प्रहरीलाई बताए ।

महानगरीय प्रहरी परिसरले उक्त कुरा राष्ट्र बैङ्कलाई जानकारी गरायो । राष्ट्र बैङ्कले जनता बैङ्कलाई खबर गरी घटनाबारे जानकारी गराएलगत्तै जनता बैङ्कले पनि राती नै आइटीका कर्मचारी पठाएर छानबिन सुरु गर्यो ।

छानबिनका क्रममा पत्ता लाग्यो किन गोपालमान कै चेक र हस्ताक्षर प्रयोग गरेर उनको खाताबाट पैसा निकालिएको थियो ।

मंसिर ८ गते आइतबार ३ पटक गरी उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालिएको थियो ।

पहिलोपटक ५ लाख, दोस्रोपटक ५ लाख र तेस्रोपटक ९ लाख ९९ हजार गरी करिब एकघण्टाको अवधिमा १९ लाख ९९ हजार रुपैयाँ निकालियो ।

तर जब प्रहरी र बैङ्कले गोपालमानसँग थप सोधपुछ गर्यो, गोपालमानका लागि बैङ्कले दिएको चेक उनकै साथमा थियो ।

पछि अनुसन्धानको क्रममा खुल्यो कि जनता बैङ्कले गोपालमानका लागि दिएको चेक हरायो भन्दै गोपालमानकै हस्ताक्षर किर्ते गरी नयाँ चेकबुक लिइएको रहेछ ।

जनता बैङ्कको ग्वार्को शाखाबाट गोपालमानको पुरानो चेकबुक हराएको भन्दै अञ्जन बराल लगायतको गिरोहले नयाँ चेकबुक लिएर उनको खातामा रहेको २५ लाख रुपैयाँ निकाल्ने योजना बनाएको रहेछ ।

योजना बमोजिम यो गिरोहले मंसिर ८ गते आइतबार ३ वटा चेकमार्फत् १९ लाख ९९ हजार रुपैयाँ निकालिसकेको थियो । खातामा रहेको बाँकी ५ लाख रुपैयाँ योजना बनाएर उनीहरु मंसिर ९ गते सोमबार पुनः बैङ्कमा पुग्दा प्रहरीको फन्दामा परेका थिए ।

गोपालमानलाई फोन गरेर भने ‘एकघण्टा मोबाइल अफ गरिदिनु’

मंसिर ८ गते आइतबार गोपालमानको खातामा रहेको रकम निकाल्नुभन्दा पहिले अन्जन आँफैले गोपालमानलाई फोन गरेर एकघण्टा मोबाइलको स्वीच अफ गरिदिन आग्रह गरेका थिए ।

आफू जनता बैङ्कबाट त्यहाँको कर्मचारी बोलेको भन्दै सिस्टम अपग्रेड गर्न लागेकाले एक घण्टा मोबाइल अफ गरेर राखिदिन उनले आग्रह गरेको प्रहरीले बताएको छ । बैङ्कबाट फोन आएपछि गोपालमानले पनि मोबाइल अफ गरेर राखिदिए ।

गिरोहले गोपालमानलाई यसकारण मोबाइलको स्वीच अफ गर्न लगाएको थियो कि उनीहरुले बैङ्कबाट पैसा झिक्दा त्यो म्यासेज गोपालमानको मोबाइलमा तत्कालै नपुगोस् ।

गिरोहको योजना अनुसार नै गोपालमानले मोबाइलको स्वीच अफ गरिदिए र उनीहरुले पहिलो दिन १९ लाख ९९ हजार रुपैयाँ पैसा निकाले ।

मोबाइलको स्वीच अन गर्दा गोपालमानलाई म्यासेज त आएको थियो तर त्यो म्यासेज के हो भनेर उनी पढ्न र बुझन सक्दैनथे ।

जब बेलुका त्यो म्यासेज गोपालमानले परिवारको सदस्यलाई देखाए त्यसपछि मात्रै उनी झस्किए । आफूले कसैलाई चेक नदिएको भएपनि आफ्नो खाताबाट २० लाख रकम गायब भएपछि उनले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

यो सूचना पाउनेबित्तिकै चनाखो बनेको प्रहरीले जनता बैङ्कको सबै शाखामा मुख्य कार्यालयमार्फत् सूचना पठायो र बाँकी रकम झिक्न आएलगत्तै खबर गर्न भन्यो ।

प्रहरीको योजनाले काम गर्यो । गिरोहका सदस्यहरु गोपालमानको खातामा रहेको बाँकी पैसा झिक्न जनता बैङ्कको न्युरोड शाखामा पुगे ।

जनता बैङ्कका अधिकांश शाखामा प्रहरीले सादा पोसाकमा प्रहरी खटाएको थियो । पैसा झिक्न जानेबित्तिकै गिरोहका एक सदस्य सुभाष श्रेष्ठ पक्राउ परे ।

त्यसलगत्तै प्रहरीले केरकार गरी सुभाषकै फोनबाट अञ्जनलाई फोन गर्न लगाइयो पैसा झिकेकाले लिन आउन भनियो ।

पैसा झिकेको भनेपछि अन्जन पैसा लिन न्युरोड आइपुगे । त्यहीबेला अन्जन पनि पक्राउ परे ।

र, उनीहरुकै सूचनाको आधारमा बाँकी ४ जनालाई पनि प्रहरीले सोमबार बेलुकासम्म नै पक्राउ गर्यो ।

पक्राउ परेकाहरुबाट ११ लाख ५० हजार मात्रै बरामद भयो । अञ्जनले ७ लाख रुपैयाँ काभ्रेमा रहेका आफन्तको नाममा ट्रान्सफ गरिसकेका थिए । बाँकी १ लाख ५० हजार भने उनीहरुले मोबाइल किन्ने लगायतको काममा खर्च गरिसकेका थिए ।

गिरोहको कोठामा ८३ वटा एटीएम कार्ड तथा कैयन थान चेकबुक भेटियो

गिरोहका सबै सदस्यलाई पक्राउ गरेपछि उनीहरुको कोठामा खानतलासी गर्दा उनीहरुको साथबाट एनआइसी एशिया बैङ्कको ८२ तथा अन्य बैङ्कको ७ गरी ८९ थान भिसा डेबिट कार्ड, एनआइसी एशिया बैङ्क, जनता बैङ्क, एभरेष्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, ज्योति विकास बैङ्क, माछापुच्छ्रे बैङ्क लगायतका बैङ्कहरुको चेकबुक बरामद भयो ।

त्यतिमात्रै होइन प्रहरीले कोठा खानतलासी गर्ने क्रममा विभिन्न १ सय १५ जना व्यक्तिको बैङ्क स्टेटमेण्टको प्रिन्ट, विभिन्न व्यक्तिको नाममा खाता खोल्न तयार पारिएको ३ सय जनाको फारम, २ सय ९० थान नागरिकताको फोटोकपी आदि बराम गर्यो ।

गिरोहसँग थियो सैयौँ व्यक्तिको हस्ताक्षरको नमुना

यी गिरोहसँग सैयौं सर्वसाधरण व्यक्तिको बैङ्कमा रहेको हस्ताक्षरको नमुनासमेत रहेको पाइएको छ । गिरोहका एक सदस्य अन्जन बरालको मोबाइलको डाटा चेक गर्ने क्रममा प्रहरीले सैयौं व्यक्तिको हस्ताक्षरको नमुनासमेत भेटेको छ । बैङ्कमा प्रयोग गरिएको हस्ताक्षरको फोटो नै उनीहरुको साथमा भेटिनुले यो घटनाहरुमा विभिन्न बैङ्कमा कर्मचारीको मिलेमतो रहेको प्रहरीको निस्कर्ष छ । यद्यपि अनुसन्धानको क्रममै रहेकाले थप केी बताउन नमिल्ने प्रहरीले जनाएको छ ।

यी व्यक्तिको खताबाट झिकिँदै थियो रकम

गिरोहको साथबाट बरामद भएको कागजात हेर्दा यी गिरोहले दोर्जे खानीखोला जलविद्युत् कम्पनी, सन्तोष आचार्य, अनुम तिमिल्सिना लगायतका व्यक्तिहरुको खाताबाट ८२ लाख ५० हजार रुपैयाँ निकाल्ने योजना बनाएको पाइएको छ ।

हेर्नुहोस्, कसको कुन खाताबाट कति रकम निकाल्ने योजना थियो ।

यो गिरोहले यसअघि नै विभिन्न व्यक्तिको खाताबाट रकम निकालिसकेको प्रहरीको दाबी छ । यद्यपि आफ्नो व्यवसायिक योजनामा असर पर्ने भन्दै विभिन्न बैङ्कले प्रहरीलाई जानकारी नै नदिई घटना लुकाउन खोजेको पनि प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले उनीहरुले कति रकम चोरी गरे भन्नेबारे तत्कालै केही भन्न नसकिने प्रहरीले बताएको छ ।

मोटरसाइकल चोरेर भागेका थिए अञ्जन

गिरोहका सदस्य अन्जनले ६ लाख पर्ने मोटरसाइकलसमेत चोरी गरेर भागेको अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका डीएसपी होबिन्द्र बोगटीका अनुसार अन्जनले ६ लाख रुपैयाँ पर्ने होण्डा कम्पनीको बाइकसमेत चोरी गरेर भागेको भेटिएको छ । हाम्रोबजार डटकममा बिक्रीका लागि राखिएको स्पिनर हन्टर बाइकको धनीलाई फोन गरी अन्जनले किन्न चाहेको कुरा गर्छन् । त्यसपछि उनीसँग भेट गरी टेष्ट ड्राइभ गर्ने भन्दै अन्जन बाइक लिएर जान्छन् । तर उनी फर्कदैँनन् ।

फोन गर्न प्रयोग गरेको सिमसमेत अर्कै व्यक्तिको नामबाट निकालिएको थियो । त्यसपछि उनले त्यो सिमकार्ड कहिल्यै प्रयोग गरेनन् ।

प्रहरीमा मौज्दात रहेको यो उजुरी पनि बैङ्क प्रकरणपछि प्रहरीले सुल्झाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप