शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङ उपनिर्वाचन : शाही र शेरचनको चुनाव जित्ने आ–आफ्नै रणनीति

बुधबार, ११ मङ्सिर २०७६, १६ : ५३
बुधबार, ११ मङ्सिर २०७६

बागलुङ । मङ्सिर १४ मा हुने उपनिर्वाचन अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशमा वामगठबन्धन र काँग्रेसका उम्मेदवारबीच मुख्य भिडन्त हुने भएको छ ।

बाम गठबन्धनले काँग्रेसका उम्मेदवार जित शेरचनलाई पाहुना उमेदवार भनेको छ भने काँग्रेसले बाम गठबनधनका उम्मेद्वार शाहीलाई गाउँमा बसेर केन्द्रको पियनसमेत नचिन्नेले जनताको काम गर्न नसक्ने आरोप लगाएको छ । 

‘नेता र जनप्रतिनिधि भनेको जनता र माथिल्लो निकायबीच बराबरी सम्बन्ध  र पहुँच राख्न सक्ने हुनु पर्छ’, शेरचन भन्छन्, ‘जनता र सरकारबीचमा  हामीले पुलको काम गर्ने हो । मसँग जनतासँगको सम्बन्ध पनि नजिक छ ।  प्रदेश र केन्द्र सरकारसँग पनि मेरो सम्बन्ध नजिक छ ।’  

तर उनलाई बाम गठबन्धनले काँग्रेसमा प्रदेश सभा उमेदवारका लागि पुराना र सधैँ जनताको दुःखसुखमा लाग्ने नेताहरु तुलासिंह घर्ती, द्रोण कुँवर लगायत भए पनि शेरचन सिटौलाको नजिक भएर टिकट पाएको आरोप लगाएको छ ।

यो आरोपमा शेरचन भन्छन्, ‘सधैँ गाउँमा बसेर मात्रै हुँदैन । सधैँ गाउँमा बस्नेहरुले केन्द्रको एउटा पियनसम्म चिनेको हुँदैन अनि कसरी जनताको काम गर्न सकिन्छ ?’ 
यो प्रदेशमा अघिल्लो पटक काँग्रेस उम्मेदवारलाई बाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले ३२ सय मतको अग्रताले हराएका थिए ।

तर अहिले काँग्रेसको अवस्था सुध्रिएकाले आफू चुनाव जित्नेमा ढुक्क रहेको शेरचनको भनाइ छ । महेन्द्र रत्न क्याम्पस ताहचल काठमाडौँको स्ववियु सभापति र पछि नेविसङ्घको केन्द्रीय सदस्य रहेका शेरचन हाल काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् ।

उनले आफ्नो मुख्य चुनावी एजेन्डा गल्कोटदेखि ढोरपाटनसम्मको क्षेत्रलाई टुक्र्याएर बेग्लै जिल्ला बनाउनेर सदरमुकामसमेत यतै सार्ने विषयलाई बनाएका छन् । त्यस्तै अझै पनि दलित र जनजातिहरुको चेतनास्तर बढाउन शिक्षा र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्ने मुद्दा जनतामा लगेका छन् । 

तर बाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीले बाम गठबन्धनको एकता विना विकासको  विकल्प नरहेको दाबी गर्छन् । पछिल्लो चुनावी प्रचार प्रसारका क्रममा ढोरपाटन नगरपालिकामा मतदातामाझ भेटिएका उनले विकासका लागि बामबाहेक अरूको विकल्प नभएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई तिहाइको सरकारले देशमा विकासको  दीर्घकालीन जग हालेको र जनताको समृद्धिका लागि खेलेको भूमिकाले बाम एकताबिना देश विकासको विकल्प नभएको पुष्टि भइसकेको शाहीको जिकिर छ । 

‘राष्ट्रिय जनमोर्चा र  नेपाल कम्युनिस्ट पार्टीले देशैभर एकता गरेको छ । दुवै कम्युनिस्टहरुको मुख्य सिद्धान्त जनताको समृद्धि हो’, शाहीको भनाइ छ । ढोरपाटनलाई  पर्यटन विकासमा दोस्रो पोखरा बनाउने, विकट गाउँबासीलाई सहज प्रशासनिक पहुँचको सुविधा प्रदान गर्ने, पछाडि परेको वर्ग समुदायलाई शैक्षिक, राजनीतिक र सामाजिक रूपले माथि उठाउने वर्तमान सरकार एजेन्डा अनुसार आफूले काम गर्ने जनतामाझ शाहीको प्रतिबद्धता छ । 

घर दैलो कार्यक्रममै भेटिएका नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपाली र बलावती शर्माले बाम गठबन्धनले देशैभर सबै तहको निर्वाचन जित्ने दाबी गरे ।

नेकपा बागलुङ जिल्ला पार्टी अध्यक्ष तथा गण्डकी प्रदेशका  सांसद इन्द्रलाल सापकोटाले  सङ्घीयता, स्थिरता, प्रगतिशील र अग्रगामी एजेन्डा बाम गठबन्धनकै भएकाले जित सुनिश्चित भएको दाबी गरे ।

यहाँ अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारले ३२ सय बढी मतले काँग्रेसका  उमेदवारलाई पराजित गरेका थिए । ‘यस पटक ४ हजारभन्दा बढी मतको अग्रताले शाही  विजयी हुने निश्चित छ’, सापकोटाको दाबी छ । 

काँग्रेस छाडेर नेकपामा 
उपनिर्वाचनको चुनावी माहौल तातेका बेला निसीखोला गाउँपालिका वडा नम्बर ६, साविक अधिकारीचौर गाविसमा नेपाली काँग्रेसबाट विजयी भएकी  दलित महिला  वडासदस्य  ज्ञानकुमारी  विकसहित तीन दर्जनभन्दा बढी काँग्रेस कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई अध्यक्ष  इन्द्रलाल सापकोटा र ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली लगायतले स्वागत गरेका थिए । पार्टी अध्यक्ष सापकोटा र  मेयर नेपालीका अनुसार चुनावी  अभियानका क्रममा एक हजारभन्दा बढी काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । 

यस आधारमा यस पटक चार हजार मतको अग्रताले चुनाव जित्ने निश्चित भएको वाम गठबन्धको आकलन छ । ढोरपाटन नगरपालिका  वडा नम्बर १  बुर्तिबाङ वडा कमिटी सचिव मनकुमारी गैरेका अनुसार बुर्तिबाङमा १ हजार मत नेकपालाई खस्ने लेखाजोखा भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप