बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पाँच हिमालको पहिलोपटक सफल आरोहण

बुधबार, ११ मङ्सिर २०७६, १६ : ०५
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं । यस शरद ऋतुमा साना र नयाँ हिमालतर्फ आरोही आकर्षित भएका छन् । सात हजार मिटरभन्दा कम उचाइका पाँच हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । पर्यटन विभागका अनुसार खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङखलामा पर्ने छ हजार ७६४ मिटर उचाइको हांगु (सुरा पिक), छ हजार ८३३ मिटर उचाइको हुङ्कु चुली, दोलखाको रोलवालिङ क्षेत्रमा पर्ने छ हजार ६५९ मिटर उचाइको लिङ्कु चुली हिमाल आरोहण गरिएको छ ।

गोरखाको मानसिरी हिमशृङ्खलामा पर्ने छ हजार ६२० मिटर उचाइको पान्पोचे (प्रथम) र छ हजार ५०४ मिटर उचाइमा रहेको पान्पोचे (दोस्रो) हिमालको पहिलो पटक आरोहण भएको छ । पाँचवटै हिमालको विदेशी आरोहीले आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

मनास्लुमा १८८ आरोही
गोरखाको आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमालको १८८ आरोहीले गत महिना आरोहण सफल गरेका छन् । मनास्लुमा पर्यटन विभागवाट २६४ आरोहीले आरोहण अनुमति लिएका थिए । अनुमति लिएकामध्येमा १४२ पुरुष र ४६ महिला गरी १८८ आरोहीले आरोहण सफल गरेका हुन् ।

घिमिरेका अनुसार आरोहीका साथ एक सय ६५ नेपाली गाइडले समेत आरोहण गरेका छन् । आरोही र गाइड गरी यो मौसममा मनास्लुमा ३५३ आरोहीले आरोहण सफल गरेका हुन् । मनास्लु आरोहणका लागि ४४ देशका आरोहीले अनुमति लिएकोमा ४० देशका आरोहीले आरोहण सफल गरेका हुन भने आरोहण सम्पन्न गर्नेमध्येमा चिनियाँ आरोहीको सङ्ख्या उच्च रहेको विभागले जनाएको छ ।

सोमबारको तथ्याङ्कअनुसार यस यामका लागि मात्रै विभागवाट ५३ हिमाल आरोहणका लागि ६२ देशका एक हजार २१० आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएको हिमालमध्येमा सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुन सकेन भने अन्य हिमालको आरोहण भइरहेको विभागले जनाएको छ ।

मनास्लु आरोहणका क्रममा पोल्यान्डकी ५० वर्षीया रीता डोनेटा ब्लाङ्य र हिमलुङ हिमाल आरोहणका क्रममा स्पेनका ४८ वर्षीय फर्नान्डो सान्चेज घासाको मृत्यु भएको विभागले जनाएको छ । विभागको होमस्टे तथा पर्वतारोहण विभागका निर्देशक मीरा आचार्यका अनुसार नेपाल सरकारले खुल्ला गरेको ४१४ हिमालमध्येमा ७६ हिमालको मात्रै आरोहण हुन बाँकी छ । यो यामका लागि अनुमति दिइएको हिमालबाट छ करोड ५१ लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप