शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज राति १२ बजेदेखि मौन अवधि : सामाजिक सञ्जाल पनि निगरानीमा

उल्लङ्घन गरे उम्मेदवारी रद्ददेखि १ लाखसम्म जरिवाना
बुधबार, ११ मङ्सिर २०७६, १३ : १८
बुधबार, ११ मङ्सिर २०७६

शनिबार हुने उपनिर्वाचनमा लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार अन्तिम दिन हो । मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ । आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  

दलका उम्मेदवारहरु मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘मौन अवधिमा उम्मेदवार मौन बस्छन्, उनीहरुले भोट माग्ने, घरदैलो गर्ने, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मतदाताले यो संयमतासहित मताधिकार प्रयोगका लागि सोच्ने बेला हो ।’

मौन अवधि उम्मेदवार तथा दलहरुलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ । यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ । पछिल्लो समय प्रचार प्रसारको माध्यमसमेत बन्दै आएको सामाजिक सञ्जाललाई पनि आयोगले निगरानी गर्दैछ । आयोगअन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए– नभएको अनुगमन गर्नेछ । मौनअवधि उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने आयोगले प्रष्ट पारेको छ ।

३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा निर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यी सबै क्षेत्रका उम्मेदवारहरुलाई आचार संहिता लागू हुन्छ । उपनिर्वाचनको चुनावी प्रचारका क्रममा दर्जनभन्दा बढी आचार संहिता उल्लङ्घनको उजुरी परेको र त्यसको सम्बोधन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

यी हुन मौन अवधिमा पालाना गर्नुपर्ने आचार संहिता

–  उम्मेदवारले घरदैलो कार्यक्रम, सभा सम्मेलन तथा भोट माग्नु हुँदैन ।

–   कुनै पनि माध्यबाट चुनावी प्रचार प्रसार गर्नु हुँदैन ।

–  कुनै छापा तथा विद्युतीय सञ्चार माध्यममा अन्तरवार्ता, विज्ञापन तथा प्रचार सामग्री प्रकाशन गर्न पाइँदैन ।

– मतदाता लक्षित भोज भतेर गर्न पाइँदैन ।

–  सामाजिक सञ्जाल, मोबाइल एसएमएसबाट चुनाव प्रचार तथा भोट माग्न पाइँदैन ।

–   मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ ।

–             सञ्चार माध्यमले पनि कुनै उम्मेदवार लक्षित समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्नु हुँदैन ।

३५ जिल्लाका ५२ पदका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री पठाइसकेको छ । आजसम्म सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसक्ने आयोगका प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । मतदान अधिकृतले शुक्रबारसम्म नयाँ मतदाता परिचय पत्रसमेत वितरण गर्नेछन् ।

स्थानीय तहका ४८, प्रदेश सभाका ३ र प्रतिनिधि सभाको १ स्थानका चुनावका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र राखिएको छ । स्थानीय तहका लागि २ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभा र प्रतिनिधिसभाको चुनावका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।

यसैबीच निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पतालले निर्वाचन आचार संहिता उल्लङ्घन गरी कर्मचारी भर्ना गरेको ठहर गर्दै कर्मचारी भर्ना बदर गर्न निर्देशन दिएको छ । आयोगले भनेको छ– ‘निर्वाचन आचार संहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले जुनसुकै प्रक्रियाबाट गरिएको नियुक्ति भए पनि उक्त नियुक्ति आचार संहिता विपरीत भएको हुँदा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा २ बमोजिम बदर गरी २४ घण्टाभित्र यस आयोगलाई जानकारी दिन भक्तपुर क्यान्सर अस्पताललाई निर्देशन गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप