केन्द्रीय संस्करण
अन्तरवार्ता

'हाम्रो लक्ष्य पर्यटकको सङ्ख्यात्मक वृद्धि मात्र होइन, गुणात्मक वृद्धि हो'

पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसँगको अन्तरवार्ता

person explore access_timeमंसिर ११, २०७६ chat_bubble_outline0

काठमाडौँ । ‘भिजिट नेपाल २०२०’ नजिकिएको छ । अबको केही दिनभित्रै महत्त्वकाङ्क्षी पर्यटन वर्ष २०२० ले प्रवेश पाउँदै छ । भ्रमण वर्षलाई नै लिएर सरकारले अधिकतम २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन वर्षकै लागि नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र भिजिट नेपाल २०२० कै लागि भनेर गठन गरिएको सचिवालयले समेत यो लक्ष्य पूरा गरिछाड्ने जोडबल गर्दै छ । पर्यटन वर्षकै लागि सरकारले ३० करोड रूपैयाँ खर्च गर्दै छ ।

भिजिट नेपाल २०२० कै अवसरमा अधिकतम भन्दा अधिकतम पयटक देशमा भित्र्याउने र देशमा प्रयाप्त रोजगारीको सिर्जना गर्दै विदेशी मुद्रा आर्जन गर्ने सरकारको महत्त्वकाङ्क्षी योजना छ । तर सरकारको यो अपेक्षा कति पूरा हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

सबै क्षेत्रबाट जोडबल गरिएको र महत्त्वकाङ्क्षी लक्ष्य बोकेको ‘भिजिट नेपाल २०२० को तयारी कसरी हुँदै छ त ? यसै विषयमा केन्द्रित हुँदै पर्यटन क्षेत्रमै करिब दुई दशक समय विताइसकेका पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) दीपकराज जोशीसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएको सङ्क्षिप्त संवाद ।

नेपाल सरकार, पर्यटन मन्त्रालयले अघि सारेको भ्रमण वर्ष २०२० को समय नजिकिसकेको छ । विभागको तर्फबाट कस्तो तयारी हुँदै छ ? र योजनाहरू कसरी बन्दै छन् त ?

भ्रमण वर्ष २०२० को तयारी करिब करिब अन्तिम चरणमा पुगिसकेको छ । हामीले योजनाबद्ध रूपमा कार्यक्रमहरू अघि सारेका छौँ । पर्यटन मन्त्रालय, विभाग र भ्रमण वर्ष २०२० समन्वयन सचिवालय बीचको सहकार्यमा देशैभरिबाट पर्यटन गन्तव्य (क्षेत्र)हरूको पहिचान, विकास, विस्तार तथा प्रचार प्रसारका काम भइरहेका छन् ।

देशैभरिबाट एक सय मुख्य पर्यटकीय गन्तव्य छानिएका छन् र अन्य सहायक क्षेत्रसमेत प्राथमिकतामा राखिएका छन् । तिनै क्षेत्रको अहिले प्रचार प्रसारको काम भइरहेको छ । यी क्षेत्रहरू स्थानीय तह र प्रदेश सरकारबाट छानिएका गन्तव्यहरू हुन् ।

मुख्यतः अहिले प्रमुख पर्यटकीय आगमनका क्षेत्रहरूमा प्रचार प्रसार तथा क्याम्पेनिङका काम भइरहेका छन् । जहाँबाट धेरैभन्दा धेरै पर्यटकहरू नेपाल आउँछन् । त्यस्ता बजारमा हामीले भिजिट नेपाल २०२० को प्रिलन्चिङका काम गरिरहेका छौँ । त्यस्ता धेरै देशहरूमा प्रिलन्चिङका काम भइसकेका छन् र केहीमा हुने क्रममै छन् । नेपालभित्रका केही ठाउँहरूमा पनि प्रिलन्चिङका काम भएका छन् । पोखरा र जनकपुरमा प्रिलन्चिङका काम भइसकेका छन् भने अब अन्य केही ठाउँमा पनि हुने क्रममा छन् । भ्रमण वर्षलाई नै लिएर देशभित्र र बाहिर सबैतिर प्रचार प्रसार गर्ने हाम्रो लक्ष्य तथा कार्यक्रम हो । पछिल्लो समय हामी डिजिटल प्रचार प्रसारमा समेत केन्द्रित भएका छौँ । केही समयअघि मात्र हामीले चाइनाको सिटी डट्कमसँग एक वर्षको एमओयू गरेर अघि बढेका छौँ । त्यस्तै इन्डियाको नेटबेस राइड सेरिङ ट्रान्सपोर्टसँग मिलेर काम गर्ने योजना बनाएका छौँ ।

प्राथमिकताका आधारमा कस्ता खालका टुरिजम क्षेत्रहरू भ्रमण वर्षको केन्द्र विन्दुमा परेका छन् । र तिनको कसरी प्रचार प्रसार हुँदै छन् ?

धेरै अघिदेखि नै नेपाललाई एक मात्र पर्वतीय गन्तव्यका रूपमा हेरिँदै र चिनिदै आएको छ । जहाँ सहासिक (एड्भेन्चर) गतिविधि मात्र हुने गरेका छन् । सम्भाव्यताका आधारमा यीबाहेक पनि हामीसँग थुप्रै पर्यटकीय क्षेत्रहरू छन् । जस्तो हेरिटेज, कल्चर, फेस्टिबल, ल्यान्डक्राइब, वाइल्डलाइफ लगायतका थुप्रै क्षेत्रहरू छन् । यी क्षेत्रहरूको प्रवद्र्धनबाट पनि नेपालले पर्यटन क्षेत्रको विकास एवं विस्तार गर्न सक्छ र प्रयाप्त फाइदा लिन सक्छ । तर यी क्षेत्रहरूको कमै प्रचार प्रसार भएका छन् ।

त्यसैले, भ्रमण वर्षलाई लिएर हामीले दुई तीन लाइनमा पर्यटन गन्तव्य वर्गीकरण गर्ने र सोही अनुरूप प्रचार प्रसार गर्ने नीति लिएका छौँ । पहिलो त पर्वतीय एड्भेन्चर टुरिजम भइहाल्यो त्यसपछि अन्य विविध प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरू पर्छन् । यसलाई पनि हामीले मौसमअनुसार वर्गीकरण गरेर प्रमोट गर्ने नीति बनाएका छौँ । जसमा समर, मसुन र विन्टर गरेर तीन सिजनका लागि सोही किसिमको टुरिजम प्रवद्र्धनमा लागेका छौँ । विशेष गरी अक्टुबर नोभेम्बर र डिसेम्बर महिनामा बढी पर्यटक लाग्ने भए पनि हामीले अरू मौसमहरूमा पनि कसरी पर्यटक आकर्षण गर्न सकिन्छ भनेर लागिरहेका छौँ । अहिले त्यसको खाका तयार भइसकेको छ । सबैलाई एक्कै किसिमको पर्यटन क्षेत्र मन पर्छ भन्ने होइन कसैलाई एड्भेन्चर मनपर्ला र कसैलाई ट्रेकिङ, कसैलाई वाइल्ड लाइफ, कसैलाई ¥याफ्टिङ सोही अनुरूप हामीले कार्यक्रमहरू तय गरेका छौँ । यिनै क्षेत्रको सुधार व्यवस्थापन र प्रचार प्रसारमा हामी लागेका छौँ ।

सन् २०१७ मै भ्रमण वर्ष २०२० लाई मनाउने निर्णय भएको थियो । तर तयारी भने सन् २०१९ को करिब करिब अन्त्य अन्त्यमा मात्र आएर भएको देखिन्छ । जब प-यो राति तब बुढी ताती जस्तो भएन र ?

भ्रमण वर्षको निर्णय २०१७ मा भए पनि तयारी भने सन् २०१८ देखि नै भएको हो । तयारीको गतिलाई हेर्दा अहिले भ्रमण वर्षको पूर्वसन्ध्यामा मात्र आएर तयारी भएको हो कि जस्तो देखिएको हो । तर त्यसो होइन । हामीले गत वर्षदेखि नै काम अघि बढाइरहेका थियौँ । पर्यटन क्षेत्रको पहिचान, विकास सुधार तथा प्रवद्र्धनका काम भइरहेका थिए । केही हदसम्म स्थानीय निकायदेखि प्रादेशिक हुँदै सङ्घीय सरकारसम्मको संरचनागत रूपमा काम गर्दा ढिलाइ हुन गएको हो । तर काम भने भइ नै रहेको थियो । फेरि भ्रमण वर्ष २०२० लाई मानिए पनि यही वर्ष मात्र हाम्रो लक्ष्य होइन । २०२० पछिको अबको बाटो पर्यटन क्षेत्रको विकास विस्तार तथा प्रवद्र्धन गर्दै रोजगारीको सिर्जना गर्ने र यसैको माध्यमबाट देशको आर्थिक रूपान्तरण गर्नु हो । २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सन् २०३० सम्ममा करिब ३५ लाख पर्यटन नेपाल भित्र्याउने हाम्रो लक्ष्य हो ।

के भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिएला त ? के छन् योजनाहरू ?

अहिले सरदर वार्षिक १२–१३ लाख पर्यटक नेपाल आइरहेका छन् । पर्यटन क्षेत्रमा त्यस्तो केही खास कार्यक्रम नचलाउँदा त यति पर्यटक आइरहेका छन् भने विशेष कार्यक्रमसहित अभियान नै चलाउँदा नपुग्ने भन्ने हुँदैन । अहिले हामीले पर्यटन क्षेत्रलाई विशेष रूपमा प्रमोट गर्दै छौँ । देश विदेशमा प्रचार प्रसार भइरहेको छ । विदेशस्थित हाम्रा दूतावासहरूमा भ्रमण वर्षका कार्यक्रम तथा प्रिलन्चिकका कार्यक्रमहरू गरिरहेका छौँ । यसले पर्यटक आकर्षित हुने हाम्रो अपेक्षा हो ।

पर्यटकको मुख्य बजार भारत, चाइना, जापान लगायत अमेरिका तथा युरोपेली मुलुकमा समेत प्रचार प्रसारका काम भइरहेका छन् । भ्रमण वर्षकै अवसरमा जनवरी १ मा भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा ४० देशका प्रतिनिधिहरू नेपाल आउँदै छन् । हामीले विदेशी विशिष्ट पाहुना तथा राजदूतहरूलाई आमन्त्रण गरिसकेका छौँ । र सोही दिन विदेशस्थित हाम्रा जति पनि दूतावास छन् ती निकायहरूमा समेत विदेशी विशिष्ट व्यक्तित्वहरूलाई राखेर भ्रमण वर्ष २०२० का कार्यक्रमहरू गर्न भनेका छौँ । यसले भ्रमण वर्ष २०२० सफल हुने हाम्रो विश्वास छ । त्यस्तो कुनै वातावरणीय तथा प्राकृतिक समस्या नआए २० लाख पर्यटक पुग्नेमा हामी ढुक्क छौँ ।

भ्रमण वर्षको लक्ष्य सङ्ख्यात्मक वृद्धि मात्र हो कि गुणात्मकता पनि हो ? यसबारे बोर्डले के सोचेको छ ?

पक्कै पनि हाम्रो लक्ष्य पर्यटकको सङ्ख्यात्मक वृद्धि मात्र होइन, हामीले खोजेको त गुणात्मक वृद्धि हो । यदि पर्यटकको सङ्ख्या मात्र वृद्धि हुने तर देशलाई रेभेन्यु नहुने, यहाँका जनताले रोजगारी नपाउने र नेपालका प्रचार प्रसार नहुने हो भने के काम ? यसैले यो विषयमा हामी संवेदनशील छौँ । कसरी क्वालिटीके पर्यटक भित्र्याउन सकिन्छ, अहिले हाम्रो ध्यान त्यतातिर केन्द्रित छ । युरोप, अमेरिका, जापान लगायतका पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सकिए अधिकतम लाभ लिन सकिने हाम्रो बुझाइ हो । अहिले ती क्षेत्रमा पनि प्रचार प्रसारको कामलाई तीव्रता दिइएको छ ।

अर्को कुरा हामीले पर्यटकको भ्रमण समयावधिलाई कसरी लम्ब्याउन सकिन्छ र बढीभन्दा बढी खर्च गराउन सकिन्छ भन्ने हो । तर यो बढो गाह्रो विषय हो । अहिले मान्छेहरूसँग प्रयाप्त पैसा छ तर समय छैन । बरु टाइम टाइममा घुम्न निक्लिने तर छोटो समयका लागि निक्लनेहरू हुन्छन् । यस्तोमा हामीले अधिकतम १२ दिनलाई बढाएर १४ दिनसम्म पु¥याउन सकिन्छ कि भन्ने योजना अघि बढाएका छौँ । त्यसका लागि सम्भावित पर्यटकीय क्षेत्रहरूको समेत प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । खर्च गराउने सवालमा अहिले एक पर्यटकले दैनिक ४० डलरको खर्च गर्ने गरेका छन् । यसलाई बढाएर ५०–६० र त्योभन्दा पनि अझ माथि लैजान सकिन्छ कि भन्ने हो । यो व्यावहारमा त्यति सहज विषय भने होइन ।

भ्रमण वर्षलाई लिएर पर्यटकहरूको सुरक्षा र संवेदनशीलतालाई कसरी मूल्याङ्कन गर्नुभएको छ । यसको व्यवस्थापन कसरी हुँदै छ ?

हाम्रो गम्भीर चुनौतीको विषय यही हो । तर पहिले जस्तो अस्तव्यस्त र लापरबाही छैन । हामीले पर्यटकको आगमन केन्द्र त्रिभुवन विमानस्थल, अध्यागमन विभागदेखि पर्यटन गन्तव्यसम्मको पर्यटकको सुरक्षा ग्यारेन्टीको प्रत्याभूति गराएका छौँ । हाम्रोमा आउने पाहुँना पर्यटकले त्यस्तो कुनै खालका समस्या भोग्नु पर्दैन । विशेषतः हाम्रो प्रमुख चुनौतीको विषय भनेको चक्रपथ (रिङरोड)को यातायातको हो । त्यसमा पनि हामीले संवेदनशीलतालाई हेरी सावधानी अपनाएका छौँ । पाहुनाको स्वागत, सत्कार र नम्र व्यवहारका लागि ट्राफिक प्रहरी सहकार्यमा ३ हजार ट्याक्सी चालकहरूलाई तालिम प्रदान गर्दैछौँ । त्यसमा पनि भाडामा के कसरी सहुलियता प्रदान गर्न सकिन्छ, त्यसमा पनि गृहकार्य भइरहेको छ ।

यता अर्को चुनौतीको विषय हवाई फ्लाइटमा छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले सबै चाप थेग्न सक्ने अवस्थामा छैन । त्यसैले छिटोभन्दा छिटो गौतबुद्ध विमानस्थल तयार गर्ने गरी काम अघि बढिरहेको छ । यता त्रिभुवन विमानस्थलको समेत धावनमार्ग सुधारको काम भइरहेको छ । यो ढिलोमा डिसेम्बरसम्ममा तयार हुँदै छ । त्यसपछि २४सै घण्टा एयरपोर्ट सञ्चालनमा आउने छ र यसले पर्यटन आगमनमा केही सहजता मिल्ने छ ।

पर्यटकको लजिङ फुडिङमा समस्या छैन । अहिले नेपालमा भएका होटल लज तथा होमस्टेहरू नै प्रयाप्त छन् । साना ठूला र तारे होटलहरू गरी २५ लाख पर्यटक धान्ने अवस्था छ । त्यसैले यसमा चिन्ता गर्नुपर्ने अवस्था छैन । पर्यटकको स्वागत, सत्कार तथा सेवामा हामीले २० लाख जनशक्तिलाई तालिम दिँदै छौँ । यसले पर्यटन क्षेत्र पर्यटकमैत्री हुने हाम्रो विश्वास छ ।

भ्रमण वर्षलाई लिएर कति खर्च हुँदै छ नि ?

भ्रमण वर्षलाई नै लिएर करिब ३० करोड बजेट छुट्याइएको छ । गत वर्षको १० करोडसहित अहिले अर्थमन्त्रालयले १० करोड र पर्यटन बोर्डले १० करोड गरी कुल ३० करोड रुपियाँ भिजिट नेपाल २०२० सचिवालयलाई दिइएको छ । यही बजेटमा अहिले पर्यटन वर्षको प्रचारप्रसार तथा प्रमोटका कामहरू अघि बढिरहेका छन् ।

अन्त्यमा, भ्रमण वर्षको सुरुवात कहाँबाट कसरी गर्ने योजना छ ?

भ्रमण वर्ष २०२० को सुरुवात जनवरी एकमा भव्य रूपमा काठमाडौँबाट गरिने छ । विभिन्न निकाय, सम्प्रदाय, विभाग विशिष्ट पाहुनाहरूका बीच टँुडिखेलबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमका निम्ति ४० देशका पर्यटन तथा पराष्ट्र मन्त्री लगायतका विशिष्ट पाहुनाहरू नेपाल आउँदै छन् । त्यसमा विशिष्ट कलाकार, वायुसेवा सञ्चालक लगायतका प्रतिनिधिहरू पनि रहने छन् । केन्द्रमा काठमाडौँ र प्रदेश स्तरीय सातै प्रदेशमा भव्य रूपमा विविध कार्यक्रम गरी भिजिट नेपाल २०२० को उद्घाटन हुने छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.