बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नायब सुब्बाले थुपारे १५ करोड अवैध सम्पत्ति, परे अख्तियारकाे फन्दामा

मङ्गलबार, १० मङ्सिर २०७६, २१ : ३५
मङ्गलबार, १० मङ्सिर २०७६

सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई । 

    राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता । मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका गुप्ताले २०४७  असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    गुप्ताको वैध आय रु चार करोड ५४ लाख ७२ हजार २४६ रहेको छ । तर आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति रु १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति रु १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

    आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोल पम्प, पसललगायतमा लगानी गरेको पाइएको छ । 

    यस्तै शान्ति सुरक्षा कायम गराउने र गलत काम गर्न रोक लगाउने नेपाल प्रहरीका कर्मचारीले नै घुस लिएको अभियोग लागेपछि आज विशेष अदालतमा मुद्दा दायर भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गञ्जभवानीपुर, बारामा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारविरुद्ध आज मुद्दा दायर गरिएको छ । 

    भारतबाट मालसामान ल्याउन सहज गरिदिने भन्दै उनले सोवाग्राहीबाट रु ६० हजार घुस लिएको अभियोग लागेको छ । आयोगले घुस लिएको रकम बराबरको बिगो दायर गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप