बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साढे तीन दिनका मुख्यमन्त्री !

मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा राजीनामाको घोषणा
मङ्गलबार, १० मङ्सिर २०७६, १८ : ०३
मङ्गलबार, १० मङ्सिर २०७६

एजेन्सी । पाँच वर्ष महाराष्ट्रका मुख्यमन्त्री रहेका देवेन्द्र फडणवीसको दोस्रो कार्यकाल चार दिन पनि चल्न सकेन । फडणवीसले अजित पवारको भरोसामा हतार–हतारमा केन्द्रबाट राष्ट्रपति शासन हटाएर शनिबार बिहान मुख्यमन्त्रीको पदका लागि शपथ लिएका थिए । अजितलाई उप–मुख्यमन्त्री बनाइएको थियो ।

गुपचुप सरकार बनाएको मात्र तीन दिनपछि अजित पवारलाई सत्ताको चाबी अझै पनि काका शरद पवारसँग रहेको महसुस भएको थियो । मङ्गलबार बिहान सर्वोच्च अदालतले फ्लोर टेस्टको फैसला सुनाएपछि दिउँसो अजितले गुपचुप राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि नै फडणवीसले पनि राजीनामाको घोषणा गरे । यसरी लोकसभा चुनावमा जीत हासिल गरेपनि भारतीय जनता पार्टीको हातबाट पहिलो ठूलो राज्य फुस्केको देखियो ।

यस्तो थियो घटनाक्रम:

बिहान १०:४५ – सर्वोच्च अदालतको फैसला

फडणवीस र अजित पवारले गुपचुप रुपमा शपथ ग्रहण गरेको विरुद्ध शिवसेना, काँग्रेस र राकपाले शनिबार सर्वोच्च अदालतमा याचिका दायर गरेका थिए । त्यसमाथि सर्वोच्च अदालतले मङ्गलबार फैसाला गर्दै बुधबार फ्लोर टेस्ट गर्नुपर्ने आदेश दियो । फ्लोर टेस्ट ओपन ब्यालेटको माध्यमबाट गर्न भनिएको थियो । शिवसेना, काँग्रेस र राकपा पनि यही चाहन्थे किनभने उनीहरुलाई क्रस भोटिङको डर थियो ।

बिहान ११:०० बजे – अजित पवारको गोप्य भेटघाट

भारतीय मिडियाका अनुसार सर्वोच्च अदालतको फैसला आएपछि मुम्बईमा अजित पवारले काका शरद पवार र उनको छोरी सुप्रिया सुलेसँग भेट गरेका थिए । यस भेटमा अजित पवारलाई भाजपाको साथ छोड्न मनाइएको थियो ।

दिउँसो १ बजे – नयाँ दिल्लीमा मोदी–शाह–नड्डाको बैठक

नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र जेपी नड्डाबीच बैठक भयो । यस बैठकको एजेन्डा बाहिर नआएपनि उक्त बैठकमा सर्वोच्च अदालतको फैसलाबारे छलफल भएको थियो ।

२:३० बजे – अजितको राजीनामा

अजित पवारले राजीनमाको घोषणा गरे । उनले आफ्नो राजीनामा राज्यपाल भगत सिंह कोश्यारीलाई नभएर मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई बुझाएका थिए ।

३:३० बजे – मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा राजीनामाको घोषणा

फडणवीसले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको भोलि फ्लोर टेस्टको फैसलापछि अजित पवारले आफूसँग भेटेर केही कारणले गठबन्धनमा रहन नसक्ने बताउँदै आफूलाई राजीनामा बुझाएको जानकारी दिए । अजितको राजीनामा पछि आफूहरुसँग पनि बहुमत नरहेकाले राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।

‘उद्धव पाँच वर्ष मुख्यमन्त्री’

यता, शीव सेनाको नेता सञ्जय राउतले अजितले राजीनामा दिएर आफ्नो साथमा आएको जानकारी दिँदै भने, ‘उनी हाम्रो साथमा छन् । उद्धव ठाकरे पाँच वर्षका लागि महाराष्ट्रको मुख्यमन्त्री बन्नेछन् । यसअघि सोमबार राती विपक्षी दलका १६२ विधायकले मुम्बईस्थित ग्रान्ड ह्यातमा एक साथ पुगेर शक्ति प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप