मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा विवाहपञ्चमीको रौनकः सिताराम विवाहको विधि आरम्भ (फोटोफिचर)

मङ्गलबार, १० मङ्सिर २०७६, १७ : ४५
मङ्गलबार, १० मङ्सिर २०७६

जनकपुर । मिथिलाञ्चल क्षेत्रमा अहिले सितारामको विवाहको उल्लासपूर्ण उत्सव सुरु भएको छ । सिता र रामको विवाह भएको दिनलाई उत्सवको रुपमा मनाउनका लागि सात दिवसीय विवाहपञ्चमी महोत्सव आजबाट शुरु भएको हो । जनकपुरधाम अहिले विवाहपञ्चमी महोत्सवका कारण श्रद्धालु भक्तजनले भरिभराउ छ उनीहरु आउनेक्रम जारी छ ।

भगवान रामले जनकपुरधाममा राजा जनककी छोरी सितासंँग विवाह गरेको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन विधि गरिन्छ । नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको छ । सोही अवसरमा मंगलगान समेत गाइएको छ ।

त्रेतायुगमा समेत भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला स्वागत गर्दै यो गाना गाइएको संस्कृतिविद् डा.रेवतीरमण लालको भनाई छ । यो विषयमा वाल्मिकी रामायणमा समेत उल्लेख गरिएको पाइन्छ ।

राम लक्ष्मणको स्वागतमा कृत्रिम बजार प्रदर्शनी

जनकपुरधाम नगर दर्शन विधिका लागि जनकपुरधामस्थित जानकी मन्दिरकै प्राङ्गणमा प्राचिन शैलीको कृत्रिम बजार बनाइएको छ । सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली, चुरी, लहठी लगायतका सामग्रीहरु राखिएको छ ।

उक्त अवसरमा राम लक्ष्मणको प्रतिकको रुपमा दुई बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार हुँदै नगर परिक्रमा गराईन्छ । यो पटक भने प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा राम र लक्ष्मणलाई नगर दर्शन गराइएको छ ।

राम लक्ष्मणको नगर दर्शन गराउँदा पूरै मिथिलाको वातावरण अद्भूत देखिएको जानकी मन्दिरका उत्तरराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए । प्रत्येक ५ वर्षमा रामको जन्मभूमिमा भारतको उत्तर प्रदेशको अयोध्याबाट आउने साधुसन्त सहितको जन्ती यस वर्ष पनि आउदैँछन् ।

१२ गते जनकपुर आइपुग्ने अयोध्याका साधुसन्त सहितका जन्तीलाई ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको महन्त बैष्णवले बताए ।

विवाहपञ्चमीको दिन विदाको माग

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले रामजानकी विवाहोत्सवको अवसरमा नेपाल र भारत दुवै देशबाट दुरदराजका श्रद्धालु भक्तजन आउने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपत्र लेखेर सार्वजनिक विदा दिन आग्रह गरेका छन् । 

यता प्रदेश नम्बर २ को सरकारले विवाहपञ्चमीको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ । विवाह महोत्सवका दिन जनकपुरमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । श्रद्धालु भक्तजनको सुरक्षाका साथै शान्तिपूर्ण वातावरणमा मेला सम्पन्न गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

विवाहपञ्चमीको दिन जनकपुरमा २ हजारदेखि ३ हजारसम्म नेपाल प्रहरी, करिब १ सय ट्राफिक प्रहरी र ७ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गर्ने तयारी रहेको प्रहरी उपरिक्षक खनालले जानकारी दिए । त्यस्तै, संवेदनशील सयभन्दा बढी स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

सप्ताहव्यापी कार्यक्रमअनुसार विवाह महोत्सवको पहिलो दिन मंसिर १० गते जनकपुरधाम नगर दर्शन, ११ गते फूलबारी लीला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयंवर, १६ गते वैवाहिक कार्यक्रम र अन्तिम दिन अयोध्याबाट आएका जन्तीलाई विदाई गरिने कार्यक्रम रहेको जानकी मन्दिर व्यवस्थापनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप