शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सागको पदक विजेतालाई उचित सम्मान गरिने

मङ्गलबार, १० मङ्सिर २०७६, १४ : १२
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौं । नेपाल सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई विगतको भन्दा उचित सम्मान गर्ने घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको सागमा सहभागी खेलाडीको विशेष पुरस्कार घोषणा कार्यक्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले खेलाडीलाई विगतको भन्दा उचित पुरस्कारबाट सम्मान गरिने बताए । ‘नियममा व्यवस्था भएभन्दा पनि बढी पुरस्कारबाट खेलाडीलाई उचित सम्मान गरिनेछ । युवा तथा खेलकुद मन्त्रालयले ल्याएको प्रस्तावलाई मन्त्री परिषद्मार्फत कार्यन्वयन गर्न हामी तयार छौं,’ अर्थमन्त्री खतिवडाले भने ।

यसअघि सागमा सहभागी खेलाडी, प्रशिक्षक, पदाधिकारी र अफिसियललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनसहित हौसला दिने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्यमा एक्कासी समस्या आएका कारण अर्थमन्त्रीले खेलाडीको सम्बोधन गरेका थिए । नेपाल सरकारले यसअघि १२ औं सागमा स्वर्ण जित्नेलाई जनही तीन लाख, रजत जित्नेलाई दुई लाख र कांस्य जित्नेलाई एकलाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।

अर्थमन्त्री खतिवडाले साग खेलकुद देशको भाइचारा र सम्मृद्धिसँग जोडिएको बताए । ‘सार्क सम्मेलन हुन नसकेको अवस्थामा साग खेलकुदमा सबै देशको सहभागिता रहनु मुख्य कुरा हो । सन्सारमा खेलकुद मार्फत ठूलाठूला राजनितिक र कुटनिति विषयले सफलता पाएको उदाहरण छ । सरकारले साग खेलकुदलाई पनि त्यसैको रुपमा लिएको छ ।

नेपाल भ्रमण बर्ष सन् २०२० अघि आयोजित सागलाई भ्रमण बर्षको पूर्व अभ्यासका रुपमा लिनुपर्छ । खेलकुद मार्फत पर्यटनको विमासमा पनि ठूलो सहयोग पुग्नेछ,’ खतिवडाले भने । उनले नेपालको भौगोलिक अवस्था अनुसार साहसिक खेललाई अर्थोपार्जन र ब्यवसायको रुपमा पनि अगाडी बढाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सागलाई सफल पार्नु सबै नेपालीको कर्तब्य भएको बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले नेपाली खेलाडीलाई उच्च मनोबलका साथ सागका स्वर्ण पदक ल्याउन शुभकामा दिए ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले अर्थमन्त्री मार्फत अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल निर्माणका लागि सहयोग गर्न सरकारसँग आग्रह गरेका थिए । सोही अवसरमा बंगलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई जनही तीनलाख रुपैयाँ पुरस्कारबाट सम्मान गरिएको थियो । भलिबल टोलीलाई अर्थमन्त्री खतिवडाले पुरस्कार प्रदान गरेका थिए ।

जग्गा भए कभर्डहल    

सरकारले राष्ट्रिय खेल भलिबलको अत्याधुनिक कभर्डहल निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले राखेपले जग्गाको ब्यवस्था गरेमा सरकारले सुबिधा सम्पन्न कभर्डहल बनाइदिने बताए । ‘सानोमा म पनि भलिबल खेल्थे । मलाई मनपर्ने खेल भलिबलनै हो ।

जग्गाको ब्यवस्था भएरका भलिबलको आफ्नै कभर्डहल सरकारले बनाई दिनेछ । सरकारको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्दछु,’ अर्थमन्त्री खतिवडाले भने । नेपाल सरकारले तीन वर्षअघि भलिबललाई नोपलको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप