बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समाजवादीले सरकार छाडेन, अब के गर्छ राजपाले ?

मङ्गलबार, १० मङ्सिर २०७६, ०९ : २५
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ । ‘कात्तिक ३० गते समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ र मङ्सिर पहिलो हप्ता दुई पार्टीबीच एकताको घोषणा हुन्छ, तपाईं हेर्नुहोला,’ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता रातोपाटीसँगको कुराकानीमा भनेका थिए । मङ्सिरको पहिलो हप्ता जसरी पनि एकीकरण हुने उनको ठोकुवा थियो ।

तर, न समाजवादी पार्टी सरकारबाट बाहिरियो न त मङ्सिर पहिलो हप्ता एकीकरण घोषणा नै भयो । उनको दाबी विपरित समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय फेरेका छन् । मन्त्रालय फेरेपछि समाजवादी पार्टी तत्कालै सरकार छाड्ने पक्षमा नरहेको कुरा स्पष्ट भएको छ ।

संयोजक महतोले सञ्चारकर्मीसँग समाजवादी पार्टीले केन्द्रीय समितिको बैठकबाट एकताबारे निर्णय गरेर सरकार छाड्ने दाबी गरेका थिए । तर त्यस्तो केही भएन । समाजवादी पार्टीको संघीय परिषद् र केन्द्रीय समितिको बैठक सम्पन्न भयो । राजपा नेपालसँग एकीकरणको विषय बैठकमा एजेण्डा पनि बनेन ।


चक्रीय प्रणालीको चक्रमा रुमलिएको राजपा नेपालले समाजवादी पार्टीसँग एकीकरण गर्ने भनेर आफ्ना सबै गतिविधिहरु ठप्प पारेको थियो । पार्टीको महाधिवेशन लगायत पार्टीको समायोजन पनि स्थगित गरेको थियो । समाजवादी पार्टीसँग एकीकरण गरेर मात्र एकताको महाधिवेशनबाट पार्टी समायोजनका कार्यभार पूरा गर्ने राजपा नेपालले तयारी गरिरहेको थियो । संयोजक राजेन्द्र महतो, अध्यक्षमण्डलका सदस्यद्वय महेन्द्रराय यादव र शरतसिंह भण्डारीले पहिला पार्टीको एकीकरण गरेर मात्र महाधिवेशन गर्ने भनेर पार्टीमा दबाब दिइरहेका थिए ।

समाजवादी पार्टीसँग एकतामा ब्रेक लागेपछि अहिले पार्टी नै अन्योलमा परेको छ । महाधिवेशनको मिति तय हुन सकेको छ भने एकीकृत पार्टीमा छ वटा पार्टीको समायोजनका काम पनि रोकिएको छ । समाजवादी पार्टीसँग एकीकरणको कुरालाई लिएर पार्टी दुईटा गुटमा विभाजित हुन पुगेको छ ।

अहिले राजेन्द्र महतो नै भन्न थालेका छन्, ‘अब समाजवादी पार्टीसँग तत्काल एकीकरण हुँदैन ।’ उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेकै दिन संयोजक महतोले भनेका थिए, ‘समाजवादी पार्टी सरकारबाट नबाहिरिएसम्म एकीकरण हुँदैन, तर एकीकरणका लागि आफ्नो प्रयास जारी रहनेछ ।’

अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले पनि सरकारबाट नबाहिरएसम्म राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण नहुने बताए । ‘दुई पार्टीबीच एकीकरणको प्रयास जारी रहनेछ । तर, एकीकरण भन्दा पहिले समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्छ,’ उनले रातोपाटीसँग भने, ‘यद्यपि, समाजवादी पार्टीसँग एकीकरणको प्रयास समाप्त भएको छैन ।’

सो पार्टीका महासचिव एवम् प्रवक्ताले केशव झाले मङ्सिर १४ गते हुने उपचुनावपछि एकीकरण हुने निश्चित रहेको बताए । समाजवादी पार्टी सरकारमा रहिरहेसम्म एकीकरण नहुने बताउँदै उनले समाजवादी पार्टी निर्वाचनपछि सरकारबाट बाहिरिने ठोकुवा गरे । समाजवादी पार्टी सरकारबाट बाहिरिने मौकाको खोजीमा रहेको उनको दावी थियो ।

अझै पनि राजपा नेपालका नेताहरु समाजवादी पार्टी सरकारबाट बाहिरिने आशा लिएर बसिरहेका छन् । तर, तत्काल त्यो अवस्था नआउने विश्लेषण भइरहेको छ । सरकारबाट बाहिरिने विषयमा राजपा नेपालको भूमिकाप्रति समाजवादी पार्टी सशंकित रहेको छ । सरकारबाट बाहिरिने बित्तिकै राजपा नेपाल सरकारमा सामेल हुने र प्रदेशसम्म पनि समीकरण परिवर्तन हुने बुझाइ समाजवादी पार्टीको रहेको छ । यो कुरा स्वयम् अध्यक्ष उपेन्द्र यादव मङ्सिर ७ गते बसेको पदाधिकारी बैठकमा राखेका थिए । आफूहरुले अहिले सरकार छाडे राजपा नेपाल त्यसमा सहभागी हुने र प्रदेश २ को सत्ता समीकरण पनि परिवर्तन हुनसक्ने बताउँदै अहिले नै सरकार छाड्न उपयुक्त समय नरहेको उनको धारणा थियो ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंह भन्छन्, ‘हामी पनि सरकारमा बसिराख्न चाहेका छैनौँ । तर, अहिले त्यतिकै छाड्न पनि मिलिरहेको छैन । राजपा नेपालले सरकार छाड्ने विषयलाई शर्त बनाउनु हुँदैन । ’ राजपा नेपालले उठाएको सरकार छाड्ने विषय सही भए पनि त्यसलाई शर्तको रुपमा समाजवादी पार्टीले स्वीकार नगर्ने उनले स्पष्ट पारे । ‘सरकारसँग वार्ता गर्न पार्टीले वार्ता समिति बनाएको छ । उपचुनावपछि वार्ता हुन्छ । वार्तामा कुरा नमिले सरकारबाट बाहिरिन्छौँ,’ उनले भने, ‘हाम्रो माग अनुसार सरकारले संविधान संशोधन गर्छ भन्ने हामीलाई विश्वास छैन । तैपनि हामी अन्तिम पटक सरकारसँग हामी कुरा गर्न चाहन्छौँ । कुरा नमिले सरकार छाड्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप