शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिपरा गाउँपालिका उपनिर्वाचनः उम्मेदवारदेखि शीर्ष नेतृत्वसम्मको प्रतिष्ठाको विषय, राजपालाई थप चुनौती

सोमबार, ०९ मङ्सिर २०७६, १८ : २१
सोमबार, ०९ मङ्सिर २०७६

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको हुने उपनिर्वाचनका लागि उम्मेदवारदेखि सम्बद्ध दलका शीर्ष नेताहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिक्रम चौधरी, राजपा नेपालबाट रविता चौधरी, नेपाली कांग्रेसबाट विजय कुमार यादव, समाजवादी पार्टीबाट रामजानकी यादव र जनमत पार्टीबाट अञ्जुदेवी मण्डल सहितकाले उम्मेदवारी दिएका छन् ।

उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि नेकपा, काँग्रेस, राजपालगायतका नेताहरु समेत अहोरात्र प्रचार प्रसारमा लागिपरेका छन् । जसले गर्दा पिपरा गाउँपालिकामा चुनावी माहोल थप तातिएको छ । 

अहिले महोत्तरीको पिपरा गाउँपालिकामा जताततै उम्मेदवारको पोष्टर, पम्पलेट, तुल, व्यानर झुण्ड्याइएको देखिन्छ । व्यक्तिको घरदैलोदेखि, चोक विद्युतीय पोल र सार्वजनिक स्थानहरुमा समेत उम्मेदबारहरुको प्रचार–प्रसारको सामग्री झुण्ड्याइएको देखिन्छ । 
कतिपय ठाउँमा तुल र ब्यानर बाँसमा गाडेर रुख झैँ सजाइएको छ । एकै ठाउँमा बिभिन्न पार्टीबाट उम्मेदबारी दिएकाहरुले आ–आफ्नो तुल र ब्यानर झुण्ड्याएका छन् भने पर्चा, पम्पलेटले पिपरा बजार रंगीनचंगी बनेको छ । पिपरा बजारको हरेक पसल, घर टहरा तथा रुखहरुमा पर्चा पम्पलेट टाँसिएको छ ।
पर्चा, पम्पलेट, तुल, ब्यानर टाँस्न उम्मेदबारहरु बीच प्रतिस्पर्धा नै चलेको छ । 
यस्तो छ उम्मेदवारहरुको रणनीति

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राजपा नेपालका नेता महन्थ ठाकुर प्रतिनिधि सभाका सदस्यमा निर्वाचित छन् भने प्रदेशसभा सदस्यमा रानी शर्मा तिवारी विजयी भएकी थिइन् । 
सो क्षेत्रमा पर्ने पिपरा गाउँपालिकाको प्रमुख पनि राजपाबाट विजय चौधरी नै निर्वाचित भएका थिए । जसले गर्दा राजपा नेपाललाई आफ्नो आधारक्षेत्र बचाउने चुनौती छ । 
चुनाव आफ्नो पक्षमा पार्न फिल्डमा अध्यक्षमण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्यत्रय राजेन्द्र महतो, महन्थ ठाकुर र शरतसिंह भण्डारीसहित प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी लगायत खटिएका छन् । पिपरामा उम्मेदवार भएकी रविता विजय चौधरीका धर्मपत्नी हुन् । 

राजपा नेपालका संयोजक राजेन्द्र महतोले पिपरा गाउपालिकाको निर्वाचन हाम्रो लागि आन्दोलन रहेको भन्दै राजपाका उम्मेदवार रविता जितेमात्रै मधेश आन्दोलनले जित्ने भन्दै प्रचारप्रसारको क्रममा मतदातालाई रिझाउनका लागि भन्ने गरेका छन् ।

त्यस्तै तत्कालीन नेकपा एमालेबाट झिनो मतले राजपाका उम्मेदवारबाट हारेका विक्रम चौधरीले नेकपाबाट उम्मेदवारी दिएपछि नेकपा र राजपा वीचको व्यापक प्रतिस्पर्धा हुने अड्कलवाजी स्थानीयस्तरमा हुने गरेका छन् ।

उम्मेदवारहरु मतदातासमक्ष पुगेर विकास निर्माणललाई प्राथमिकता दिई चुनावी अभियानमा लागेका छन् ।

नेकपाले आफ्नो उम्मेदवारलाई जिताउनका लागि विभिन्न रणनीति योजना अघि सार्दै पिपरा गाउँपालिकालाई नमूना पालिका र निर्माणाधीन अस्पताल निर्माण गरी संचालन ल्याइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने र गाउँपालिकाको कामकारबाही पारदर्शीता बनाउने प्रतिवद्धता जनाएको छ । 

नियमित कार्यालय संचालनका लागि विभिन्न प्राविधिक संयन्त्रलाई प्रयोगमा ल्याइने भन्दै मतदाता समक्ष मत माग्ने क्रममा उम्मेदवारी दिएका विक्रम चौधरीले बताउने गरेका छन् । 
त्यस्तै जनमत पार्टीबाट उम्मेदवार दिएकी अञ्जुदेवी मण्डलले मधेश स्वराजका लागि र मधेशी जनताको हक अधिकार प्राप्त गर्नका निमित्त विभेदलाई अन्त्य गर्नलाई जनमतलाई मत दिन मतदाता समक्ष आग्रह गरेकी छिन् । 
चुनावी प्रचारप्रसार पूर्व नै नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवार विक्रम चौधरी विजयी भएमा गाउँपालिकाका सिचाईको व्यवस्था र कला सांस्कतिलाई जोड्नका लागि विद्यापतिको कर्मथलोलाई पर्यटनीय नगरीको रुपमा विकास गर्ने घोषणा गरेका थिए । 

यस्तै चुनावी अभियानका क्रममा नेपाली कांग्रेस, समाजवादी, राजपा र जनमत पार्टीका केन्द्रीय नेताहरुले पिपरा आएर चुनावी सभामा सहभागिता जनाइसकेका छन् ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी, प्रबवक्ता विश्वप्रकाश शर्मा, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायतले पिपरा बजारमा आएर आफ्ना उम्मेदबारलाई जिताउन आग्रह गरिसकेका छन् । 

पिपरा गाउँपालिकाको उप–निर्वाचन राजपा र समाजवादी दललाई राजनीतिक प्रतिष्ठाको विषय बनेको छ नेकपाका उम्मेदवार विक्रम चौधरी चुनौति बनेका छन् । 

यसअघिका अध्यक्ष चौधरीको गत बैशाखमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

पिपरा गाउँपालिकामा ७ वटा वडा छ भने मतदाताको संख्या १८ हजार ५ सय ८८ रहेको छ । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रह्ने निर्वाचन आयोगको कार्यालय महोत्तरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप