शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिसन मङ्सिर १४ : प्रमुख दलका शीर्ष नेताको ‘म्याराथन’ दौड

सोमबार, ०९ मङ्सिर २०७६, १६ : ५६
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ– मङ्सिर १४ मा हुने उपनिर्वाचनमा आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन प्रमुख राजनीतिक दलका नेताहरु सम्पूर्ण शक्ति खर्चिएर चुनावी कार्यक्रममा खटिएका छन् । स्थानीय स्तरका नेतादेखि जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेतासमेत चुनावी अभियानमा खटाएका दलहरुले परिणाम आफ्नो पक्षमा पार्ने अन्तिम कसरत गरिरहेका छन् ।

वडाध्यक्षदेखि नगरप्रमुख र प्रदेश सभा सदस्यदेखि प्रतिनिधि सभा सदस्यसमेत गरी ३७ जिल्लामा ५२ पदका लागि आगामी साता हुने यो निर्वाचन परिणामले गणितीय हिसाबले तीनै तहको सरकार फेरबदलमा कुनै प्रभाव नपर्ने भए पनि मनोवैज्ञानिक हिसाबले ठूलो अर्थ लाग्ने निश्चित छ ।

त्यही  भएकाले पनि प्रमुख राजनीतिक दलसँगै अन्य राजनीतिक दलहरूले पनि यसलाई प्रतिष्ठाको विषय बनाउँदै चुनावी गतिविधिमा सक्रिय बनेका हुन् । यतिसम्मकी प्रमुख दलका शीर्ष नेताहरु नै वडा स्तरमा हुने चुनावी सभादेखि घरदैलो लगायतका कार्यक्रममा समेत सहभागी भएर मतदाता आफ्नो पक्षमा पार्न लागि परेका छन् ।

तीनै तहमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार भएका बेला हुन लागेको यो उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष काँग्रेस सरकारलाई असफल देखाउन निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कस्सिएको छ भने सत्तारुढ नेकपा आफ्नो पुरानो पकड कायम राख्दै थप स्थानमा विजयी बनेर आफ्नो लोकप्रियता देखाउने प्रयासमा रहेको छ । 

सत्तारुढ दल नेकपाको उपनिर्वाचन कमान्डर रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेत चुनावी गतिविधिमा सक्रिय हुँदै आएका छन् । यो पार्टीका शीर्ष नेताहरु ३७ मध्ये कुनै न कुुनै जिल्लामा पुगेर  प्रत्यक दिन चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । 


नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीकृष्ण ढकालका अनुसार अध्यक्ष प्रचण्डले चितवन, बाँके, नवलपरासी, दाङ, बाग्लुङ लगायतका चुनावी कार्यक्रमलाई सम्बोधन गसिकेका छन् । त्यस्तै प्रचण्डले मङ्सिर १० गते कास्की र ११ गते भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उपनिर्वाचनमा अध्यक्ष प्रचण्डबाहेक महासचिव विष्णु पौडेल, नेताहरु मधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा पुगिरहेका छन् । 

अध्यक्ष प्रचण्डले सोमबार मात्रै चितवनको चुनावी सभालाई सम्बोधन गरेका छन् । चितवनको सभालाई सम्बोधन गदै प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन काँग्रेसलाई आग्रह गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले प्रतिवाद गरेका हुन् । 

‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन्’ प्रचण्डको भनाई छ । 

यसअघि भक्तपुरको चुनावी कार्यक्रममा माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल र सुवास नेम्वाङ लगायतका नेताहरुले सम्बोधन गरिसकेका छन् । यो जिल्लामा अन्तिममा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन् । 

पूर्वी जिल्ला पाँचथर, सुनसरी लगायतका जिल्लामा सुवास नेम्वाङ लगायतका नेताहरु खटिएका छन् । नेम्वाङ विगत एक सातादेखि पूर्वका जिल्लाहरुमै खटिएका छन् ।

यस्तै प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पनि भक्तपुर र कास्कीका चुनावी सभालाई सम्बोधन गर्ने चाहाना राखे पनि मिति भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 
यसअघि प्रचण्ड र विष्णु पौडेलले बाग्लुङ, दाङ लगायतका जिल्लामा पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् । त्यस्तै माधवकुमार नेपाल र बामदेव गौतम भक्तपुर केन्द्रित धेरै कार्यक्रममा सहभागी बनेका छन् । सुरुमा चुनावी कार्यक्रममा सहभागी बनेर नेता नेपाल केही दिनयता विदेश भ्रमणमा छन् । 

उता, काँग्रेसले पनि आफ्नो सम्पूर्ण शक्ति उपनिर्वाचनमा खर्चिएको छ । काँग्रेसका धेरैजसो नेताहरु चुनावी दौडधुपमा लागेका छन् । सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालादेखि विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरु उपनिर्वाचन केन्द्रित जिल्ला दौडाहमा व्यस्त छन् ।

सभापति देउवाले शुक्रबार र शनिबार पोखराको चुनावी सभालाई सम्बोधन गरे भने बाग्लुङको सभालाई सम्बोधन गरे । काँग्रेस नेताहरुले खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमाथि गम्भीर प्रश्न उठाएका बेला सत्तारुढ पार्टी नेकपाका नेताहरुले भने काँग्रेसलाई त्यसको जवाफ निर्वाचन परिणामबाटै दिने तयारीमा छ ।

देउवाले आज (सोमबार) दाङको चुनावी सभालाई सम्बोधन गर्दैछन् भने मङ्गलबार धरान जाने कार्यक्रम रहेका उनका स्वकीय सचिव भानु देउवाले जनाएका छन् ।

त्यस्तै अर्का नेता पौडेलले कात्तिक २८ गतेबाट मङ्सिर २ गतेसम्म झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सुनसरीमा कार्यकर्ता भेटघाट तथा चुनावीसभा भ्याएका छन् ।
मङ्सिर ६ र ७ गते पोखरा र ८ गते बाग्लुङ पुगेको पौडेल ९ गते दाङमा हुँदै १० गते पुनः बाग्लुङ जानेछन् । 

उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार पनि उपनिर्वाचनको दौडधुपमा छन् । 

निधि कात्तिक २१ मा उम्मेदावरी मनोनयनमा पोखरा पुगेका थिए भने त्यसपछि प्रदेश १ र २ मा केन्द्रित छन् । कात्तिक २७ गते उम्मेदवारी मनोनयनमा धरान पुगेको गच्छदार त्यही छन् । महामन्त्री डा. शशांक कोइराला सुनसरी, नवलपरासी हुँदै ६ र ७ मङ्सिरमा पोखरा पुगे भने ८ मङ्सिरमा बाग्लुङ र मङ्सिरमा दाङका कार्यक्रममा जानेछन् ।

कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु पनि चुनावी दौडामा छन् । प्रवक्ता विश्वप्रकाश शर्मा त मङ्सिर १२ गते मौन अवधि सुरु नहुन्जेलसम्म चुनावी कार्यक्रममा व्यस्त रहने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन् ।

अन्य स्थानको तुलनामा कास्की २ मा दलहरुको ध्यान बढी केन्द्रित भएको छ । यो क्षेत्रमा तत्कालीन एमालेका तर्फबाट विजयी बनेका रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचन हुन लागेको हो । जसमा नेकपाका तर्फबाट रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराई र काँग्रेसका तर्फबाट खेमराज पौडेलबीच प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप