केन्द्रीय संस्करण

उपनिर्वाचन २०७६: बागलुङका मतदानस्थलमा कर्मचारी जान थाले

personaccess_timeNov 25, 2019 chat_bubble_outline0

बागलुङ । उपनिर्वाचनको तयारीका लागि बुधबार साँझसम्म निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा पुग्ने भएका छन् । बागलुङ–२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सोमबारदेखि नियुक्ति दिन शुरु गरिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।

यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान कार्य सञ्चालनसम्बन्धी प्रशिक्षण दिइएको थियो । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, कार्यालय सहयागी एक र चार स्वंयसेवक गरी नौजना खटिनेछन् ।

कर्मचारीको खटनपटनसँगै मतदाता शिक्षा, सुरक्षा प्रबन्ध लगायतका कामलाई चुस्त बनाइएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । ‘प्रत्येक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा कार्यकर्ता खटाएर मतदान गर्ने तरिका सिकाइरहेका छौँ’, उनले भने, ‘सञ्चारमाध्यमबाट पनि मतदाता शिक्षासम्बन्धी सामग्री प्रकाशन÷प्रसारण भइरहेको छ ।’

प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ । स्वयंसेवकसमेत गरी कूल ४०५ जना कर्मचारी उपनिर्वाचनमा परिचालित छन् ।

उपनिर्वाचनलाई लक्ष्य गरेर सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । नेपाली सेना, सशस्त्र र जनपद प्रहरी उपनिर्वाचनको सुरक्षामा खटिने उनको भनाइ छ । राज्य विरोधी गतिविधि गर्ने समूहबाट आउन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर छिमेकी जिल्लामा समेत सुरक्षा निगरानी बढाइएको छ । मतदाताको सुरक्षाका लागि मोबाइल गस्तीसमेत हुने जनाइएको छ । मतदानको दिन नजिकिएसँगै दलको प्रचार अभियान पनि तीव्र बनेको छ ।

घरदैलो र चुनावीसभामा केन्द्रित दल मत माग्न व्यस्त छन् ।  प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट दश उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा रहेका छन् ।

स्वतन्त्र उम्मेदवार घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाए पनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गरेका छन् । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदमा सत्तारूढ नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली काँग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...