‘मित्रले मित्रको जमिन हडप्न खोज्नु नै लज्जास्पद !’
नेपालका गाउँबस्तीका जनता आपसी संवादमा भन्छन्, ‘शत्रुले त पेल्छ । पेल्नु नै शत्रुताको पहिचान हो । हामीलाई त मित्रले पनि पेल्छ । सबैभन्दा विशेष सम्बन्धको मित्रले सबैभन्दा विशेष पेल्छ । पेलिआएको छ ।’ बुढापाकाहरू भन्छन् “सज्जनहरू सात कदम सँगै हिँडे भने पनि पक्का मित्र बन्छन्– सताम् सप्तपदी मैत्री । तर यहाँ वर्षौं सँगै हिँडेर पनि मित्रता वन्चनामा परेको छ । यो कुनै पहेली होइन । गाउँखाने कथा पनि होइन । मित्रले मित्रको मुटु खाइरहेको कथा हो । यो यथार्थ हो । ”
मित्र देशको जल, जमिन र आस्थाका सांस्कृतिक धरोहरहरूमाथि मित्रदेशले जबर्जस्ती च्यापु अड्याउन मिल्छ ? लोभ लालसा गर्न मिल्छ ? अतिक्रमण गर्न मिल्छ ? हडप्न मिल्छ ? विशेष सम्बन्ध भन्दाभन्दैको भारतले नेपालको जमिन हडप्न मिल्छ ? विशेष सम्बन्धको विशिष्ट छिमेकी मित्र मुलुकसँग यो एउटा नैतिक, सांस्कृतिक र राजनीतिक प्रश्न हो । आजको यक्षप्रश्न हो ।
रामलाई आदर्श मान्ने भारत । अयोध्याको रामजन्मभूमिमा मन्दिर बनाउन पाउने वातावरण बन्दा कृतकृत्य हुने भारत । रामले त कसैको जमिन हडपेका थिएनन् । जितेर पनि लङ्कालाई अयोध्याको उपनिवेश बनाएका थिएनन् । बरु रावणले कुवेरको मुलुक हडपेको थियो । यथार्थमा अहिले हाम्रो छिमेकी मित्र मुलुक भारतले अङ्गीकार गर्न खोजेको आदर्श रामको कि रावणको ? रावणको आदर्श लिन रुचाएको हो भने भारतले अब रावणकै मन्दिर किन नबनाउने ? प्रश्न यो पनि छ ।
हाम्रा छिमेकी मित्रदेश भारतका ऋषिमन प्रधानमन्त्रीले अयोध्या विवादको पैmसला आफ्ना पक्षमा आएका दिन सार्वजनिक वक्तव्य दिने क्रममा “किसी भी समस्याका हल संवेदना के दायरेमे ही आता है” भन्नुभएको सुनिएको हो । रामजन्मभूमिमाथिको मिचान मुक्तिलाई संवेदनाको दायरामा राखेर सबैको समर्थन जुटाउन खोज्ने तिनै ऋषिमन प्रधानमन्त्री, भारतले मिचेको नेपालको जमिनलाई मिचानमुक्त गर्ने सवालमा चाहिँ संवेदनाहीन बन्नुभएको किन ? नेपालको वातावरण आज प्रश्नमय छ ।
ऋषिमन भारतीय प्रधानमन्त्री मोदीले मानिआएको सनातन शास्त्रले त भन्छ, “अरूको जुन व्यवहार आफूलाई बिझाउँछ, त्यस्तो व्यवहार आपूmले अरूलाई पनि नगर्नू । आत्मनः प्रतिकूलानि परेषम् नसमाचरेत् ।” ऋषिमनले मानिआएको वेदले पनि भन्छ, “सङ्गच्छध्वम् सम्वदध्वम् (ऋग्वेद १०।९१ २) अर्थात् मिलेर अगाडि बढ । मिलेर बोल ।” “मागृधः कस्य स्विद् धनम् (यजुर्वेद ४०।१) अर्थात् कसैको धनसम्पत्तिमाथि लोभ लालसा नगर ।” “ऋतस्य पथा प्रेत (यजुर्वेद ७।४५) अर्थात् सत्यको मार्गमा अगाडि बढ ।” “मित्रस्य चक्षुसा समीक्षामहे –यजुर्वेद ३६।१८) अर्थात् सबैलाई मित्रका आँखाले हेर ।” “सर्वा आशा मम मित्रम् भवन्तु– अथर्ववेद १९।१५।६) अर्थात् चारै दिशामा मेरा मित्र नै मित्र भइदिऊन् ।” “भद्रम् मनःः कृणुष्व (सामवेद १५६) अर्थात् मनलाई सबैको कल्याण मार्गमा लगाऊ ।”
“धर्मम् चरत माधर्मम् सत्यम् वदत नानृतम्
दीर्घम् पश्यत मा ह्रस्वम् परम् पश्यत मापरम् (
वशीष्ठ धर्मसूत्र ३०।१)
अर्थात् धर्मको आचरण गर, अधर्मको आचरण नगर । साँचो बोल, झुटो नबोल । दूरदर्शी बन, सङ्कीर्ण नबन । पछिको कुरा पनि हेर, अहिलेको कुरा मात्र नहेर ।”
अरूलाई ऋषिमनको उपदेश दिइहिँड्ने धर्मतुम्बी ऋषिमना हाम्रा छिमेकी प्रधानमन्त्रीले सरकारी स्तरमा असत्य बोलेर, अर्काको जल जमिन र धर्मक्षेत्र हडप्ने प्रयास गर्नु धार्मिक, नैतिक र व्यावहारिक दृष्टिले पनि कति जायज ?
स्वयम् अयोध्याधीश रामले रावणलाई देखेपछि भाइ लक्ष्मणसँग भनेका थिए,
“यद्यधर्मो नवलवान् स्यादयम् राक्षसेश्वरः
स्यादयम् सुरलोकस्य सशक्रस्यापि रक्षिता ।
(वाल्मीकि रामायण, युद्धकाण्ड ।)
अर्थात् यो रावण तेजस्वी छ, वेदवेत्ता छ, तर यसको आचरण ठीक छैन । आचरण ठीक हुँदो हो, र अधर्मी नहुँदो हो त यो इन्द्रका सुरलोकको समेत पनि रक्षक हुनसक्थ्यो ।”
भारतीय प्रधानमन्त्री मोदीजीले भन्ने मान्ने गरेको धर्मले त भावसंवेदना, अलोभित्व र सत्यलाई सर्वोपरि महत्त्व दिएको छ । नेपालको जल, जङ्गल, जमिन र पहाड देखेपछि मोदीजीका मनमस्तिष्कबाट सत्य संवेदना र अलोभित्व सबै गायब हुन्छन् किन ?
यी त भए नैतिक सांस्कृतिक प्रश्न । अब राजनीतिक प्रश्नमा उभिएर हेरौँ । नेपाल कसैका कृपाले भर्खरै बनेको नयाँ देश होइन । अथर्व वेद परिशिष्टमा छ नेपाल । महाभारतमा छ नेपाल । शिवपुराण, लिङ्गपुराण, स्कन्दपुराण मत्स्यपुराण र श्रीमद् भागवतमा छ नेपाल । नैषधीय चरितम् जस्ता पुराना संस्कृत महाकाव्यहरूमा छ नेपाल । समुद्रगुप्तको शिलालेखमा छ नेपाल । चाणक्यको अर्थशास्त्रमा छ नेपाल ।
लिम्पियाधुरा, हामी नेपालीले जानीमानी आएको पौराणिक अदिकैलाश हो । यो पशुपतिनाथको भूमि हो । यसको सान्निध्यमा पार्वतीकुण्ड अवस्थित छ । नेपालीका सनातन जनजिब्रोमा अदिकैलाश र पार्वतीकुण्डका कथा छन् । कालीनदीका कथा छन् । काली मन्दिरका कथा छन् । त्यहाँका एक एक स्थान स्थानीयताका कथा छन् । नेपालका मगरहरूको भाषामा कुटियाङ्दी शब्दको अर्थ काली नदी हो । नेपालको जनसंस्कृतिमा छ काली नदी । यसै भेगको कुती क्षेत्र जसलाई नेपालका गाउँ गाउँका जनजिब्रोले लामो बाटोको सन्दर्भमा स्मरण गर्छ । यी सबै नेपालका अभिन्न भूभागहरू हुन् ।
लिम्पियाधुराबाट निस्केको काली नदी नेपालको हो । यही नदी नेपाल भारतबीचको जगजाहेर सीमा हो । इतिहासमा यसका पर्याप्त साक्ष्यहरू छन् । यस भूभागलाई मेरो भनेर छिमेकी मुलुक भारतले जति जिद्दी गर्छ उति बदनामी कमाउँछ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रहरूमा इज्जत गुमाउँछ । नैतिक, सांस्कृतिक, राजनीतिक कमजोरी आर्जन गर्छ । यो कुमार्गमा परेको कदम हो । यस मामलामा नेपालप्रिय भारतीय जनता र बुद्धिजीवीहरूले समेत भारत सरकारलाई साथ दिने छैनन् । नेपाली जनता आफ्नो जमिन छोड्नेवाला छैनन् । देर हुन सक्ला अँधेर हुन सक्दैन । समय लाग्ला अन्त्यमा कुनै एक दिन भारतले नेपालको अतिक्रमित भूमि नछोडी सुक्खै छैन । सेना फिर्ता नलगी सुक्खै छैन । गलत ठाउँमा टेकेपछि नाजायज तर्क गरेर खुट्टा तेस्र्याइरहनुभन्दा जतिसक्दो चाँडो खुट्टा हटाउनु नै भारतका लागि श्रेयस्कर हुन्छ । यो कुरा यथासमय भारतसरकारले बुझोस्, भारतीय प्रधानमन्त्री मोदीले बुभूmन् भन्ने हामी नेपालीहरू चाहन्छौँ ।
भारतीयहरूलाई थाहा छ, अङ्ग्रेजले भारतीयहरूलाई भारत फिर्ता गर्यो । अङ्ग्रेजहरू भारतभन्दा कम बलिया थिएनन् । जनता जागेपछि साम्राज्यहरू ढलेका छन् । निल्न खोज्ने अजिङ्गरले उकेल्न बाध्य हुनुपरेका घटना विश्व इतिहासमा धेरै छन् । भारतले शिलालेख उक्काएर लुकाएर महाकली नदीको अस्तित्व लुक्दैन । त्यसको पौराणिक, ऐतिहासिक लोकप्रसिद्ध नाम पनि लुक्दैन । नेपालका जगजाहेर सीमासाक्ष्यहरू पनि निरस्त हुँदैनन् । लिम्पियाधुरा उद्गमदेखि नै महाकली नदी नेपालको हो, त्यस नदीपूर्वको जमिन नेपाल हो भन्ने यथार्थ कतै कसैबाट कहिल्यै लुक्दैन ।
अहिले भारत सरकारले नेपालको लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा प्रकाशित गरेर नेपाली जनतालाई ब्युँझाइदियो । अब नेपालीहरू सुत्दैनन् । आफ्नाे जमिनबाट विदेशी सेना नहटेम्म नेपालीहरू सुत्दैनन् । नाकाबन्दीमा लागेको घाउ पुरिन सक्ला यो घाउ यसै यत्तिकै पुरिँदैन ।
आशा गरौँ ऋषिमनका प्रधानमन्त्री पाएको छिमेकी भारत सरकारले समयमै गल्ती महसुस गर्ने छ, हाम्रो जमिनबाट सेना फिर्ता लग्ने छ र मित्रताको मर्यादाकै लागि पनि नेपालसँग क्षमा माग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस