शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

असान्जको जीवनरक्षाको माग गर्दै ६० डाक्टरको सरकारलाई पत्र : जेलमा नै मृत्यु हुनसक्छ

सोमबार, ०९ मङ्सिर २०७६, १५ : ०७
सोमबार, ०९ मङ्सिर २०७६

एजेन्सी । लण्डनका ६० डाक्टरहरुले सरकारलाई खुला पत्र लेख्दै  विकिलिक्सका संस्थापक जुलियन असान्जको जीवनरक्षाको माग गरेका छन् । यो पत्र सोमबार प्रकाशित भएको हो ।

पत्रका अनुसार डाक्टरहरुले ४८ वर्षीय असान्जको जेलभित्र नै मृत्यु हुन सक्ने डर व्यक्त गरेका छन् ।

अस्ट्रेलियन मूलका असान्जलाई अमेरिका बेलायतबाट प्रत्यार्पण गर्न चाहन्छ । र, यसका लागि कानुनी लडाई लडिरहेको छ । असान्ज हाल लण्दनको बेलमार्श जेलमा रहेका छन् ।

डाक्टहरुले बेलायतका गृहमन्त्री प्रीति पटेलसमेत कयौँ अहम व्यक्तित्वहरुलाई पत्र लखेका छन् । पत्रमा असान्जलाई बेलमार्श जेलबाट बाहिर निकालेर युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ती गर्न अपिल गरेका छन् ।

असान्जमाथि जासूसी कानुन अन्तरगत आरोप लगाइएको छ । यदि अमेरिकामा दोषी करार गरिए उनलाई १ सय ७५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

डाक्टरहरुले १६ पेज लामो पत्रमा लेखेका छन्, ‘मेडिकल पेशासँग जोडिएको हुँदा हामी भन्न सक्छौँ कि जुलयिन असान्जको शारीरिक र मानसिक स्थिति गम्भीर छ । उनलाई तुरुन्त शारीरिक र मानसिक सहायताको आवश्यकता छ । यो कुनै राम्रो उपकरण भएको अस्पतालमा मात्र सम्भव छ । असान्जलाई युनिभर्सिटी टिचिङ अस्पतालमा स्थानान्तरण गर्न सकिन्छ । यदि राम्रो उपचार भएन भने उनको मृत्युसमेत हुन सक्छ ।’ पत्र लेख्नेमा अमेरिका, अस्ट्रेलिया, बेलायत, स्वीडेन, इटाली, जर्मनी, श्रीलंका र पोल्याण्डका डाक्टहरु रहेका छन् ।

डाक्टरहरुले प्रत्यक्षदर्शीको बयान र संयुक्त राष्ट्र सङ्घको तर्फबाट नियुक्त स्पेसल रिपोर्टर निल्स मेल्जरको रिपोर्टलाई आधार बनाएर पत्र लेखेका हुन् । लण्डनको अदालतमा २१ नोभेम्बरमा प्रत्यक्षदर्शीहरुले असान्जको बारेमा बयान दिएका थिए । मेल्जरले गत नोभेम्बर १ मा अदालतमा बयान दिएका थिए ।

मेल्जर संयुक्त राष्ट्रका मानवअधिकार विशेषज्ञ पनि हुन् । उनले असान्जलाई लगातार प्रताडित गरिएको बताएका थिए । उनले ‘यसको मूल्य असान्जले आफ्नो जीवन दिएर चुकाउन पर्न सक्ने’ सम्म बताएका थिए ।

असान्जले विकिलिक्सबाट सन् २०१० मा अमेरिकी सेना र कुटनीतिक क्षेत्रका फाइलहरु सार्वजनिक गरेका थिए । यसमा अफगानिस्तान र इराकमा अमेरिकी बमबारीको खुलासा गरिएको थियो । यो बाहिर आएपछि अमेरिकी सरकारको व्यापक आलोचना भएको थियो ।

असान्ज ६ महिनाअघि सार्वजनिक रुपमा बाहिर आएका थिए । उनलाई पछिल्लो महिना अदालतमा सुनवाइका लागि लगिएको थियो । यस दौरान उनी निकै कमजोर देखिएका थिए । उनलाई आफ्नो जन्मदिनसमेत सम्झन गाह्रो भइरहेको थियो । सुनवाइपछि न्यायाधीश वेनिसा बेरिस्टरले अदालतमा के भयो भन्ने समेत असान्जले बुझ्न नसकेको प्रतिक्रिया दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप