शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वपीडितको नारकीय जीवन, सात वर्षदेखि साङ्लोमै

सोमबार, ०९ मङ्सिर २०७६, १२ : २६
सोमबार, ०९ मङ्सिर २०७६

दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको छ । त्यहीँ दिसा पिसाब गर्छन् । 

यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई । उनी विगत १३ वर्षदेखि नारकीय जीवन ब्यतित गर्दै आएका छन् । सात वर्षदेखि उनको दुवै हातमा साङ्लो बाँधिएको छ । दमाई बन्द कोठामा जीवन बिताइरहेका छन् । 

विसं २०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम  विष्फोट भएको थियो । सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो । सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा छ । 

भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बारदलीनमा कपडा सिलाउँदै थिए । उनी भुँईमा खसे । “त्यति बेलादेखि उ अचेत अवस्थामा छ”, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भनिन् । 

बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुवै हात साङ्लोले बाँधिएकोे स्थानीयवासीले बताए । उनको अवस्था देखेर विहा गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् । 

“आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन”, आमा देमुले भनिन् । दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उनले सुनाइन् । 

भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाइन् । “नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन्”, उनले भनिन् । सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ । बूढेशकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उनले छोराको पालनपोषण गर्नुपरेको छ । 

देमुले भनिन्, “छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।” उनी घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बसेकी छिन् । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उनले बताइन् । सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन् । उनका श्रीमान्को मृत्यु भइसकेको छ । जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप