बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महाराष्ट्रको नाटकीय राजनीति : के उल्टो पर्न सक्छ भाजपाको दाउ ?

फणनवीसले सपथ लिए पनि चुनौती अझै बाँकी
आइतबार, ०८ मङ्सिर २०७६, ११ : ३६
आइतबार, ०८ मङ्सिर २०७६

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्ममा राजनीतिले नाटकीय मोड लियो । राज्य सरकार गठनमा लामो समयदेखि हुँदै आएको कसरत त्यही नाटकीय मोडमार्फत शनिबार बिहान सफल भएको छ तर चुनौती अझै प्रशस्त रहेको जानकारहरु बताउँछन् ।

शुक्रबार साँझसम्म महाराष्ट्रको राजनीतिक माहोल शिवसेना र राष्ट्रवादी काँग्रेसको गठबन्धन सरकार बनाउने दिशाको अन्तिम मोडमा थियो । शिवसेनाका नेता उद्धव ठाकरे मुख्यमन्त्री बन्ने लगभग पक्का भइसकेको थियो । तर शनिबार बिहान राष्ट्रवादी काँग्रेसका विधायक दलका नेता अजित पवारले उपमुख्यमन्त्रीको सपथ लिए, मुख्यमन्त्रीमा शिवसेनाका उद्धव ठाकरे होइन, भारतीय जनता पार्टी (भाजपा) का देवेन्द्र फणनवीसले सपथ लिए ।

महाराष्ट्रको राजनीतिमा अजित पवारले सबैलाई चकित तुल्याए । उनकै दलका कयौं नेताहरुसमेत चकित हुनेको लस्करमै थिए ।

शनिबार बिहानै मुख्यमन्त्री र उपमुख्यमन्त्रीको सपथ भइसकेको थियो । भारतीय जनता पार्टीसँगको लामो समयदेखिको गठवन्धन तोडेको शिवसेना छाँगाबाट खसेझैं थियो । किनकि उसले भाजपासँगको गठबन्धनलाई निरन्तरता दिनुभन्दा आफ्नै नेतृत्वमा राष्ट्रवादी कांग्रेसको समर्थनमा सरकार गठनलाई अन्तिम रुप दिँदै थियो । भाजपासँगको गठबन्धनलाई तोडेर महाराष्ट्रमा नयाँ गठबन्धन निर्माणलाई अन्तिम रुप दिँदै थियो ।

तर भाजपाले राष्ट्रवादी कांग्रेसका विधायक दलका नेता अजित पवासलाई रातभरीमै आफ्नो पक्षमा पारिसकेको थियो । राष्ट्रवादी कांग्रेसका नेता शरद पवार भने शिवसेनासँग गठबन्धनलाई अन्तिम रुप दिन लागिरहँदा उनका भतिज अजित पवारले भाजपासँग मिलेर सरकार गठनमा सहमति गर्दै उपमुख्यमन्त्री पदको सपथ लिइसकेका थिए ।

शनिबार साँझसम्म राष्ट्रवादी कांग्रेसका विधायकहरु दुई खेमामा विभाजित देखिइसकेका थिए । एउटा खेमा शरद पवारको पक्षमा, अर्को खेमा अजित पवारको पक्षमा । हिसाब लगाउनेहरु महाराष्ट्रको राजनीतिमा देखिएको नाटकीय परिवर्तनले कसलाई फाइदा र कसलाई घाटा पुग्यो भनेर हिसाब लगाइरहेका छन् तर महाराष्ट्रका वरिष्ठ पत्रकार प्रमोद चाँचूवार सबैभन्दा बढी घाटा देवेन्द्र फडणवीसलाई हुने बताउँछन् ।

शिवसेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसले विधायकहरुलाई आ–आफ्नै नियन्त्रणमा राखेका कारण फडणवीसले बहुमत हासिल गर्न कठिन हुने उनको भनाइ छ । अर्कोतिर अजित पवारलाई पनि घाटा हुने उनको विश्लेषण छ । ‘उनले आफ्नो काका (शरद पवार) सँग विद्रोह गरे, राष्ट्रवादी कांग्रेसको विश्वासमा ठेस पु¥याए,’ उनले भने, ‘उनको साखमा धेरै ठूलो क्षति भएको छ । जसलाई शरद पवारको उत्तराधिकारीका रुपमा हेरिन्थ्यो, उनले शरद पवारसँगै गद्दारी गरे ।’

अर्का वरिष्ठ पत्रकार समर खडस पनि भाजपा असफल हुने दावी गर्छन् । ‘२५ नोभेम्बरमा विधायकहरुको सपथ छ, त्यसपछि विधानसभा अध्यक्षको मुद्दा आउँछ,’ उनले भने, ‘विधानसभामा आफ्नो पार्टीले अध्यक्ष नपाउने अवस्थामा आएमा भाजपाले गडबड गर्न सक्छ ।’ यसरी नै सदन स्थगित र राज्यमा फेरि राष्ट्रपति शासन लागु हुन सक्ने उनको आँकलन छ ।

‘राज्यपालले पनि सबै विकल्प प्रयोग भइसक्यो भनेर मध्यावधि निर्वाचन घोषणा गर्न सक्छन्,’ उनले भने ।

वरिष्ठ पत्रकार चाँचूवार भन्छन्, ‘राजनीतिको यो खेल क्रिकेटजस्तै अन्तिम बलसम्म केही भन्न सकिदैंन, जुनसूकै बेला जेसूकै हुन सक्छ ।’ राजनीति अब विचारधारा, नैतिकताको आधारमा नभइ कमाइ र हिस्सेदारीका आधारमा हुन्छ, यस्तोमा कुन विधायक आफ्नो स्वार्थ पूर्तिका लागि कहाँ पुग्छ भनेर अनुमान गर्न नसकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप