आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

४२ करोड खोज्दै ऊखु किसान सिंहदरवारमा

आइतबार, ०८ मङ्सिर २०७६, ११ : २८
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले को वर्षौँदेखिको बक्यौता रकम तिर्न आनकानी गरेपछि ऊखु किसानहरुले नवनियुक्त उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई ज्ञापनपत्र बुझाएका छन् । मिल्सले रौतहटका किसानहरुलाई करीब ४२ करोड रुपैयाँ तिर्नु बाँकी रहेको बताइएको छ ।

संघीय सांसद रेखा झाको अगुवाइमा ऊखु उत्पादक किसान संघ रौतहटसँग आबद्ध किसानहरुले राज्यमन्त्री दुगडलाई भेटेर  आफ्नो पीडा सुनाएका थिए ।

भेटमा राज्यमन्त्री दुगडले किसानले पाउने रकम दिलाउने प्रतिवद्धता जनाएको सांसद झाले जानकारी दिइन् । त्यतिमात्र नभइ यो सिजनमा जिल्लाका किसानले उत्पादन गरेको २० लाख क्वीन्टलभन्दा बढी ऊखु चिनी उत्पादक उद्योगीले लिनैपर्ने समेत राज्यमन्त्री मोतीलाल दुगडले प्रतिबद्धता जनाएको सांसद झाले जानकारी दिइन् ।

रौतहटको एकमात्र ठूलो उधोगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्सले दिपावली र छठपर्वमा समेत ऊखु वापतको भुक्तानी नदिएको कारण किसानहरु रकमको खोजी गर्दै सिंहदरबारसम्म पुगेका हुन् ।

श्रीराम शुगर मिल्सका सञ्चालकद्वय ऋतेश गोल्छा र विशाल अग्रवाल गत आर्थिक वर्षमा किसानसँग लिएको ऊखुबाट करोडौँको चिनी बनाएर बिक्री गरिसकेका छन् । तर, किसानलाई भने भुक्तानी दिइएको छैन ।

उद्योगीले गत वर्ष मिलबाट बिउ वितरण गरी ऊखु खेती गर्न लगाएका थिए । तर यो वर्ष मिल सञ्चालन नगर्ने पक्षमा देखिएपछि किसानहरुले उब्जाएको २० लाख क्वीन्टलभन्दा बढी ऊखु खेर जाने आशंकाले उनीहरुलाई थप चिन्तित बनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा मिलले किसानसँग लिएको ऊखुबाट एक लाख दुई हजार ८ सय २३ क्वीन्टल चिनी उत्पादन गरी कुल ६४ करोड ७७ लाख ८४ हजार नौसय रुपैयाँ बराबरको बिक्री गरेको थियो ।

तर किसानलाई मात्र ३३ करोड ७७ लाख ७३ हजार तीन सय ५८ रुपैयाँ भुक्तानी गरेको ऊखु उत्पादक किशान संघ रौतहटका कोषाध्यक्ष मनोज कुमार शहनीको भनाइ छ ।

किसानको गत वर्षको बक्यौता ३० करोड, २४ लाख २२ हजार, पाँचसय ४९ रुपैयाँ रहेको छ र आर्थिक वर्ष २०७१।०७२ को १२ करोड रकम तिर्न बाँकी रहेको छ ।

किसान र उद्योगीबीच भएको छलफलमा बक्यौता रकम ठूलो भएकाले तत्काल भुक्तानी गर्न नसक्ने र मिलका कर्मचारीलाई अवकास दिएर मिल सञ्चालन नगर्ने उधोगी ऋतेश गोल्छाले संकेत गरेपछि ऊखु उत्पादक किसान संघका पदाधिकारीहरु काठमाडौँ आएका हुन् ।

समस्या समाधानका लागी समयमै राज्यले ठोस पहल नगरेमा केहीदिन भित्रै जिल्लामा उद्योगी र सरकारबिरुद्ध कडा संघर्ष गर्ने किसान संघका सदस्य बच्चालाल यादवले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप