शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'नेपाल प्रहरी मार्न भारतबाट पठाइएको थियो मान्छे'

प्रहरी मारेर त्रास फैलाउने र साक्षीहरु तर्साउने षड्यन्त्र
शुक्रबार, ०६ मङ्सिर २०७६, १६ : ३८
शुक्रबार, ०६ मङ्सिर २०७६

मिति : २०७६ कात्तिक २६

समय : बिहान ११ बजे

स्थान : जिल्ला अदालत, रौतहट

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटन मुद्दामा असोज २६ गते पक्राउ परेका अभियुक्त मोहमद अफताव आलमविरुद्व जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो ।

यसअघि नै सरकारी वकिल तथा वादी पक्षका अधिवक्ताहरुले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गरिसकेका थिए । आलमलाई अदालतले लगभग थुनामा पठाउने निश्चित जस्तै थियो ।

अदालतबाट आलमलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउनै लाग्दा रौतहटको इशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठियामा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरेर अचानक बम प्रहार भयो ।

कात्तिक २६ गते दिउँसो १ बजेतिर बीआर ०५ एच ६५०९ नम्बरको भारतीय मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले डियुटीमा रहेका प्रहरीलाई लक्षित गरी सुतली बम प्रहार गरी भाग्न थाले ।

बम प्रहार गरेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गर्यो । उनीहरुलाई पिच्छा गर्ने क्रममा चौकीदेखि करिब एक किलोमिटर दक्षिण नेपाल–भारत सिमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमार पक्राउ परे ।

फाइल तस्बिर

विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवान रञ्जित यादवलाई सामान्य चोट लाग्यो । तर उक्त बिस्फोटमा एउटा खसी दुई टुक्रा भयो ।

डियुटीमा रहेका प्रहरीमाथि किन बम आक्रमण भयो भनेर मिडियामा समेत विभिन्न कोणबाट अड्कलबाजी गरिए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले पनि अनुसन्धान गरिरहेको बताएको छ ।

घटनामा भारतीय नागरिकको मात्र नभई रौतहटका व्यक्तिहरुको पनि संलग्नता रहेको भन्दै उनीहरुको खोजीकार्य जारी रहेको रौतहट प्रहरीको भनाइ छ ।

आलम पुर्पक्षका लागि थुनामा जाने निश्चित जस्तै भएपछि रौतहटमा कार्यरत कम्तीमा एक जना बर्दीवाला प्रहरीलाई मार्नका लागि भारतबाटै मान्छे खटाइएको स्रोतको दाबी छ ।

‘भारतबाट पठाइएको थियो मान्छे’

आलम पुर्पक्षका लागि थुनामा जाने निश्चित जस्तै भएपछि रौतहटमा कार्यरत कम्तीमा एक जना बर्दीवाला प्रहरीलाई मार्नका लागि भारतबाटै मान्छे खटाइएको स्रोतको दाबी छ ।

पक्राउ परेका चन्दन अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने फरार अर्का व्यक्तिको खोजी भइरहेको छ ।

स्रोत भन्छ, ‘आलमको सपोर्टका लागि बर्दीवाला प्रहरी मार्न उनीहरुलाई परिचलान गरिएको हो । प्रहरी मारेर त्रास फैलाउने र साक्षीहरु तर्साउने उनीहरुको षड्यन्त्र थियो ।’

प्रहरी मार्न पठाउने ती भारतीय राजनीतिज्ञ को हुन् ?

भारतको ढाका बिहारका एक मुस्लिम धर्मगुरु तथा राजनीतिज्ञले उनीहरुलाई परिचालन गरिएको पाइएको छ । स्रोतका अनुसार पक्राउ परेका कुमारले आफूहरुलाई भारतका एक एकजना राजनीतिज्ञले आलमको सपोर्टका लागि भन्दै रौतहटका प्रहरी मार्न पठाएको बयान दिएका छन् ।

यद्यपि प्रहरीले भने सो घटनालाई तस्कर समूहका सदस्य वा अन्य त्यस्तै सामान्य घटना भन्दै थप अगाडि नबढ्ने तयारी गरेको छ । स्रोत भन्छ, ‘कसले पठाएको हो र किन पठाएको हो भन्ने पनि थाहा छ । कति पैसा दिएर पठाएको हो भन्ने पनि थाहा छ । तर के गर्नु मान्छे अर्को देशको छ र शक्तिमा रहेको व्यक्ति छ । अनि प्रहरीसँग पनि अभियुक्तको बयानबाहेक अरु सामान्य प्रमाण मात्रै बाँकी रहेको छ । यही आधारमा ती व्यक्तिविरुद्ध मुद्दा चलाउन सकिँदैन ।’

आलम भारत जाँदा प्रायजसो ती राजनीतिज्ञकै घरमा बस्ने गरेको पनि खुलेको छ । स्रोतका अनुसार आलम र भारतीय राजनीतिज्ञको चिनजान २०६४ को संविधानसभाको चुनावपछि भएको हो ।

बम विस्फोट भएलगत्तै आलमले घटनाका दुई जना साक्षीलाई अपहरण गरेर बिहारस्थित भारतीय राजनीतिज्ञको निवास समेत पुर्याएको स्रोत बताउँछ । पछि उनीहरुलाई आलमपक्षले ३–३ लाख दिएर बेहुलाजस्तै सजाएर नेपाल ल्याएका थिए ।

कात्तिक २९ गते अदालतका न्यायाधीश दीपक ढकालको इजलासले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री समेत रहेका आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । आलम थुनामा जाने निश्चित भएपछि केही दिन अघिदेखि नै रौतहटको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।

रौतहट आलमको गृहजिल्ला हो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

आलमकै निर्देशनमा बनाउन लागिएको बम बिस्फोट हुँदा त्यसभित्रको फलामको काँटी र छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोगमा उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप