शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीहरुको धर्ना

शुक्रबार, ०६ मङ्सिर २०७६, १३ : ४२
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित सो कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै शुक्रबार बिहान एकघण्टा धर्ना दिएका हुन ।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन । उनीहरुले त्यसअवसरमा सो अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न पनि आग्रह गरेका थिए ।

अवरुद्ध रहेको विकास, निर्माणको कामलाई सूचारु हुने गरी आफूहरुको समस्या समाधानका लागि सहजीकरण गर्न सो अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । उनले आफूहरुको सो समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

यता, सचिव सापकोटाले पनि सो ऐन संशोधन गरेर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्नका लागि आफूहरुले कानुनी परामर्शको काम सुरु गरिसकेको पनि बताए ।

सचिव सापकोटाले निर्माण व्यवसायीहरुले राखेका माग सम्बोधन गर्न मुख्यसचिव नेतृत्वको उच्च स्तरीय समितिसँग पनि छलफल भइरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप