बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

१३औं सागः अझै पूर्वाधारकै चिन्ता

शुक्रबार, ०६ मङ्सिर २०७६, १२ : २९
शुक्रबार, ०६ मङ्सिर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन केवल नौ दिन बाँकी छ । मंसिर १५ देखि १४ गतेसम्म हुने दक्षिण एसियाली राष्ट्रको महादेशीय खेल महाकुम्भ साग आयोजनाको लागि नेपालको आन्तरिक तयारी निकै फितलो देखिएको छ ।

३५ वर्षको बीचमा नेपालले तेस्रो पटक साग आयोजनाको जिम्मेवारी पाउँदा यसले दिने भौतिक पूर्वाधारले खेलकुदको विकासमा मुख्य अर्थ राख्छ । पहिलो संस्करण १९८४ मा आयोजना हुँदा नेपालको भौतिक पूर्वाधार निर्माण उत्साहजनक थियो । त्यसपछि सन् १९९९ मा नेपालले दोस्रो पटक आठौं साग आयोजना गर्दा चीन सरकारको सहयोगमा काठमाडौंको दशरथ रंगशाला र सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा सुविधासम्पन्न भौतिक पूर्वाधार बनेका थिए । २० बर्षपछि आइपुग्दा अधिकांश त्यही पुरानो संरचनालाई अहिले मर्मतसंहार गरिएको छ । तर पनि मर्मतसंहारको कार्यले पूर्णता पाउन सकेको छैन ।

यतिवेला तयारीका हिसावले नेपालको सम्पूर्ण तयारी पूरा भईसक्नु पर्ने थियो । सानातिना र छुटपुट तयारी गर्नुपर्ने बेलामा नेपालको सबै खाले तयारी अस्तब्यस्त देखिएको छ । भौतिक संरचना निर्माणदेखि आयात, आवास, प्रचार प्रसार, उद्घाटन र समापान समारोह, पाहुना सत्कार, विदेशी र स्वदेशी खेलाडी तथा पदाधिकारीको एक्रिडिएसन कार्ड निर्माण लगातको तयारी दयनीय छ ।

साग खेलकुदको मुख्यस्थल काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशाला हो । दुवै रंगशालाको निर्माण कार्यले अबको नौ दिनमा पूर्णता पाउन मुस्किल छ । दशरथ रंगशालाको भिआईपी प्यारापिट बनिसक्नेमा अन्योल पैदा भएको छ । सागको मुख्य केन्द्र दशरथ रंगशालाको भिआईपी प्यारापिटमा छानो लगाउने काम भइरहेको छ । तर, उद्घाटनको दिन मंसिर १५ गतेसम्म सकिनेमा शंका छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन अघि दशरथ रंगशालाको सबै निर्माण सकिने दाबी गरेका छन् । तर, निर्माण कम्पनी र काममा संलग्न कामदारले भने निर्माणले पूर्णता पाउन गाह्रो हुने बताई रहेका छन् । चीनदेखि कार्गो विमानबाट ल्याईएको भिआईपी प्यारापिटको छानो बुधबारदेखि लगाउन सुरु गरिएको छ । प्यारापिटको छानो लगाउन चिनिया प्राविधिकनै आएका छन् ।

यसैगरी ललितपुरको सातदोवाटो स्थित निर्माणाधिन हिटिङ सिस्टमको पौडी पोखरी निर्माणको अवस्था पनि उस्तै छ । नेपालका खेल पदाधिकारीले सागअघि सबै संरचना निर्माण सकिने बताए पनि काममा खटिएका प्राविधिक र कामदार भने सकिनेमा विस्वस्त छैनन् । जाडो समयमा आयोजित सागका लागि अर्को समस्या भनेको हिटिङ सिस्टमको पौडी पोखरी हो । सातदोवाटोमा निर्माणाधिन हिटिङ पौडी पोखरी सम्पन्न भएन भने सागमा पौडी खेल नै नहुने सम्भावना रहन्छ । पोखरा रंगशालाको निर्माण कार्यपनि अस्त ब्यस्त अवस्थामा छ ।

नेपाली खेलाडीको तयारी                        

हरेक दुई दुई बर्षमा आयोजना हुनुपर्ने साग खेलकुदले निरन्तरता पाउन सकेको छैन । दक्षिण एसियाली खेलकुद आयोजक राष्ट्रको आन्तरिक व्यवस्थापन, छिमेकी राष्ट्रसँगको सम्बन्ध र दैवी प्रकोपका कारण पछिल्ला संस्करण निर्धारित समयमा भएका छैनन् । नेपालमा पनि भौतिक संरचनाका कारण तीनपटक सेरर निर्धारित समयभन्दा एक बर्षपछि  हुन लागेको हो ।

सन् १९७७ को एसियन फेडरेशनको बैठकपछि दक्षिण एसियाली खेलकुदको परिकल्पना गरिएको थियो । सोही बमोजिम १९७८ मा पहिलो संस्करण बंगलादेशले आयोजना गर्ने भनिए पनि भारत–पाकिस्तानको चिसिएको सम्बन्धका कारण हुन सकेन । त्यसपछि सन् १९८४ मा नेपालले साग खेलकुद आयोजना गरेको थियो ।

पहिलो संस्करणमै नेपालले एक सय पाँच खेलाडीलाई मैदानमा उतारेको थियो । जसमा नेपाले चार स्वर्ण, १२ रजत र आठ कांस्य सहित २४ पदक जितेर तालिकामा चौथो स्थान ओगटेको थियो । नेपालमै आयोजना भएको आठौं दक्षिण एयिाली खेलकुदमा नेपाल उत्कृष्ट प्रदर्शन सहित पदक तालिकामा दोस्रो स्थानमा रह्यो ।

त्यसपछि नवौं, १०औं र ११औं साग पनि उपलब्धिका हिसावले नेपालका लागि त्यति सफल भएन । १२औं सागसम्म आईपुग्दा पदकमा ठूलो फड्को मार्नु पर्नेमा नेपालको स्तर झनै खस्कियो । भारतको गुवाहाटी र सिलोङमा भइको १२औं सागमा नेपालले कम्तीमा १० स्वर्ण पदक जित्ने लक्ष्य सहित भारत गएको थियो । तर नेपाल तीन स्वर्णमै चित्त बुझाएर घर फर्कियो ।

जुडो र उसुबाट नेपालले एक एक स्वर्ण जितेको थियो । पदकको आशा गरिएको तेक्वान्दो स्वर्ण विहीन बन्यो । १२औं मा नेपालले दक्षिण एसियामै गर्व गर्न लायक स्वर्ण पुरुष फुटबलमा जित्यो । पदक तालिकामा समग्र छैटौं स्थानमा रहेको नेपालले तीन स्वर्णसहित २३ रजत र ३४ कांस्य जितेको थियो ।

यसपटक पुनः आफ्नै देशमा आयोजना हुन लागेको सागमा नेपालले ऐतिहासिक उपलब्धि हात पार्ने दावी गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले यस सागमा नेपालले कम्तीमा ५० स्वर्ण जित्ने बताएका छन् । १३औं साग राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले पनि विगतको भन्दा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्ने बताए ।

‘नेपालले पदकको सम्भावना रहेको २१ खेलका खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाएका छौं । खेलाडीको तयारी, प्रशिक्षण, भत्ता र सुविधा यसपटक धेरै राम्रो भएको छ । नेपालले विगतमा भन्दा धेरै पदक जित्ने निश्चित छ,’ रानाभाटले भने । १३औं सागमा नेपालले कराँते र तेक्वान्दोमा सर्वाधिक पदक जित्ने लक्ष्य राखेको छ । १२औं सागमा कराँते समावेश गरिएको थिएन ।

१३औं सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुँदैछन् । सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, कराँते र गल्फ खेल राखिएको छ । यसअघि प्याराग्लाइडिङ सहित २७ खेल राख्ने निर्णय गरिएपनि अन्तिममा सहभागी देश नपुगेका कारण प्याराग्लाइडिङ खेल नहुने भएको हो ।

दक्षिण एसियाली खेलकुदमा नेपाल         

कहिले– स्वर्ण– रजत– कास्य– कुल– स्थान

प्रथम १९८४ काठमाडौं, ४, १२, ८, २४, चौथो

दोस्रो १९८५ ढाका, १, ९, २२, ३२, पाँचौं

तेस्रो १९८७ कोलकत्ता, २, ७, ३३, ४२, पाँचौं

चौथो १९८९ इस्लामाबाद, १, १३, ३२, ४६, चौथो

पाँचौं १९९१ कोलम्बो, २, ८, ३०, ४०, पाँचौं

छैटौं १९९३ ढाका, १, ६, १५, २२, पाँचौं

सातौं १९९५ मद्रास, ४, ८, १६, २८, पाँचौं

आठौं १९९९ काठमाडौं, ३१, १०, २४, ६५, दोस्रो

नवौं २००४ इस्लामाबाद, ७, ६, ९, २२, चौथो

१०औं २००६ कोलम्बो ९, १५, ३१, ५५, चौथो

११औं २०१० ढाका, ८, ९, २०, ३७, पाँचौं

१२औं २०१६ गुवाहाटी ३, २३, ३४ ६० पाँचौं

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप