शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारका प्रवक्ताको चेतावनी: ‘हातमाथि पर्दा तरवार, तल पर्दा म्याउँ नगरोस् काँग्रेस’

बिहीबार, ०५ मङ्सिर २०७६, १७ : १६
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काँग्रेसलाई जवाफ दिन मन्त्रिपरिषद फेरबदल नगरिएको बताएका छन् । बिहिबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले मन्त्री फेरबदलको कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको र काम गर्न नसकेर मन्त्री नहटाएको उल्लेख गरे । उनले सबै पूर्वमन्त्रीलाई राम्रो कामका लागि प्रधानमन्त्रीले धन्यवाद दिएको उल्लेख गरेका छन् । 

उपनिर्वाचनका सन्दर्भमा काँग्रेसले निकालेको निर्वाचन प्रतिबद्धतापत्रमा काँग्रेसले सरकारलाई लगाएको २१ आरोपबारे बोल्दै उनले काँग्रेसलाई विकास गरेर जवाफ दिने बताए ।  उनले काँग्रेसका आरोपहरु आफूलाई सन्तुष्टि लिनका लागि भएको बताए ।  उनले भने– ‘उपनिर्वाचनमा सन्र्दभमा तुष्टिका लागि लगाएका आरोपहरु हुन् यी ।’ 

उनले काँग्रेसका पालामा सबै राम्रो भएको थियो भन्ने प्रश्न गर्दै काँग्रेसलाई प्रश्न गरे– ‘के सुन तस्करी केपी ओलीको पालमा भएको हो ? लाउडा धमिजा पनि कुन बेलामा भएको ?’  उनले बालुवाटार जग्गा, वाइडबढी काण्डमा सरकारले छानविन गरिरहेको र तिब्र आर्थिक बृद्धि, छिमेकी देशहरुसँगको कनेक्टिभीटमिा हात हालेको बताए । 

२१ महिनामा २१ कमजोरी मात्र हैन जनताले देखाएको कमजोरी सुधार्दै जाने उनले बताए । उनले काँग्रेसलाई प्रश्न गरे– ‘चाँदीको किस्तीमा प्रजातन्त्र दरबारमा कसले बुझायो, नेपाली यूवालाई विदेशी भूमिमा पुग्ने वाताबरण कसले बनायो ? हात माथि पर्दा तरबार, तल पर्दा म्याउँ नगरोस् कांग्रेस ।’

उनले सरकारका बारेमा बोल्न भन्दा पनि अफताव आलम बारे बोल्न काँग्रेसका प्रवक्तालाई सुझाव दिए । उनले भने– ‘महराबारे मात्रै हैन आफ्नै पार्टीको आर्थिक विभागमा काम गर्ने मान्छेबारे पनि बोल्नुस् ।’  मन्त्री बास्कोटाले सरकार विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए । उनले भने– ‘बाटो बनेकै छन्, पुल बनेकै छन्, कतै कतै खाल्डाखुल्डी छन् ती पनि पुरिँदै जान्छन् । पानी जहाजहाजको काम अघि बढेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप