बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय मन्त्रिपरिषद् पुनर्गठनले प्रदेश २ मा तरङ्ग

बिहीबार, ०५ मङ्सिर २०७६, १५ : १९
बिहीबार, ०५ मङ्सिर २०७६

जनकपुर । उपप्रधानमन्त्री उपेन्द्र यादव छिमेकी मुलुक भारतको भ्रमणमा रहेकै समय भएको संघीय सरकार पुनर्गठनले प्रदेश नम्बर २ मा नयाँ तरङ्ग ल्याएको छ ।

 खासगरी प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी र सो प्रदेशमा सत्ता साझेदार रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको सम्बन्ध, संघीय सरकारमा भएको फेरबदलले प्रदेश २ मा पर्ने प्रभाव लगायतका विषयमा टिकाटिप्पणी हुन थालेको हो ।

 कतिपयले समाजवादी पार्टीभित्र सरकार छाड्नका लागि भइरहेको अन्तरसंघर्षलाई समेत जोडेर हेर्न थालेका छन् ।

कतिपय राजनीतिक विश्लेषकहरुले उपेन्द्र यादव तत्काल संघीय सरकारबाट बाहिरिने अवस्था नरहेको दावी गरेका छन् । 

तेश्रो मधेश आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको मधेश अधिकार संघर्ष समितिका संयोजक समितिका अगुवा सरोज मिश्रले मधेश अधिकारको एजेण्डा र मधेशवादको सिद्धान्तलाई बाइपास गरेकाले यादवको हालत खराब अवस्थामा पुगेको टिप्पणी गरे । 

उनले यादवको सोच र सिद्धान्तकै कारणले गर्दा पहाडिया अहंकारले नेतृत्व गरेको वर्तमान संघीय सरकारले उनीसँग यस्तो व्यवहार गरेको भन्दै यसले प्रदेश नम्बर २ मा तत्काल कुनै किसिमको प्रभाव नपर्ने टिप्पणी गरे ।

त्यस्तै, वाम राजनीतिक विश्लेषक रोशन जनकपुरीले समाजवादी पार्टी केन्द्र सरकारबाट बहिर्गमन नभएसम्म टिप्पणी गर्नु अनुचित हुने धारणा व्यक्त गरे । उनले समाजवादी पार्टीभित्र पनि सुरुदेखि नै सरकार परित्याग गर्न दबाब परे पनि अवसरवादी चरित्रलाई छाड्न नसकेको बताए ।

उनले संघीय सरकारबाट समाजवादी पार्टी बाहिरिए पनि प्रतिपक्षी भुमिकामा रहेको राजपा नेपाल उसको ठाउँमा सरकारमा सहभागी हुने सम्भावना प्रबल रहेको बताए । उनले भने, ‘सरकारबाट उपेन्द्रजी बाहिर आउनु भयो भने राजपा नेपाल सरकारमा सामेल हुने सम्भावना प्रबल छ, सडक आन्दोलनको अवस्था निकै शिथिल रहेकाले प्रदेश नम्बर २ मा उपेन्द्रजीको आलोचना व्यापकरुपमा हुनसक्छ ।’ समाजवादी पार्टी र राजपा नेपालभित्रको सम्बन्ध सुमधुर नरहेसम्म यी दुवै पार्टीले भनेजस्तो एकीकरण पनि तत्काल सम्भव नरहेको उनले बताए ।

अर्का राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र लाभले उपेन्द्र यादवको अनुभवमा नै समाजवादी पार्टी सरकारमा रहिरहने वा बाहिरिने भन्ने कुरा भर पर्ने टिप्पणी गरे । उनले विदेश भ्रमणमा रहेकै समयमा यादवको मन्त्रालय हेरफेर हुनु ‘अपमानजनक’ भएको टिप्पणी गरे । 

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट यादवलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा राखिनु र सम्बन्धित पार्टीलाई जानकारी नै नदिइ स्वास्थ्य राज्यमन्त्री सुुरेन्द्र यादवलाई हटाईनुले समाजवादी पार्टीको ठाडै अपमान भएको स्पष्ट पारे ।

अहिले विभिन्न मन्त्रीदेखि भिभिआईपीहरु पक्राउ परेको अवस्थामा गौर नरसंहारको हल्ला पनि व्यापक रुपमा उठेको अवस्थामा यादवले आफ्नो सुरक्षा थ्रेटलाई ध्यानमा राखेर सरकारमै रहिरहने विकल्प रोज्न सक्ने उनको टिप्पणी छ । उनले भने, ‘उपेन्द्रजीले सरकार छाडेमा सरकारीस्तरको सुरक्षा गुमाउनु हुन्छ, जसले गर्दा गौर घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढ्ने सम्भावना रहेकाले तत्काल सरकार छाड्न चाहनु हुन्न होला ।’

समाजवादी पार्टीले सरकार छाडेमा राजपा नेपालसँग एकीकरण गर्ने र आन्दोलनमा जुट्ने बाहेकको विकल्प नरहेको उनको भनाइ छ । उनले राजपा नेपालसँग एकीकरण भएमा मात्रै प्रदेश नम्बर २ मा उथलपुथल हुने सम्भावना रहेको बताए ।

त्यस्तै राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले समाजवादी पार्टीले तत्कालै सरकार छाड्ने सम्भावना न्यून रहेको बताए । उनले सरकार छाडेर राजपा नेपालसँगको सहमति र सहकार्यमा समाजवादी पार्टी अघि बढेमा मात्रै प्रदेश नम्बर २ मा राजनीतिक परिवर्तन हुने टिप्पणी गरे ।

राजपा नेपाल सरकारमा सहभागी हुने सन्दर्भमा प्रवक्ता सिंहले राजनीतिमा परिस्थिति अनुकुल अघि बढ्नुपर्ने भएकाले राजपा नेपालसँग सबै बाटो खुल्ला रहेको जिकिर गरे । तत्कालै सरकारमा जाने कुरा नभए पनि यसलाई नकार्न नसकिने उनको भनाइ छ ।

प्रदेश नम्बर २ को सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले समाजवादी पार्टीको उपलब्ध पदाधिकारी र केन्द्रीय समितिको बैठकबाट सरकारबारे निर्णय हुने बताए । 

समाजवादी पार्टीको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नम्बर २ को अध्यक्षसमेत रहेका मन्त्री यादवले अध्यक्ष उपेन्द्रजी देश बाहिर रहेकाले आफूहरु आन्तरिक गृहकार्यमा जुटेको बताए ।

 आफ्नो पार्टी सरकार छाड्ने मुडमा पुगे पनि आन्तरिक बैठक विना कुनै किसिमको औपचारिक धारणा दिन नसक्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप