शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घनश्यामको अग्निपरीक्षाको घडी

मन्त्री भुसालका सामु ‘पूँजीवादको घोडा’लाई समाजवादको दिशातिर मोड्ने चुनौती
बिहीबार, ०५ मङ्सिर २०७६, १३ : २४
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ– प्रम केपी ओलीको लागि लामो समयदेखि टाउको दुखाइको विषय बनेको एउटै कुरा हो– सरकारले अपेक्षाकृत गति लिन नसक्नु । दुई तिहाईको प्रचण्ड बहुमत आफ्नो पोल्टामा छँदा पनि आफूले बाचा गरेअनुसार काम गर्न नसकेको र असफल सरकारको ठप्पा लाग्न थालेपछि त्यसको रामवाण औषधिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको ‘तुरुप’लाई अघि सारेका छन् ।

सोहीअनुसार, निकै लामो चर्चा र कसरतपछि प्रम ओलीले पछिल्लो पटक आफ्नो मन्त्रीमण्डलका झण्डै आधाजसो सदस्यहरु परिवर्तन र केहीको जिम्मेवारी हेरफेर गरेका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपाभित्र बौद्धिक नेता मानिएका घनश्याम भुसालदेखि व्यवसायी मोतिलाल दुगडसमेत परेका छन् । सरकारमा प्रभावकारी भूमिका निर्वाह नगरेका तथा प्रधानमन्त्रीको अपेक्षा र गतिअनुसार कार्यसम्पादन सन्तोषजनक नभएको ‘ठहर’ गर्दै प्रधानमन्त्रीले आफ्नै मन्त्रिमण्डलका केही सदस्यहरुको अनुहारमा ‘अयोग्य र असफलको कालो पोत्दै’ मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । रोचक चाहिँ के छ भने स्वयं सरकारको कार्यसम्पादन मूल्यांकनमा दोस्रो मानिएका गोकर्ण विष्ट पनि पुनर्गठनको यस जाँतोमा घुन सरह पिसिन पुगेका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा राम्रो प्रदर्शन गरेका मन्त्रीसमेत बिदा भएको यस पुनर्गठनले मन्त्रिपरिषदका सदस्यहरु फेरिदैमा सरकारको काम कारवाही प्रभावकारी र गतिशील हुन्छ भन्ने ठहरमा अहिल्यै पुग्नु हतारो र आलोकाँचौ नै हुनेछ ।


हाल पुनर्गठनमा परेका मन्त्रीहरुमध्ये अलि बढी चर्चा, चासो र अपेक्षा गरिएका नेतामा गनिन्छन् घनश्याम भुसाल । भुसाल बौद्धिकता र तर्कका हिसाबले मात्रै होइन, योजना निर्माणमा पनि उत्तिकै दक्ष मानिन्छन् । नेकपाभित्र वरिष्ठ नेता माधवकुमार नेपाल नजिक मानिने भुसाल आफैमा सो पार्टीको एक वर्ग र समुहको नेतृत्व समेत गर्छन् । खासगरी वर्तमान संसदीय राजनीतिका कारण समाजमा विकृति फैलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने पक्षको वकालत गर्दै आएका नेता मध्येका एक भुसालले नेपालमा कृषि क्रान्तिबाटै मुलुकको आर्थिक अवस्थामा कायापलट गर्नुपर्ने तर्क अघि सार्दै आएका छन् । उनै भुसाललाई उनको त्यही योजना साकार पार्ने अवसर प्रधानमन्त्री केपी ओलीले प्रदान गरेका छन् । त्यसो त सत्ताबाहिर छँदा वर्तमान सरकारले अपनाएको कार्यशैलीको खरो ‘बौद्धिक आलोचक’को रुपमा देखापर्दै आएका भुसाल ‘पूँजीवादको घोडा चढेर समाजवादमा पुगिँदैन’ भन्ने विचार राख्ने गर्छन् । अहिले आफूले चर्को आलोचना गरेको सरकारकै हिस्सा बनेका भुसालले पूँजीवादको घोडालाई समाजवादको दिशातिर मोड्ने जटील र दुरुह चुतौतीलाई कसरी क्रियान्वयन गर्छन् ? त्यसैमा उनको सही राजनीतिक  संस्कार र क्षमता देखिनेछ ।

त्यसैगरी, सरकार बाहिर रहँदा नेताहरुमा कम्युनिस्ट सिद्धान्त, विचार मार्गदर्शन क्षय भएको बताउने भुसालले अब आफूले चाहिँ सरकारमा रहँदा आफ्नो सिद्धान्त र विचारलाई कसरी लागु गर्छन् ? अनि  सत्तामा हुँदा माथि, तल चारैतिरबाट आउने दृश्य–अदृश्य दबाव र प्रलोभनहरुलाई कसरी थेग्छन् ? त्यो पनि हेर्न लायकको विषय हुनेछ  ।

उनले सार्वजनिक कार्यक्रमहरुमै हाल शिरदेखि पाउँसम्मै अंगालिएको ‘संसदीय व्यवस्थाले पुँजीपति वर्गको मात्रै हित गर्ने भएकाले सुशासनको संस्कृति विकासभन्दा विकृति निम्त्याउने’ बताउँदै आएका छन् । त्यसैले उनले भन्ने गरेका छन्, ‘पुँजीवादी क्रान्ति सकियो अब समाजवादमै केन्द्रीत हुनुपर्छ ।’

त्यस्तै आफूलाई क्रान्तिकारी हुँ भन्ने नेताहरु समेत पुजीवादी बन्दै गएको तथा घर, बङ्गला, गाडी र शानसौकातमा डुब्दै गएकोमा भुसालले बारम्बार सार्वजनिक मञ्चहरु तथा मिडियामा चिन्ता प्रकट गर्ने गरेका छन् ।

गत बैशाख महिनामा आफ्नो दलका शीर्ष नेताहरु नै सहभागी भएको एक कार्यक्रममा भुसालले नेताहरुप्रति नै व्याङ्ग्य गरेका थिए । उनले भनेका थिए– ‘दिनमा सयजना भन्दा बढी गलत मान्छेसँग भेट हुन्छ । तस्कर, माफिया भ्रष्टाचारीसँग धेरै हिमचिम हुन्छ, अनि हामी कसरी ठिक बाटोमा जान्छौँ ? त्यसैले हामी आफै ठक्कर खान्छौँ ।’

गत वैशाखमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता झलनाथ खनालकै सामु नेता भुसालले सुरुमा क्रान्तिकै लागि सोचे पनि नेताहरुमा विस्तारै क्रान्तिकारीता हराउँदै गएको खरो टिप्पणी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप