बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रम ओलीको ‘कार्यव्यस्तता’ले मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, यस्तो छ भित्री रहस्य

बुधबार, ०४ मङ्सिर २०७६, १७ : ४१
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ– बुधबारै नयाँ मन्त्रिमण्डल हेरफेर र सपथ नै गराउने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कार्यव्यस्तता’ देखाउँदै अन्ततः नहुने भएको छ । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन हुन नसकेको रातोपाटीलाई बताए । 

उनको प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाएपनि ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच कसलाई मन्त्री बनाउने र हटाउने भन्ने विषयमा मतैक्य हुन नसकेको बुझिएको छ । 

नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टासम्म बैठक बस्यो । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन गर्ने र त्यसका लागि मन्त्रिमण्डलमा जाने र बाहिरिने मन्त्रीहरुका बारेमा सहमति जुटाउने योजना थियो । 

साढे १२ बजेका लागि बोलाइएको बैठक पौने १ बजे सुरु भएर तीन घण्टा चलेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर सो बैठकले खासै चर्चा नभएको  ओली र प्रचण्डबीच शक्ति बाँडफाँडको निर्णय गर्यो भने ‘टक अफ द टाउन’ बनेको मन्त्रिमण्डल पुनर्गठनको बारेमा भने टुंग्याउनै सकेन ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफू मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेको भन्दै यो मन्त्रिपरिषद्को अन्तिम बैठक भएको र बैठकमा सहभागी मन्त्रीहरुलाई धन्यवाद समेत दिएका थिए । 

सोही योजनाअनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्रीले सचिवालय बैठकबाट नामहरु अनुमोदन गर्ने लक्ष्यका साथ बुधबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल समेत गरेका थिए । 
दुई नेताको छलफलपछि उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास नै पुगेका थिए । 

शीतलनिवासबाट फर्केलगत्तै बसेको सचिवालय बैठकमा सहमति खोज्न नेताहरु तीन घण्टासम्म बालुवाटारमा एकपक्षीय र दुई पक्षीय छलफलमा जुटेपनि अन्ततः मन्त्रिमण्डल पुनर्गठन हुन नसकेको हो । तर अचम्मको कुरा त के छ भने तीन घण्टासम्म बसेको बैठकमा मन्त्रिमण्डलबारे कुनै छलफल नै नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसामु दाबी गरे । 

त्यसो त अध्यक्षद्वयबीच भएका छलफल र कुराकानीलाई अत्यन्तै गोप्य राखिएको थियो । कतिसम्म भने त्यसबारेमा सचिवालय सदस्यहरुलाई कुनै सूचना चुहाइएको थिएन । 

‘सचिवालय बैठकमा दुई अध्यक्षसँग नयाँ मन्त्रीहरुको नाम माग्दा समेत दिएनन् । उनीहरुबीच के–के सल्लाह भयो भन्ने समेत हामीलाई थाहा दिइएन,’ एक सचिवालय सदस्यले रातोपाटीलाई बताए, ‘हामी छलफलमै छौँ भनेर पटक पटक टार्ने काम भयो ।’

उता पार्टी प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको अधिकार क्षेत्रको कुरा भएको भन्दै यसअघि नै प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको संकेत गरिसकेको बताए । ‘प्रधानमन्त्रीले यस अघि नै संकेत गरे अनुसारनै तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ,’ संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भने, ‘ पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’

विवादको चुरो

नेकपाभित्र मन्त्री मात्रै होइन, सभामुख समेत को हुने र कसलाई बनाउने भन्नेमा विवाद छ ।  सोही विवाद मिल्न नसक्दा पनि बुधबारको मन्त्रिमण्डल पुनर्गठनको योजना पछि धकेलिएको रुपमा समेत विश्लेषण हुन थालेको छ । 

जबकी मन्त्रिमण्डल विस्तार अघि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजनीनामा गराउने स्वयम् प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुको योजना थियो । त्यसका लागि तुम्बाहाम्फेसँग ओलीले बिहानै कुराकानी समेत गरेका थिए । तर, उनले राजीनामा नदिने जवाफ फर्काएपछि ओली प्रचण्डको योजना असफल हुन पुगेको बताइएको छ ।  

राष्ट्रपति कार्यालय पर्खेको पर्ख्यै

बुधबार बिहानैबाटै मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा सबैतिर चलिसकेको थियो । बिहानै ओली–प्रचण्ड शीतलनिवास पुगेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जानकारी गराए । सोही जानकारीअनुसार शीतलनिवासले आवश्यक तयारी पनि गर्यो । सो अनुसार नयाँ मन्त्रीहरुको सपथको पर्खाइमा रहेको शीतल निवास अन्ततः दिनभर कुरेको कुर्यै भयो ।

राष्ट्रपति कार्यालयका प्रेस संयोजक माधव शर्माले दिनभर राष्ट्रपति कार्यालय सपथको लागि तयारी अवस्थामा रहेको भएपनि बालुवाटारबाट अन्तिम समयमा सपथ राकिएको जानकारी आएको बताए । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप