शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाको संयोजकमा फेरि राजेन्द्र महतो

बुधबार, ०४ मङ्सिर २०७६, १७ : २७
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो फेरि चयन भएका छन् । अघिल्लो वर्ष मंसिरमा पनि महतो दुई महिनाका लागि संयोजक भएका थिए । बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधानअनुसार चक्रिय प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको हो ।

उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको छ ।  ‘केन्द्रीय पर्यवेक्षकहरु आ–आफ्नो कार्यक्षेत्रमा गइ मंसिर २५ गतेसम्म गठन सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी गराई मंसिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा सम्पूर्ण कागजातसहितको प्रतिवेदन लिई केन्द्रीय कार्यालयमा आउन सबै केन्द्रीय पर्यवेक्षकहरुलाई निर्देशन दिने निर्णय गरियो’ बैठकपछि अध्यक्ष मण्डलका संयोजक ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

बैठकको निर्णयपछि महतोले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा आफ्नो दुई महिने कार्यकालमा सबै तहमा पार्टीको सदर्थ समिति निर्माण गर्ने बताए ।  उनले भने, ‘पार्टीका वडा, पालिका, नगर, जिल्ला सम्मेलन भइरहेका छन् । यस कामलाई तीव्रता दिन्छु । तदर्थ समिति बनाउने कामलाई ३० दिनभित्र निर्माण केन्द्रमा पठाउन निर्देशन दिएका छौँ । त्यही अनुसार अगाडि बढ्छ ।’

समाजवादी पार्टीसँगको एकतालाई पनि आफुले प्राथमितामा राखेको महतोले बताए । पार्टी एकता समितिका संयोजक समेत रहेको उनले भने, ‘म राजपाको नेतृत्वमा आउँदा समाजवादी पार्टीसँगको एकता रोकिने वा भोलि नै हुने भन्ने होइन । तर मैले पार्टी एकताका लागि निरन्तर प्रयास गरिरहेको छु । मेरो निरन्तरता जारी रहन्छ ।’

उनले समाजवादी सरकारमा रहेसम्म पार्टी एकताको सम्भावान कम रहेको बताए । ‘सरकारमा बस्नेहरुसँग राजपाले एकता चाहेको छैन । राजपा वैकल्पिक शक्ति निमार्णको एकताको पक्षमा छ । वैकल्पिक शक्ति निर्माण सरकारमा बसेर हुँदैन भन्ने हाम्रो मान्यता हो । संसदमा राजपाले ३४ सांसदलाई एक बनाउन दुई पार्टी एक बनाउन खोजेको होइन ।’ 

मुलुकले वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणका लागि आफू पार्टी एकतामा जोड दिरहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप